यसरी मनायो वागमती प्रदेशले इन्जिनियर दिवस
विकास टाइम्स
प्रकाशित मिति : 18 July, 2022


काठमाडौं : नेपाल इन्जिनियरिङ एसोसियशन, बागमती प्रदेशले आफ्ना् ६० औं इन्जिनियर दिवसको उपलक्ष्यमा विविध कार्यक्रम गरी मनाएको छ । एसोसियशनको प्रदेश कमिटिले नेईए वागमती प्रदेशको पहल, इन्जिनियर भ्रातृत्व तथा स्वास्थ्यको लागि फुटसल भन्ने नाराका साथ फुटसल प्रतियोगिताको आयोजना गरेको थियो ।

एसोसिएशनको वागमती प्रदेशभित्र रहेका विभिन्न इन्जिनियरिङसँग सम्बन्धित ४७ वटा संस्थाहरुले फुटसलमा भाग लिएका थिए । प्रतियोगितामा इगल सोसुसनले पहिलो स्थान प्राप्त गरी ४० हजार नगद, शिल्ड र प्रमाणपत्र हात पारेको थियो भने दोस्रो हुने महारुद्र केयुले २० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको थियो । प्रतियोगितामा केईसी अल्मुनाईले तेस्रो स्थानमा चित्त बुझाई १० हजार नगद, शिल्ड र प्रमाणपत्र पाएको थियो ।

प्रतियोगितामा केईसी अल्मुनाईका बुद्धिहिरा पौडेलले सर्वाधिक १२ गोल हानेका थिए भने महारुद्र केयुका रफिम श्रेष्ठ उत्कृष्ट गोलकिपरमा छनौट भएका थिए । प्रतियोगिता भरीकै उत्कृष्ट खेलाडी भने इगल सोलुसनका नागेन्द्र महतरा भएको आयोजक कमिटिका सदस्य इन्जिनियर तथा एसोसिएशनका सदस्य गौरब पौडेलले जानकारी दिए ।

विजयी प्रतियोगीहरुलाई वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण समारोहमा मन्त्री श्रेष्ठले यस्ता प्रतियोगिताहरुले भाइचारा अभिबृद्धि भई पेशागत समस्याहरु हल गर्नका लागी सहयोग हुने बताए । उनले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु आयोजना गरेर इन्जिनियरहरुको संगठनलाई मजबुत बनाउन आग्रह गरे ।

कार्यक्रममा सभापति एसोसिएशन वागमती प्रदेशका अध्यक्ष रोहिणी पौडेलले खेलकुदको माध्यमबाट इन्जिनियरहरुलाई एकत्रित गर्ने प्रयास गरेको बताए । उनले प्रतियोगितामा सहभागिता हेर्दा आफु उत्साहित भएको बताउदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदै इन्जिनियरहरुलाई एक ढिक्का बनाउदै लाने प्रतिबद्धता व्यक्त गरे ।

पुरस्कार वितरण कार्यक्रम संचालन एसोसिएसनका सचिव दिनेश न्यौपानेले गरेका थिए । असार ३१ देखि साउन १ गतेसम्म तीन दिनसम्म भएको प्रतियोगितामा इम्पिरिकल इन्जिनियरिङ कन्सल्टटेन्सी, भूमी इन्जिनियरिङ कन्सोट्युम, स्वोथ ल्याब, टिम नेपाल, टेस्लाटेक लगायतका संस्थाहरुले सहयोग गरेका थिए ।

