तनहुँ–१ अंकगणितले ढुक्क पौडेललाई नेताको व्यवस्थापन मुख्य चुनौती
विकास टाइम्स
प्रकाशित मिति : 1 September, 2022


तनहुँ । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल अन्तिम पटक तनहुँबाट प्रतिनिधिसभा सदस्यमा उमेदवार बन्दैछन् । तनहुँको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने घोषणा गरिसकेका छन् । पौडेलले भदौ ३ मा गृहनगर दमौलीमा स्थानीय सञ्चारकर्मीसँग आफु हारेका ठाँउबाट नै एक पटक चुनाव जितेर मर्न चाहन्छु भनेका थिए । यो पटक कांग्रेसबाट चुनावी प्रतिष्पर्धाका लागि तनहुँ क्षेत्र नम्बर १ मा पौडेलका साथै केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई र संविधानसभा सदस्य रामचन्द्र पोखरेलले आंकाक्षा राख्दै पार्टीका आवेदन दिएका छन् ।
तनहुँमा संविधान जारी गर्नुअघिसम्म तीन निर्वाचन क्षेत्र थिए । पौडेलले ०४८ सालमा १ र त्यसपछि ०७० सम्म २ नम्बर क्षेत्रबाट चुनाव जितेका थिए । संविधान जारीपछि निर्वाचन क्षेत्र २ वटामा सीमित भयो । पौडेलले तनहुँ–१ रोजे । उनीसँग प्रतिस्पर्धा गर्न एमालेले व्यापारिक पृष्ठभूमिका कृष्णकुमार (किसान) श्रेष्ठलाई अघि बढायो । ०४८ सालदेखि निरन्तर संसदीय चुनाव जित्दै आएका पौडेललाई श्रेष्ठले पराजित गरे । उनलाई हराउन कांग्रेसकै नेता गोविन्दराज जोशीको ठूलो हात रह्यो । श्रेष्ठले पौडेललाई ६ हजार ८ सय २ को मतान्तरले हराए । श्रेष्ठ हाल एकीकृत समाजवादीमा छन् ।
अहिले पाँच दलका बीचमा गठबन्धन भएको अवस्थामा तनहुँ क्षेत्र नम्बर १ कसको भागमा पर्ने भन्ने टुंगो छैन् । गठबन्धनमा जसले जितेको उसैले पाउने निर्णय भएमा यो क्षेत्र नेकपा एकिकृत समाजवादीलाई सुम्पनुपर्ने हुन्छ । तर नेपाली कांग्रेसका वरिष्ठ नेताले यो क्षेत्रमा आकाक्षां राखेका कारण नेकपा एसमा रहेका वर्तमान सांसद किसान श्रेष्ठको व्यवस्थापन गर्ने गरि सहमति हुने बताइएको छ । श्रेष्ठलाई तनहुँबाहेक अन्य जिल्लामा उम्मेदवार बनाउने सम्भावना छ । पौडेलका लागि चुनौती गठबन्धनको भन्दा कांग्रेसभित्रकै हुने देखिन्छ । तनहुँ–१ तीनवटा क्षेत्र भएका बेलामा २०६४ सालसम्म गोविन्दराज जोशीले चुनाव लड्दै आएको क्षेत्र हो । पौडेललाई हराउन ०७४ मा जोशी आफैं स्वतन्त्र उम्मेदवार बनेका थिए । अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको कारण देखाएर पौडेल आफैंले उजुरी दिएपछि निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेज गरिदियो । त्यसपछि पनि जोशी पौडेललाई हराउन र एमाले उम्मेदवारलाई जिताउन लागेको आरोप छ । त्यही आरोपमा उनले कारबाहीसमेत भोगिरहेका छन् । स्थानीय चुनावमा त जोशीले
चुनावमा जोशीले छोरा दीपकलाई व्यास नगर प्रमुखमा एमालेसंग गठबन्धन गर्दै कांग्रेसविरुद्ध उतारेका थिए । जोशीले व्यास नगरपालिकामा मात्र नभएर सिंगै तनहुँमा एमालेसंग सहकार्य गरेका थिए । जोशीको सहकार्यले कांग्रेसलाई तहसनहस पार्ने हल्ला चलाइएको थियो । तर, स्थानीय चुनावमा जोशी र एमालेको शक्ति एकिकृत गर्दा कति हुन्छ भन्ने परिक्षण भइसकेको छ । आगामी संसदीय चुनावमा पनि पौडेलविरुद्ध जोशी र एमालेबीच तालमेलको चर्चा सुरु भइसकेको छ । जोशीले केही दिनअघि आफैं उम्मेदवारी हुने घोषणा गरिसकेका छन् । पुराना नजिर कायम राखेर उनको उम्मेदवारी खारेजी गरिदिए पनि विकल्पमा उनले अर्को उम्मेदवार खडा गर्न सक्ने जिल्लाका कांग्रेस नेताहरू बताउँछन् । विकल्पको उमेदवार भनेको एमालेबाट पूर्वप्रहरी निरिक्षक सर्वेन्द्र खनाल हुने धेरैको अनुमान छ । जोशीले खनालसंग पटक पटक वार्ता गरिसकेका छन् । तनहुँ क्षेत्र नम्बर १ मा एमालेको बलियो उमेदवार समेत नभएको अवस्थामा एमालले पनि खनाललाई उमेदवार बनाउने निश्चित छ ।
पौडेलले भने यस पटक एमालेभित्रको विभाजन र गठबन्धनको बलबाट सहजै चुनाव जित्ने विश्वास गरेका छन् । स्थानीय तहको चुनावी परिणामले पनि पौडेलको विश्वासलाई बल पुगेको देखिन्छ । स्थानीय तहको चुनावमा वडा अध्यक्षले पाएको मतलाई आधार मान्दा तनहुँमा कांग्रेसको ३३ हजार १०६, एमालेको २२ हजार २१०, माओवादीको ८ हजार ४७४, राप्रपाको १ हजार ७७५, नेकपा एसको ८९२ र जसपा ५४ मत देखिन्छ । यहाँ वडा एमालेका अध्यक्षले पाएको एमालेको २२ हजार २१० मतमा गोविन्दराज जोशी समुहको पनि जोडिएको छ । यो मतलाई आधार मान्ने हो भने एमालेको भन्दा कांग्रेसको मत १० हजार भन्दा बढि छ ।
तनहुँको यो क्षेत्र नेपाली कांग्रेसका लागि ढुक्क जस्तै देखिन्छ । तर अर्को क्षेत्रमा भने नेकपा एमाले बढि देखिन्छ । यो क्षेत्रमा धेरै नेताहरु भएका कारण नेताहरुको व्यवस्थापनमा भने समस्या देखिएको छ । यो क्षेत्रमा पौडेलले आफु प्रतिनिधिसभा सदस्यको उमेदवार बन्दै गर्दा केन्द्रीय सदस्य, शंकर भण्डारी, गोविन्द भट्टराई, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, ध्रुव वाग्ले, रघुनाथ पौडेल, दिपक भट्टराई, डोबाटे विक, लक्ष्मी आचार्य लगायतका नेताहरुको व्यवस्थापन पौडेलका लागि चुनौती देखिएको छ ।

