नेताहरु पुरानै अडानमा टसमस नहुँदा सिट बाँडफाँट अन्योल
विकास टाइम्स
प्रकाशित मिति : 1 September, 2022


काठमाडाैं,१६ भदाै । सत्तारुढ पाँच दलीय गठबन्धनभित्र आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावीमा कसले कति सिट लिएर जाने भन्ने विषय टुंगोमा पुग्न सकेको छैन् । गठबन्धनमा सामेल दलहरुले सिट दावीको पुरानै अडान नछाडेपछि निर्णय निस्कन नसकेको हो ।
विगत ३ हप्ता देखि प्रधानमन्त्री निवास बालुवाटरमा गठबन्धनको बैठक निरन्तर बसीरहेको छ । शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारेमा गम्भीररुपमा छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकिएको राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए ।
यसअघि नै नेपाली कांग्रेसले १००, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले २ सिटको दाबी गरेका थिए । सो विषयमा सहमतिका लागि शीर्ष नेतासहितको बैठकमा नियमित छलफल भैरहेपनि पुरानै अडान नछाडेपछि आजसम्मका बैठकहरु विना निष्कर्ष टुंगिएका छन् ।
कांग्रेसका नेता डा. शेखर कोइराला समूहले प्रतिनिधिसभा सदस्य निर्वाचनमा १०० सिट भन्दा तल झरेर आफ्नो पार्टीले निर्णय गर्न नहुँने दावी गर्दै आएका थिए । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सत्ता गठबन्धनभित्र भागबन्डा गर्दा आफ्नो पार्टीले १०० सिट पाउनुपर्नेमा दोहोर्याएका थिए । अन्य दलहरुले पनि आफ्नो अडान छाडेका छैनन् । आज बस्न कार्यदलको बैठकले भागबण्डाको आधार तय गर्ने भनीएपनि अहिल्यौ निष्कर्ण निस्कने छाँट देखिएको छैन् ।

