Logo

वालिङ नगरमा नागरिकको पहिलो रोजाइँ सरकारी विद्यालय हुने बनाउछौ


(गत बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा वालिङ नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसबाट कविता तिवारी निर्वाचित भईन् । पार्टीको गण्डकी प्रदेश सदस्य एवं महाधिवेशन प्रतिनिधि समेत रहेकी तिवारीले स्मार्ट सिटी वालिङ नगरको उपप्रमुखको जिम्मेवारीमा नगरवासीेले पु¥याएका छन् । राजनीतिसँगै व्यावसायिक र सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेकी तिवारीको काँधमा अब पाँच बर्ष न्यायीक समितिको नेतृत्व पनि रहनेछ । निर्वाचित भएपछिका उनका कार्ययोजना लगायतमा केन्द्रित रहेर अमृत अर्यालले गरेको कुराकानी )

उपमेयर जी आराम हुनुहुन्छ ? वालिङ नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित बन्नुभएकोमा यहाँलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ, यहाँका प्रमुख योजना र प्राथमिकता के के छन् ?

धन्यवाद, नमस्कार । म आरामै छु । सर्वप्रथमत ः पब्लिक आवाजलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । यो जिल्लाभर मुख्य समाचारको स्रोतका रुपमा रहेको छ । वालिङ नगरपालिका स्मार्ट सिटीको रुपमा अगाडी बढेको नगरपालिका हो । यसको उपप्रमुखका हिसाबले पाँच वर्षका लागि निर्वाचित भएर आइरहँदा यो स्थानीय निकाय होइन, स्थानीय तह हो । स्थानीय सरकार हो भन्ने कुरा हामीले मनन गर्नुपर्छ । कतिपय ठाउँमा हामी स्थानीय निकाय हौँ की भन्ने सोच हामीमा नगरपालिकाको पूरा प्रणालीसँगै समाजले पनि त्यो बुझिराखेको देखिएको छ । यो त्यस्तो नभई आफैँमा एउटा स्वायत्त सरकार हो जसले आफूलाई चाहिने सबै कुरा व्यवस्थापन गर्न सक्छ र सहयोग सबैको लिन्छ भन्ने कुरा बुझेर अघि बढ्नुपर्दछ । नगरपालिका सरकार हुने बित्तिकै यसले सर्वसाधारणको दैनिकी, सेवाग्राहीलाई नगरपालिकाले दिने सेवालाई कसरी चुस्तदुरुस्त बनाउन सक्छौँ, झन्झटरहित बनाउन सक्छौँ, यसलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ । एक महिनाभित्रमा हामी कार्यालय व्यवस्थापनदेखि लिएर फ्रन्ट डेस्कबाटै सबै कुरा हुने, धेरै झन्झट बेहोर्नु नपर्ने, कार्यालयभित्र फाइल बोकेर हिँड्नु नपर्ने खालको व्यवस्थापन गर्दैछौँ । कुन काम कति समयभित्र हुन्छ भन्ने कुराको हामी स्पष्ट रुपमा सबै सेवाग्राहीलाई जानकारी दिने गरी कार्यालय व्यवस्थापन गर्छौँ । चुस्त दुरुस्त कार्यालय होस् भन्ने कुरालाई हामीले ध्यान दिएका छौँ ।

२. यहाँको पर्यटकीय विकासका लागि के कदम चाल्ने योजनामा हुनुहुन्छ ?

