Logo

डाँका समूह र प्रहरीबीच भिडन्त हुँदा एक प्रहरीसहित दुईजना घाइते


वीरगञ्ज,१९ भदाै ।   वीरगन्ज स्थित एक उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच भिडन्त हुँदा एक प्रहरीसहित दुईजना घाइते भएका छन् । बाराको जीतपुरसिमरा वडा नम्बर २३ भलुहीमा रहेको एरोटेक प्रालिमा शनिबार मध्यरातमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच झडपमा गोली हानाहान समेत भएको हो ।

भिडन्तमा डाँका समूहले गरेको रड प्रहारबाट इलाका प्रहरी कार्यालय जीतपुरका बरिष्ठ प्रहरी नायब निरीक्षक कमलबहादुर शाही घाइते भएका हुन् । उनको टाउकोमा गम्भीर चोट लागेकाले वीरगन्जस्थित वीरगन्ज हेल्थ केयर हस्पिटलको आइसीयुमा उपचार भइरहेको छ ।

उद्योगमम लुटपाट भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी घटनास्थलमा पुग्दा प्रहरी माथि नै रड प्रहार भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । प्रहरीमाथि डाँका समूहले रड प्रहार गर्नुका साथै एक राउण्ड गोली चलाएपछि प्रहरीले ३ राउण्ड गोली चलाएको बोगटीले जानकारी दिए ।

डकैतीमा संलग्न दुईजनालाई पक्राउ गरी उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल , एक थान भरुवा बन्दुक र तीन राउण्ड गोली बरामद गरिएको बोगटीले बताए । पक्राउ परेका दुईजना डाँकामध्ये एकजना घाइते रहेको र उनको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको बोगटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्