Logo

शाश्वत डुबाउने उत्तम अर्याल पक्राउ, पीडकलाई सहयोग गर्ने डिएसपी बढुवामा परेनन्


काठमाडौं । काठमाडौंको कलंकीमा रहेको शाश्वत सहकारीका लेखा समितिका संयोजक उत्तम अर्याल पक्राउ परेका छन् । अर्यालमाथि ५ करोड ३४ लाख रुपैयाँ बराबरको आर्थिक हिनामिना गरेको दावी बचतकर्ता तथा सहकारीका अन्य सञ्चालकहरुको छ ।

लामो समयदेखि प्रहरीको खोजीमा रहेका अर्याल कानुनको आँखामा छारो हाल्दै उम्किरहेका थिए । तर दुई दिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरी महानगरीय प्रहरी वृत्त कालिमाटीलाई जिम्मा लगाएको छ । कालिमाटी वृत्तले लेखा समिति संयोजक अर्यालसहित अध्यक्ष राजेन्द्र कुमार बस्नेत, व्यवस्थापक भिमराज गिरीलगायत अरु पनि सञ्चालकहरुलाई विपक्षी बनाएर मुद्दा दायर गरेको छ ।

कालिमाटी वृत्तले फरार सूचीमा रहेका अर्याललाई पक्राउ गर्न आनकानी गरेपछि सिआइबीले नै पक्राउ गरी वृत्तको जिम्मा लगाएको हो ।

टाई झुन्ड्याउँदै टेलिभिजनमा अन्तर्वार्ता दिन्थे उत्तम

उत्तम अर्याल केही समय अघिसम्म शेयर ब्रोकर संघको अध्यक्षको हैसियतमा कोट टाई झुन्ड्याएर टेलिभिजन च्यानलहरुमा ‘सेयर बजारको स्वच्छता’को पक्षमा बहस गर्दै हिँड्थे । उत्तम र राजेन्द्र बस्नेतका ससुरा डा. रामहरि अर्याल ‘कजन ब्रदर’ (काका ठूलाबाबुका छोराहरु) हुन् । सहकारीमा जम्मा भएको जनताको निक्षेप आपसी सहमतिमा झिक्दै आफ्नो नाममा सेयर किन्दै गर्न थालेपछि सहकारी धराशयी हुन थालेको थियो ।

७७ सालमा उत्तमको नाममा झन्डै १ लाख १७ हजार कित्ता सेयर थियो भने सहकारीको रकम हिनामिना गरेको विषयमा अनुसन्धान हुन थालेपछि उत्तमले रातारात सबै सेयर बेचे, लुकाए । निजले उक्त सेयरहरु लुकाउनुअघि नै बाँकी सञ्चालकहरु र बचतकर्ताहरुले कालिमाटी प्रहरीवृत्तका प्रमुखलाई सेयर रोक्काका लागि गुहारे तर तत्कालिन प्रहरी प्रमुख डिएसपी अपिल बोहोराले ‘कानमा तेल’ हालेर बसिदिए ।

बिबादित डिएसपी अपिल बोहोरा बढुवामा परेनन्

यसपटक धेरै डिएसपीहरु बढुवा सूचीमा परे । प्रहरी निरीक्षकबाट डिएसपीमा बढुवा हुने बेला अग्रंपंक्तिमा अपिल बोहोराको नाम थियो । तर यसपटक बोहोरा डिएसपीपै रोकिन पुगे । उनका समकालिन र जुनियरहरु समेत एसपीमा बढुवा हुँदा बोहोरा आफ्नै विवादका कारण सूचीमा परेनन् ।

शाश्वत सहकारीमा समेत अपिल बोहोराको विवादास्पद भूमिका थियो । उत्तम अर्यालको शेयर रोक्काका लागि बचतकर्ताहरुले दिएको निवेदनमा आवश्यक काम नगरिदिँदा उत्तमले ठूलो धनराशी लुकाउने मौका पाएका थिए ।

उनको कार्यकालमै उत्तमलाई पक्राउ नगरेर पनि कालिमाटीले निरिहता प्रस्तुत गरेको थियो । शास्वत सहकारीमा भएको करोडौंको अनियमितताको आरोपमा अध्यक्ष राजेन्द्र बस्नेत अहिले पनि पुर्पक्षका लागि थुनामा छन् । व्यवस्थापक भिमराज गिरी अझै फरार छन् ।

 

थप समाचार

https://bikastimes.com/2022/06/91634/

प्रतिक्रिया दिनुहोस्