हामीले पर्यटन, स्वास्थ्य, शिक्षा, कृषि जस्ता कुरालाई मुख्य प्राथमिकतामा राखेका छौँ । पहिलो प्राथमिकतामा कृषि र पर्यटन नै हो । हामीले यहाँ गर्ने सबै गतिविधि पर्यटनलाई प्रवद्र्धन गर्ने खालको हुनुपर्दछ । त्यसका लागि पर्यटकीय गन्तव्य थपिनुप¥यो । ग्रामिण होमस्टेमा पर्यटक बस्नका लागि प्रचार प्रसारको सोच बनाएका छौं । साईक्लिङको वल्र्ड कप भैसकेको वालिङलाई स्पोर्टस् टुरिजममा लाने किसिमको कुरा गरेका छौँ । शाहसिक पर्यटन वालिङको अर्को कुरा हो । भीरकोटको स्वरेकबाट उड्ने र वालिङमा ल्यान्ड हुने प्याराग्लाइडिङलाई कसरी व्यवस्थापन गर्ने सम्बन्धमा सरोकारवालासँग नजिक बसेर छलफल गरिरहेका छौं । त्यसबाहेक खेल पर्यटनका कुरा, पर्यटनसँग जोडिएका अन्य गतिविधिलाई लिएर वालिङको पर्यटनलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्नेबारे सोचेका छौँ । होटेल रेष्टुरेन्टमा काम गरेका मानिस मात्र नभइ वालिङका सबै हस्पिटालिटीको न्यूनतम कुरा जानेको हुनुपर्छ । कसरी पाहुनाको स्वागत गर्ने यो कुरा घर–घरसम्म पु¥याउन टेलिभिजनमा कक्षा चलाउँछौँ । एक ठाउँबाट लाइभ गरेर हरेक ठाउँका दिदीबहिनीले घर–घरमा बसेर दाजुभाइहरुले के हो हस्पिटालिटी, हाम्रो दायित्व के हो भन्ने कुरा हामी कमसेकम भन्न सकौँ भन्ने खालको कुरालाई अलि फरक ढङ्गले जान्छौँ । पर्यटनसँगै हस्पिटालिटीलाई सँगै जोडेर लैजान्छौँ । यसलाई धेरै खर्च गर्नु पनि पर्दैन ।

नगरपालिकामा शिक्षा, स्वास्थ्य जस्ता विषयलाई कसरी अघि बढाउने सोचमा हुनुहुन्छ ?

हामीले शिक्षा, स्वास्थ्य जस्ता विषयलाई धेरै प्राथमितामा राखेका छौँ । माध्यमिक तहसम्मको शिक्षा सर्वसुलभ र निःशुल्क हुनुपर्छ भन्ने नेपाल सरकारको योजना छ । नागरिकको पहिलो रोजाइँ सरकारी विद्यालय हुने गरी पाँच वर्षसम्म त्यो ठाउँमा पु¥याउने हाम्रो योजना छ । जनस्वास्थ्यलाई प्राथमिकतामा राखेर घरघरमा, टोलटोलमा नै प्राथमिक स्वास्थ्य प्राप्त हुने ढङ्गले हामी व्यवस्थापन गर्दछौँ ।

नगरपालिकामा भइरहेका सेवा प्रवाहमा ढिलासुस्ती, लापरबाहीका गुनासा पनि सुन्ने गरिएको छ, सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनका लागि के तयारी गर्नुभएको छ ?

हामी फ्रन्ट डेस्कबाटै पहिलो फाइल आइसकेपछि काम सबै सम्पन्न गरेर यति बजे फलानो ढोकाबाट लिनोस् भन्ने खालकोसम्म पु¥याउने गरी कामलाई व्यवस्थापन गर्दैछौं । कर्मचारीको व्यवस्था पनि त्यही रुपमा गर्नेछौँ । जुनजुन शाखाबाट काम हुनुपर्ने हो त्यहाँबाट हुने गरी फाइल अघि बढेपछि कोठा कोठा चाहार्नु नपर्ने गरी व्यवस्थापन गछौँ । एक महिनाभित्रमा नै यहाँको सुशासनको प्रत्याभूति हुनेछ ।

नगरपालिकाको सौन्दर्यीकरणसँगै यातायात व्यवस्थापनमा कस्तो योजना बनाउनुभएको छ ?

