पल शाहको मुद्दा न्यायाधीश शुक्ल र पुडासैनीको इजलासमा
विकास टाइम्स
प्रकाशित मिति : 2 June, 2022


पोखरा । बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहको निवेदन उच्च अदालत पोखरामा सुनुवाइ हुने भएको छ। यसअघि पटक पटक सुनुवाई सरे पनि आज सुनुवाइको तयारी भएको पल शाहका वकिल कमला मोहन वाग्लेले जानकारी दिए।
शाहको निवेदन न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासको सुरुमै पेशी तोकिएको छ। अधिवक्ता वाग्लेले भने, ‘एउटा अन्तरिम आदेशको निवेदन रहेछ त्यसको सुनुवाई भइरहेको छ। त्यसपछि यो रिटमा सुनुवाई हुन्छ। हामी बहस गर्न अदालत पुगिसकेका छौं। आज सुनुवाई नहुने अवस्था छैन।’ यसअघि गत साता पनि पेशी तोकिएको थियो। न्यायाधीश ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा तोकिएको पेशी शाहकै कानुन व्यवसायीले स्थगित गराएका थिए। पल शाह नाबालिग बलात्कारको मुद्दामा पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा छन्। जिल्ला अदालत नवलपुर र तनहुँका आदेशविरुद्ध तीनवटा निवेदन उच्च अदालतमा परेका छन्।
दुवै जिल्ला अदालतले पल शाहलाई थुनामा पठाउने आदेश दिएका थिए। तनहुँको आदेशविरुद्ध २०७८ चैत १८ गते र नवलपुरको आदेशविरुद्ध वैशाख १३ गते पल शाहले निवेदन दिएका थिए। यस्तै सरकारी वकिल कार्यालयले पनि तनहुँको आदेशविरुद्ध उच्च अदालतमा निवेदन गरेको छ। तनहुँ अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि सरकारी वकिल कार्यालयले पनि त्यसलाई बदर गरी जोशीलाई पनि थुनामा राख्नु पर्ने माग गरेको हो। वकिल कार्यालयले वैशाख २५ गते निवेदन दिएको थियो। पल शाहले भने आफूलाई थुनामुक्त गरेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने माग गरेका छन्।
२०७८ चैत २४ गते दुवै पक्षका कारण स्थगित भएको थियो। त्यसपछि वैशाख ८ गते उच्च अदालतमा पेशी तोकियो। तर त्यतिबेला शाहका कानुन व्यवसायी नवलपुरमा बकपत्रका लागि पुगेका थिए। भोलिपल्टै पोखरा पुग्न नसक्ने भन्दै उनीहरुले नै स्थगित गराए। अर्को साता वैशाख १५ गते पनि मुद्दाको पेशी तोकियो। त्यतिबेला उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र ऋषिराज भण्डारीको इजलासले शाहको तर्फबाट अर्को पनि निवेदन परेको भन्दै त्यसलाई पनि साथै राख्न आदेश दिए। सुरुमा तनहुँको आदेशविरुद्ध निवेदन दिएका शाहले पछि नवलपुरको आदेशविरुद्ध पनि उच्चमा निवेदन दिएका थिए। यी दुवै मुद्दा साथै राख्न आदेश दियो। वैशाख २२ गते अर्को पेशी तोकियो। तर पछि फेरि सरकारी वकिल कार्यालयले कृष्ण जोशीलाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश बदरको माग गर्दै निवेदन दिएका थिए। त्यो मुद्दा पनि साथै राख्न आदेश दिएर त्यो दिनको सुनुवाई सकियो।
जेठ ५ गते र १२ गते भने निवेदककै कानुन व्यवसायीले सुनुवाई स्थगित गर्न निवेदन दिएका हुन्। सुरुमा बलात्कारको अभियोग लगाएका जाहेरवाला र पीडितले बकपत्रका क्रममा कुरा फेरेसँगै पल शाह छुट्न सक्ने चर्चा चलेको छ। पहिले उनीहरुले बलात्कार भएको बताए पनि पछि आफूले पहिले भनेको कुरा झुटो भएको र शाहले नाबालिगलाई बलात्कार नगरेको अदालतमा गरेको बयानमा बताएका थिए। पीडितले नै होइन भनिसकेकाले शाहलाई थुनामुक्त गर्नुपर्ने उनी पक्षको जोड छ।

