दुई तीन दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँट टुंगो लाग्छ -प्रचण्ड
विकास टाइम्स
प्रकाशित मिति : 5 September, 2022


काठमाडाैं,२९ भदाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई तीन दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँट टुंगो लाग्ने बताएका छन्। पार्टीको कार्यक्रमका लागि जनकपुरधाम आइपुगेका प्रचण्डले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै गठबन्धन दल सिट बाँडफाँटको अन्तिम तयारीमा रहेको बताए। गठबन्धनको सिट बाँडफाँट अध्ययन कार्यदलले अध्ययन गरिरहेको छ। कार्यदलले आज वा भोलिसम्ममा प्रतिवेदन दिन्छ, त्यसलगत्तै कार्यदलको प्रतिवेदनका आधारमा सिट बाँडफाँटको टुंगो लगाउँछ, उनले भने।
ुअघिल्लो निर्वाचनमा जुन क्षेत्रमा जुन दलले जितेको थियो, त्यही दललाई दिने सैद्धान्तिक सहमति भएको उनले बताए । गत २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमाभन्दा आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा मधेस प्रदेशमा आफ्नो पार्टीले बढी सिट जित्ने दाबी अध्यक्ष प्रचण्डले गरे। उनले प्रतिनिधिसभा र राष्ट्रियसभामा दोस्रो पटक पारित भएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुने विश्वास व्यक्त गरे।
यसैबीच नेकपा माओवादी केन्द्रको मधेस प्रदेशमा रहेका केन्द्रीय सदस्यको बैठक आज जनकपुरधाममा सुरु भएको छ। जनकपुरधामस्थित होटल राजदरबारमा दिउँसो २ बजेदेखि सुरु भएको बैठकलाई अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेताहरु मात्रिकाप्रसाद यादव, गिरीराजमणि पोखरेललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र मधेस प्रदेशका इञ्चार्ज गणेश साहले जानकारी दिए।