यातायात र ट्राफिक व्यवस्थापनमा अल्पकालीन र दीर्घकालीन योजना बनाउँछौँ । दीर्घकालीन रुपमा मिर्दिमा बसपार्क बनाउने योजना छ । यो विगतदेखिको कुरा हो । वालिङको स्थानीय यातायातलाई व्यवस्थापन गर्न सक्दाको अवस्थामा यसले ठूलो सन्देश दिन्छ । यातायात व्यवसायीसँग उचित खालको परामर्श गछौँ । सार्वजनिक सवारी साधनका सहयोगी हेल्पर, कन्डक्टर, ड्राइभर ड्रेसमा रहने गरी राम्रोसँग हस्पिटालिटीयुक्त बनाउने सोच राखेका छौँ ।

कांग्रेसबाट वालिङको उपप्रमुखमा निर्वाचित हुनुभयो ? प्रमुख भने एमालेको हुनुहुन्छ, कार्यपालिकामा तपाईहरुको बहुमत भएतापनि साझेदार दललाई कसरी विश्वासमा लिएर अघि बढ्नुहुन्छ ?

हिजोसम्म एमाले र कांग्रेसका तर्फबाट प्रमुख र उपप्रमुख बने पनि अब निर्वाचित भइसकेपछि हामी सम्पूर्ण वालिङका नागरिकको साझा प्रतिनिधि हौं । कसैप्रति पनि काखापाखा नगरिकन सबैलाई साथमा लिएर हिँड्ने हो ।

निर्वाचित भएको छोटो समयमै पहिलो बजेट तथा कार्यक्रमको तयारीमा हुनुहुन्छ ? प्राथमिकता के हुनेछन् ?

बजेटमा पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि र यातायात पहिलो प्राथमिकतामा पर्नेछन् । हाम्रो जनजीविकालाई र ‘कष्ट अफ लिभिङ’लाई कसरी सस्तो बनाउन सकिन्छ त्यसमा हाम्रो ध्यान जान्छ । बाँच्नका लागि भान्छालाई कसरी सस्तो बनाउन सकिन्छ, त्यसमा हाम्रो विशेष ध्यान दिएर कार्यक्रम बनाउने छौँ ।

विगतमा कतिपय विषयमा संघ र प्रदेश सरकारसँग राम्रोसँग नगरपालिकाको समन्वय नभएको देखिने गरेको थियो, तपाईँहरुको कार्यकालमा कस्तो रहने छ ?

हामी संघ, प्रदेश र नजिकका पालिका सबैसँग राम्रोसँग सहकार्य गछौँ । हिजोको केन्द्रको बजेटमा वालिङलाई के सम्बोधन गरेको छ, त्यसलाई एक एक गरेर हेर्छौ । प्रदेशको अब बजेट आउँछ, प्रदेशमा पनि लबिङ गछौँ । तीनवटै सरकारबीच एकापसमा कोअर्डिनेसन र कोअपरेशन गरेर अघि बढ्छौँ । हामीमात्र होइन वरपरका नगरपालिका र गाउँपालिकासँग पनि हामी राम्रो सहकार्य गर्छौ । वालिङलाई स्मार्ट सिटी बनाउने सन्दर्भमा सबैलाई सकारात्मक ढङ्गबाट सहयोग गर्न अनुरोध गर्न चाहन्छौं । वालिङ हामी सबैको हो सबै मिलेर बनाऔँ । सफा, सुन्दर र समृद्ध सहर बनाऔँ । समृद्ध भन्ने बित्तिकै आर्थिक कुरा जोडिन्छ । वालिङका सबै नागरिक कुनै न कुनै आर्थिक उपार्जनमा लागेका हुन्, स्वरोजगारमा रहुन् वा रोजगारी प्राप्त गरुन् भन्ने हो । हामी छिट्टै सार्वजनिक सूचना जारी गरेर बेरोजगारीको तथ्याङ्क सङ्कलन गरेर उनीहरुलाई नगरपालिकामा सूचीकरण गछौँ । उनीहरुको शैक्षिक योग्यता, रुचि, क्षमताअनुसार निवेदन दिनुहोस् भनेर सबैलाई आह्वान गछौँ र रोजगारी दिन्छौँ । बेरोजगारलाई नगरको आफ्नै काममा र निजी क्षेत्रमा लगाउँछौँ । वालिङमा पनि धेरै रोजगार दाता हुनुहुन्छ । उहाँहरुलाई पनि हामी आह्वान गरेर विस्तारै बेरोजगारलाई रोजगारी दिने योजनामा छौँ ।

