नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री लुले उच्चस्तरीय भेटवार्ता गर्दै
विकास टाइम्स
प्रकाशित मिति : 29 July, 2022


काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले आज राजनीतिक भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।
उहाँले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यतालिका छ।
अपरान्ह ४ बजे हुने प्रधानमन्त्री देउवासँगको भेटमा लूले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण र एसपीपीबारे नेपालको धारणा पनि बुझ्ने बताइएको छ । मन्त्रिपरिषद्को बैठकले एसपीपी अस्वीकार गर्ने निर्णय गरेपनि अमेरिकालाई आधिकारिक पत्र पठाइएको छैन ।
यसअघि हिजो साँझ लूले अमेरिकी विदेशमन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने ‘अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई प्रदान गर्नुभएको थियो । लुले बिहीबारै व्यापारी, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग भेटघाट गर्नुभएको थियो ।
दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री लु बिहीबार काठमाडौं आइपुग्नुभएको हो । सात महिनाको अन्तरमा उहाँको यो नेपाल दोस्रो भ्रमण हो । यसपटक लु अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यक्रमको गाँठो फुकाउन भारत हुँदै नेपाल आउनुभएको बताइएको छ।
नेपालस्थित अमेरिकी राजदूतावासले लुको भ्रमण नियमित भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ।

