Logo

निर्वाचनमा एउटै घोषणापत्र बनाएर अघि बढ्ने प्रयासमा माओवादी-समाजवा


काठमाडाैं,१७ भदाै ।   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीसँग आगामी निर्वाचनमा एउटै घोषणापत्र बनाएर अघि बढ्ने बताएका छन् । शुक्रबार पत्रकारसँग कुराकानी गर्दै दाहालले केही दिनभित्रै पार्टी एकता संयोजन समिति गठन गरेर एकताको प्रक्रिया औपचारिक रुपमा सुरु गरिने  र मंसिर ४ गते हुने निर्वाचनमा एउटै घोषणापत्र बनाउने प्रयास भइरहेको बताएका हुन् । ‘केही समयपछि पार्टी एकता संयोजन समिति बन्ने सम्भावना छ । त्यहाँ घोषणापत्र एउटै हुनेतिर पनि हाम्रो प्रयास भइरहेको छ‚’ उनले भने ।

यसका साथै आगामी निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर अन्य केही पार्टीले पनि निर्वाचनमा जाने भन्नेबारे छलफल भइरहेको भन्दै उनले भने‚ ‘अहिले हाम्रो गठबन्धनभित्र त आ(आफ्नो चुनाव चिह्नबाट नै जानेखालको कुरा भइरहेको छ । केही पार्टी र साथीहरूले चाहिँ माओवादी केन्द्रको चुनाव

चिह्नबाट चुनाव लड्ने भन्नुभएको छ । बाबुराम भट्टराईजीको पार्टी‚ बामदेव गौतमजीको पार्टीले पनि मा‌‌ओवादी केन्द्रकै चुनाव चिह्नमा चुनाव लड्ने भन्नुभएको छ‚’ उनले भने । अध्यक्ष दाहालले गठबन्धनभित्र असहमतिको स्थिति नभएको बरु प्रभावकारी ढंगले यसलाई अगाडि लैजाने विषयमा सबै जना प्रतिबद्ध रहेको दाबी गरे । कुन क्षेत्रबाट निर्वाचनमा उठ्ने भन्ने प्रश्नमा उनले आफू यसअघि पनि चितवन(३ बाटै उठेको र फेरि पनि सोही स्थानबाट चुनाव लड्ने बताए ।

प्रतिक्रिया दिनुहोस्