Logo

लघुकथा– जमघट


–रुपाली पौडेल
साँझ ढलिसकेको थियो । गल्लीहरुमा मानिसहरुका पाइला केही लामा थिए । बटुवाहरु घर पुग्ने हतारोमा देखिन्थे । चराचुरुङ्गी बास बसिसकेका थिए । गल्लीको कुनामा एउटा बेलाबखत जमघट वा भनौं ‘महफिल’ जम्थ्यो । मानिसहरु सुकिला मुकिला भएर आउँथे । उनीहरु मध्ये केहीको हातमा वाइनका ग्लास हुन्थे । केहीले चुरोट सल्काएर आफ्ना प्रेमी–प्रेमिकासँग कुराकानी गरिरहेको पनि देखिन्थे ।

यस्तो दृश्य सधै देखिन्न थियो । यस्तो जमघट बेलाबखत हुन्थ्यो । त्यहाँ आएकाहरु कोही कसाई हुन्थे, जमघटमा आएर अहिंसाको पाठ पढाउँथे । कोही शोषकी हुन्थे, जमघटमा आएर सदाचार सुनाउँथे । कोही नाफाखोर हुन्थे, जमघटमा आएर नैतिकताका गफ गर्थे ।

केही चाहिँ नामर्द (कुनै काम गर्ने हुत्तीनभएका)हरु हुन्थे । ती हल्ला बढी गर्थे । आफ्ना कुरा मात्रै लाद्न खोज्थे । तर अरुको कुरा सुन्दैन थिए । कसैले राम्रै कुरा गर्दा पनि बुझ्दैन थिए । तर उनीहरुलाई ‘आफूहरु कुरा बुझ्ने क्षमताका छैनौं’ भन्ने ज्ञान थिएन ।

जमघट आधुनिक युगको मिटिङ जस्तै हुन्थ्यो । जहाँ गरिबकालागि १० रुपैयाँको सहयोग गर्दा १ सय रुपैयाँको प्रचार गरिन्छ, ठिक त्यस्तै हुन्थ्यो जमघट । त्यो जमघटमा महिलाको अंग प्रत्यंगको उपहास गरिन्थ्यो अनि त्यसलाई ‘नारी सम्मान’ भनेर प्रचार गरिन्थ्यो । पानीबाट माछालाई बाहिर निकालिन्थ्यो, अनि

रुपाली पौडेल

माछा छटपटाएको देखेर सबैले ‘माछा खुसी भएर नाचेको’ भन्दै थपडी बजाउँथे ।

एवंम रितले चल्दै गयो । हेमन्त ऋतुको समाप्तिपछि शिशिर ऋतु सुरु भयो । त्यो जमघट चिसो मौसममा पनि चल्दै गयो । शिशिर ऋतुको एक दिन चिसो निकै बढ्यो । लगाएका कपडाहरुले पनि चिसो रोक्न सकेन । जमघटमा आएका सबैले आगो बालेर शरिर तताउने सोच बनाए । तर उनीहरुसँग दाउरा थिएन । त्यसपछि उनीहरुले जमघटलाई न्यानो बनाउन घरकै सिलिङका काठहरु झिकेर बाल्न थाले । बिमहरु झिकेर बाल्न थाले । छेउका केही खम्बाहरु पनि झिकेर बाल्न थाले ।

दनदनी बलेको आगोमा सबैले न्यानो महशुस गरे । एक एक गरेर काठहरु झिक्दा मेहफिलको घर अचानक ढल्यो । ती सबै घरले किचिएर मरे । आगो बलिरहेको हुँदा उनीहरुको अन्त्येष्टि गर्नै परेन । ती सबैलाई आगोले घरसँगै जलायो ।

प्रतिक्रिया दिनुहोस्