३० वर्षपछि नागढुंगा–मलेखु–मुग्लिङ सडकको स्तरोन्नति सुरु
विकास टाइम्स
प्रकाशित मिति : 31 August, 2022


काठमाडौँ,१५ भदाै । नागढुंगा–मलेखु–मुग्लिङ सडकको स्तरोन्नति तीन दशकपछि थालिएको छ । उक्त सडक तीन खण्डमा विभाजन गर्दै स्तरोन्नति अघि बढाइएको हो । तीनमध्ये अहिले दुई खण्डको ठेक्का सम्झौता भई ल्याब स्थापना र सर्भेको काम भइरहेको छ । अर्को खण्डको ठेक्का सम्झौता भने एक महिनाभित्र हुने सडक विभागले जनाएको छ ।
मुलुककै लाइफलाइन सडकका रूपमा रहेको यस खण्डमा पर्ने बजार क्षेत्रमा चार र अन्य खण्डमा दुई लेन सडक बनाइनेछ । विश्व बैंकको ऋण सहयोगमा सडक स्तरोन्नति थालिएको विभागका प्रवक्ता एवं उपमहानिर्देशक भीमार्जुन अधिकारीले जनाए । पहिलो प्याकेजका रूपमा नागढुंगा–नौबिसे खण्ड छ, जसको दूरी १२.२६ किमि र ठेक्का रकम १ अर्ब ३० करोड ८४ लाख रुपैयाँ रहेको अधिकारीले बताए । यसको ठेक्का सम्झौता ०७८ चैत २९ मा भए पनि काम ०७९ जेठ २६ बाट सुरु भएको हो ।
निर्माणको काम ०८१ जेठ २७ भित्र सकिसक्नुपर्नेछ । यस खण्डको ठेक्का जाङ्सु–सगुन जेभीले लिएका हुन् । जाङ्सु चिनियाँ कम्पनी हो । दोस्रो प्याकेज भने नौबिसे–मलेखु खण्ड हो । यसको दूरी ४८।५ किमि छ । यसको संयुक्त सर्भेको काम ५० प्रतिशत सकिइसकेको र ल्याब स्थापना गर्ने काम भइरहेको अधिकारीको भनाइ छ ।
दोस्रो खण्डको ठेक्का रकम भने ५ अर्ब ३३ करोड १९ लाख रुपैयाँ छ । जेडआईसीजी–शर्मा–लामा जेभीले यस खण्डको ठेक्का लिएका छन् । जेडआईसीजी पनि चिनियाँ कम्पनी रहेको विभागले जनाएको छ । ०७९ वैशाख १४ मा ठेक्का सम्झौता भएको र कार्यादेश जेठ २६ मा दिइएको विभागले बताएको छ । सम्झौताअनुसार यसको काम तीन वर्षभित्र अर्थात् ०८२ जेठ २७ भित्र सकिसक्नुपर्नेछ । तेस्रो प्याकेज हो, मलेखु–मुग्लिङ खण्डको काम भने सुरु भएको छैन । यस खण्डमा ठेक्का मूल्यांकन भइरहेको विभागको भनाइ छ ।
३० वर्षपछि सडकको स्तरोन्नति गर्न लागिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापा बताउँछन् । ‘सन् १९७४ मा चीन सरकारले नागढुंगादेखि पोखरासम्म १८५ किमि सडक बनाइदियो, त्यहीअन्तर्गत यो सडक पनि पर्यो, पछि १९९३ मा सडक सुधारको काम भयो,’ थापाले भने, ‘त्यसपछि अहिले स्तरोन्नति थालिएको हो ।’ स्तरोन्नति सकिएपछि ५ वर्षसम्म ठेक्का लिएकै कम्पनीले मर्मतसम्भार गर्नुपर्नेछ ।

