Logo

लगानीकर्ताका नेता जेलभित्रैबाट विज्ञप्ति जारी गर्छन्, ठगी गर्नेले नैतिकताका पाठ पढाउँछन्

सहकारीका ठग उत्तम, शेयर मार्केटमा नेतागिरी गर्छन्


काठमाडौं । पूँजीबजारमा केही नटरवलाल यस्ता पनि छन् जो जेलभित्रबाट अरुलाई विज्ञप्ति जारी गरेर नैतिकताको पाठ पढाउँछन् । भदौ १३ गते ‘ब्रोकर लाइसेन्स रोके आन्दोलनमा उत्रिने चेतावनी’ दिँदै लगानीकर्तासम्बद्ध तीन संस्थाले एउटा संयुक्त प्रेस विज्ञप्ति जारी गरे ।

जारी गर्नेहरुमा थिए नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, नेपाल पँुजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोख्रेल र शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल ।

यी तीनै संस्थाका अध्यक्षहरुले भदौ १३ मा विज्ञप्ति जारी गरेका छन् । रहस्यमय के छ भने शास्वत सहकारीको ५ करोडभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल अहिले केही दिनदेखि प्रहरी हिरासतमा छन् ।

प्रहरी हिरासतबाटै प्रेस विज्ञप्ति जारी गर्न मिल्दैन । यो विज्ञप्ति पुरानो होला भन्ने पनि आधार छैन किनभने बिज्ञप्तिमै भदौ १३ को मिति उल्लेख छ ।

सहकारीका ठग उत्तम, शेयर मार्केटमा नेतागिरी गर्छन्
काठमाडौंको कलंकीमा रहेको शास्वत सहकारीमा ३७ करोडभन्दा बढी रकम हिनामिना भएको छ । यो हिनामिनाका प्रमुख तीन नाइके मध्येका एक हुन् उत्तम । उत्तमको भागमा ५ करोडभन्दा बढी रकम हिनामिना गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

सहकारी डुबाउने प्रमुख तीन पात्र मध्येका अध्यक्ष राजेन्द्र बस्नेत अहिले पुर्पक्षका लागि जेलमै छन् । अर्का व्यवस्थापक भिमराज गिरी फरार छन् । उत्तमलाई

केही दिन अघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

तस्बीरमा देखिएका मध्येका पहिलो व्यक्ति उत्तम हुन् । दोस्रो व्यक्ति राधा पोख्रेल हुन् भने तेस्रो व्यक्ति तुलसीराम ढकाल हुन् ।पोख्रेल र ढकाल विवादित पात्र होइनन्, तर हिरासतमा रहेका व्यक्तिसँगै संयुक्त बिज्ञप्ति निकालेपछि उनीहरुबारे पनि प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस्