Logo

काठमाडाैं महानगरले भिख माग्नमा लगायो रोक


काठमाडौं, असार १७

शुक्रबार महानगरले एक सूचना जारी गर्दै महानगरको सडक, सार्वजनिक स्थल, गल्ली, पार्क, सरकारी कार्यालयको वरिपरि, बस बिसौनी र सवारीसाधनमा बसेर भिख माग्‍न नपाइने बताएको हो।

‘महानगरपालिका क्षेत्र भित्रको सडक, गल्ली, पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर, सार्वजनिक सवारीसाधन र अन्य सार्वजनिक स्थानमा कसैले भिक्षा माग्न वा बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न दुरुत्साहन नगर्न तथा नगराउन काठमाडौँ महानगरपालिका नगर सभा ११औँ अधिवेशनबाट स्वीकृत नीति समेतका आधारमा यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ।

महानगरले १० दिनभित्रमा उल्लेखित सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य नगर्न भनेको छ। सूचनाको उल्लंघन गरेमा मुलुकी अपराध संहिता २०७४ को दफा १२६, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित कानून बमोजिम कारबाही हुने महानगरले बताएको छ ।

यो सूचना प्रकाशित भएको मितिले १० दिनभित्र उल्लेखित सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य नगर्नू तथा नगराउनू हुन सूचित गरिएको छ । यस कार्यमा सहयोग गर्न सम्बद्ध व्यक्ति र आम महानगरवासीमा समेत अनुरोध गरिन्छ। यस सूचनाको उल्लङ्घन गरेमा सम्बद्ध सरोकारवालाले निकायहरूको समन्वय र सहकार्यमा मुलुकी अपराध सहिता, २०७४ को दफा १२६, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सूचित गरिन्छ।’

असहाय, वृद्ध तथा रोगी मानिसलाई महानगरले विभिन्न ठाउँबाट उद्धार गरी व्यवस्थापन गर्दै आएको छ । मानव सेवा आश्रमको आवश्यक परेमा काठमाडौं महानगर वा आश्रममा सम्पर्क गर्न पनि भनेको छ।

सूचनामा साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घर घरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यमा कुनै रोक नलगाइएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्