Logo

प्रचण्ड र नेपालको प्रधानमन्त्री देउवासंग गर्दैछन् बार्गेनिङ


काठमाडौ । नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफरको चर्चाले नेपाली राजनित तरंगित बनेको छ ।
माओ‌वादीका अध्यक्ष प्रचण्डले केही दिन अघि आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आएको भए पनि त्यसलाई अस्वीकार गरेको दाबी गरेका थिए। उनको दाबीलाई बल पुग्ने गरी एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि प्रचण्डलाई मात्र नभएर आफूलाई पनि प्रधानमन्त्री बन्न प्रस्ताव आइरहेको दाबी गरेपछि यस विषय चर्चा पाएको हो ।
प्रचण्ड र माधव दुवै जनाले आफूहरुलाई प्रधानमन्त्री प्रस्ताव आएको दाबी गरिरहँदा त्यस्तो प्रस्ताव प्रमुख प्रतिपक्षी दल नेकपा एमाले वा शक्तिकेन्द्र बाट आएको होला भन्ने सहज अनुमान भइरहेका छन्। एमालेले स्थानीय तह चुनाव अघि नै सत्ता गठबन्धनमा विभाजन ल्याउन निकै कसरत गरेको थियो तर त्यसमा उसलाई सफलता हात परेन।

स्थानीय तह निर्वाचनमा गठबन्धनसँग प्रतिस्पर्धामा उत्रिँदा कम्तिमा पनि १ सय सिट गुमाउनु परेको एमालेको नेताहरु बताउँछन्। कात्तिक वा मंसिरमा प्रतिनिधि सभा निर्वाचन गर्नेबारे गठबन्धन दलहरुबीच छलफल भइरहँदा एमाले उक्त निर्वाचनमा एक्ला एक्लै प्रतिस्पर्धामा जान चाँहिरहेको छ।

एक्ला एक्लै प्रतिस्पर्धामा जाँदा कांग्रेसँग आफ्नो मुख्य प्रतिस्पर्धा हुने र त्यहाँबाट सिंहदरबारको यात्र गर्न सहज हुने उसको बुझाइ छ।

एमाले अध्यक्ष ओलीले बारम्बार आफूहरु झस्केलोबाट नभइ मूल ढोकाबाट सिंहदरबार प्रवेश गर्ने दाबी गरिरहेका छन् तर उनको यस्तो दाबीमा गठबन्धन बाधक हुने उनले बुझेका छन्। त्यसैले एमालेले गठबन्धनमा विभाजन ल्याउन हरसम्भव प्रयास गर्ने कांग्रेससहित गठबन्धनका नेताहरुले बुझेका छन्।

प्रचण्ड र माधवलाई प्रधानमन्त्रीको प्रस्ताव आएको दाबी गरिए पनि आफूहरुले त्यस्तो नगरेको एमाले नेताहरुले बताएका छन्। एमाले उपाध्यक्ष विष्णु पौडेलले एमालेबाट यस्तो खालको प्रस्ताव नगएको दाबी गरेका छन्। उनले आगामी दिनमा पनि त्यस्तो सम्भावना नभएको बताएका छन्।

एमालेले प्रस्ताव नगरेको उनको दाबीलाई सही मान्ने हो भने उनीहरुलाई कसले प्रधानमन्त्रीको अफर गरेको छ भन्ने प्रश्न उब्जिनु स्वभाविक छ। अहिले सरकारको नेतृत्व कांग्रेसले गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवा स्वयंले सत्ताको नेतृत्व गरिरहेका बेला कांग्रेसबाटै त्यस्तो प्रस्ताव जाने सम्भावना न्यून छ। पार्टीमा देउवा बलियो अवस्थामा छन्। केन्द्रीय समितिमा बिरोध हुँदा हुँदै त उनले स्थानीय तह निर्वाचनमा सबैलाई लतारेर गठबन्धनको पक्षमा लान सकेका थिए भने उनको विकल्पमा कांग्रेसका कुनै पनि नेताले प्रचण्ड र माधवलाई सत्ताको साँचो बुझाउ नसक्ने कांग्रेसका एक नेताले बताए।

त्यसो भए प्रधानमन्त्रीको अफर आएको विषय के हो त भन्ने प्रश्नमा उनले भने, ‘स्थानीय तहको चुनावबाट कांग्रेसको आडमा चुनाव जित्न सकिने रहेछ भन्ने उहाँहरुले थाहा पाउनु भयो। अब प्रतिनिधि सभा निर्वाचन गर्ने विषयमा छलफल सुरु भएपछि बढी सीट पाउनका लागि गरिएको बार्गेनिङ हो।’

त्यसो त एमाले नेताहरुले पनि प्रचण्ड र माधवले आफूहरुलाई देखाएर कांग्रेससँग बार्गेनिङ थालेको बताउँछन्। नेकपा एमालेका एक नेताले भने, स्थानीय तहको चुनावको समीक्षा भइरहेको छ। जित हारका विवेचना भइरहेका छन्। चुनावको समय आएको छैन र देउवाको सट्टा अरु कसैलाई प्रधानमन्त्री बनाउनु पर्ने हतारो एमालेलाई छैन। यस्तो समयमा दुवै जनाले एउटै बोली बोल्नुमा कांग्रेसलाई थर्काएर राख्ने रणनीति देखिन्छ।’

गठबन्धनमा तिक्तता बढेको समय पारेर योजनाबद्ध रुपमा यस्ता विषयहरुलाई उचालिएको उनी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्