Logo

रविन्द्र मिश्रले ओलीलाई भने, ‘राजसंस्थाको पक्षमा उभिनुभयो भने नसोचेको जनसमर्थन प्राप्त हुन्छ ।’


काठमाडाैं,१४ भदाै ।  पछिल्लो समय राजसंस्थाको पक्षमा खुलेर लागेका विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर राजसंस्थाका पक्षमा उभिन आग्रह गरेका छन् । ओली र मिश्रबीचको भेटमा नेपालमा राजसंस्था पुनःस्थापनाको औचित्य र सम्भावनाको विषयमा लामै समयसम्म चर्चा भएको थियो ।

मिश्रले आफू गणतन्त्रको लाइन छोडेर राजसंस्था पुनःस्थापनाको पक्षमा उभिनुपर्नाको कारणबारे स्पष्ट पारेको उनले बताए ।। आफू सैद्धान्तिक रुपमा गणतन्त्रवादी नै भए पनि नेपालको भूराजनीतिक अवस्थाका कारण राजसंस्थासहितको प्रजातन्त्र नै सबैभन्दा उपयुक्त व्यवस्था भएको निष्कर्षमा पुगेको मिश्रको भनाइ छ ।

मिश्रले एमालेले पनि जनमतको कदर गर्दै कथित परिवर्तनका एजेन्डाहरुमाथि पुनर्विचार गर्न सुझाएको स्रोतको दावी छ । ‘राजसंस्थाको पक्षमा उभिनुभयो भने नसोचेको जनसमर्थन प्राप्त गर्न सक्नुहुनेछ’, उनले भने, ‘तपाईंले गणतन्त्रमा जानु भनेको बयलगाडा चढेर अमेरिका जानुजस्तै हो भन्नुभएको थियो । त्यो भनाइ अहिले पनि उत्तिकै सान्दर्भिक छ ।’

यद्यपि, राजसंस्थाबारे ओलीको सकारात्मक प्रतिक्रिया नआएको श्रोतले बतायो । आफूले राजसंस्थाकै विरुद्धमा लामो संघर्ष गरेको र गोलघरमा कठिन बन्दी जीवनसमेत बिताएको स्मरण गर्दै ओलीले गणतन्त्रको विकल्प नभएको बताएको ओलीको सचिवालयले जनाएको छ । स्रोतका अनुसार मिश्रले आगामी निर्वाचनमा एमाले र विवेकशीलबीच तालमेलको अनौपचारिक प्रस्ताव राखेका थिए ।

त्यसमा ओली सकारात्मक भएको बताइएको छ । बालकोटनिकट स्रोतका अनुसार काठमाडौं १ मा चुनाज लड्न लागेका मिश्रले ओलीलाई आफूलाई एमालेले सघाएमा एमालेले झिनो मत ल्याएर हारेका केही क्षेत्रमा विवेकशील साझाले सघाउने प्रस्ताव गरेका थिए । मिश्रको प्रस्तावलाई ओलीले गम्भीर रुपमा लिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्