वालिङको जीर्ण सडक अवस्थालाई देखाएर स्मार्ट सिटीको आलोचना हुने गरेको छ । सडकको अवस्था सुधार्ने के योजना छन् ?

वलिङ नगरपालिकाभित्रका सबै सडक नगरपालिकाका होइनन् । सिद्धार्थ राजमार्ग सडक विभाग अन्तर्गतको सडक हो । पहिला कोअर्डिनेशन भएन र गुनासा आए । वालिङको सडक राम्रो बनाउन सबै पक्षसँग हामीले समन्वय गर्नुपर्ने हुन्छ । यसैगरी सडकमा छाडा चौपाया छोडन् नपाउने र कुकुर पनि सडकमा छाडन नपाउने गरी व्यवस्था गर्छौ । धेरै दिदीबहिनी कुकुरकै कारण दुर्घटनामा परेको देखेका छौँ । पुरुषहरुले व्यवस्थापन गर्न सके पनि महिलालाई अप्ठ्यारो हुने गरेको देखिन्छ । सडकमा धेरै स्कुटर कुकुरका कारण दुर्घटनामा परेको देखिएको छ । नागरिकले या त छौपाया घरमै पाल्नुपर्यो, छाडा छोड्नुभएन ।

अन्त्यमा आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?

वलिङ नगरपालिका र वडा कार्यालय सिस्टममा चलिरहेको, आन्तरिक सेवाग्राहीले पाउनुपर्ने सेवा सुविधा सबै तोकिएका समयभित्र बिना झन्झट, बिना भनसुन काम भइरहेको एउटा कार्यालयका रुपमा पाउनु हुनेछ । बाहिर फिल्डमा हेर्दा पनि हाम्रो यायातात र ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त भएको हुनेछ । हेर्दा पनि सौन्दर्यकरण हिसाबले बाटा सफा र सुन्दर हुनेछन् । पर्यटकीय गन्तव्य थपिएका हुनेछन् । हाम्रो अर्थतन्त्र सबल बनाउन हाम्रा स्थानीय दाजुभाइ दिदीबहिनीलाई उत्पादनका विभिन्न चरणमा जोडेर लैजान्छौँ । जसका कारणले अर्थतन्त्र व्यवस्थित हुनेछ । हाम्रो समृद्ध वालिङका लागि सबल अर्थतन्त्रलाई प्राथमिकतामा राखेका छौँ । उत्पादनका काममा नागरिकलाई जोड्ने कुराले जे नतिजा दिन्छ, त्यसलाई कोसेली घरमा व्यवस्थित गर्ने, वालिङमा आयात प्रतिस्थापन गर्ने, नगरपालिकाका उत्पादनलाई ब्राण्डिङ र क्वालिटीको सुनिश्चितता गर्छौ । कतै केही समस्या प¥र्यो भने द्रूर्त प्रतिकार्य समूह बनाउँछौँ । दुर्घटना, दैविप्रकोप र कहीँ रेस्क्यु गर्नुपर्दा त्यो समूहले काम गर्छ । तपाईहरुले दिएको मतको सदुपयोग गर्छाै भन्न चाहन्छु ।

प्रस्तुति : अमृत अर्याल

प्रतिक्रिया दिनुहोस्