Logo

महाभियोगबारे बयान दिन सिंहदरबारमा चाेलेन्द्र


काठमाडौं,१५ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आफूमाथि लागेको महाभियोगबारे बयान दिन सिंहदरबार पुगेका छन्। जबरासँग प्रतिनिधिसभा, महाअभियोग सिफारिस समितिले आज बयानका लागि बोलाएको थियो। महाभियोगका विषयमा लागेका आरोपबारे जबराले समितिसमक्ष बयान दिनेछन्। समितिले एक साताअघि नै पठाएको पत्र जबराले बुझेका थिए।

महाभियोगबारे छानविन गर्न ११ सदस्यीय समिति गठन भएको छ । नेपालको संविधान धारा १०१ को उपधारा (२) तथा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ बमोजिम प्रतिनिधिसभाका एक चौथाइभन्दा बढी सदस्यहरूले महाभियोग प्रस्ताव पेस गरेका थिए । न्यायालयमा विचलन ल्याएको, भ्रष्टाचार र बिचौलियाले प्रवेश पाएको र कार्यपालिकामा भागबन्डा खोजेको लगायतका अभियोग जबरामाथि लगाइएको छ।

सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीका ९८ जना सांसदले महाभियोग प्रस्ताव संसद्मा दर्ता गरेका थिए। कांग्रेस संसदीय दलकी तत्कालीन सचेतक पुष्पा भुषाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र एकीकृत समाजवादी पार्टीका सचेतक जीवनराम श्रेष्ठले प्रस्तावक रहेका थिए। उक्त प्रस्तावमा ९५ जना सांसदले समर्थन जनाएका थिए।

भदौ ८ गते महाभियोगी सिफारिस समितिको बैठकले महाभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी उपलब्ध गराइदिन सरोकारवाला निकाय, व्यक्तिबाट माग गरेको थियो। सोहीबमोजिम नेपाल बार एसोसिएसनले जबरालाई महाभियोग पुष्टि गर्ने कागजात एवं विवरणसहितको ३४ बुँदे पत्र महाभियोग सिफारिस समितिलाई आइतबार बुझाएको थियो। यसअघि जबराको राजीनामा माग गर्दै बारले १०९ दिनसम्म आन्दोलन गरेको थियो। जबराको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सर्वोच्चका न्यायाधीश इजलास बस्न इन्कार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्