कृषि कर्जा सुरक्षणका लागि माछापुच्छ्रेले गर्यो कोषसँग सम्झौता
विकास टाइम्स
प्रकाशित मिति : 7 September, 2022


काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र माछापुच्छ्रे बैंक लिमिटेडबीच बुधबार कृषि कर्जा सुरक्षण गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र बैंकका तर्फबाट प्रमुख अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।
यो सम्झौतापछि बैंकले कृषि व्यवसायका लागि प्रवाह गरेको तीन करोडसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ । एक करोडभन्दा माथिको कर्जाको सुरक्षणका लागि बैंंकले कोषको पूर्वस्वीकृति लिएको हुनुपर्नेछ । यस्तो कर्जाको सुरक्षण शुल्क ०.६ प्रतिशत हुनेछ । यो शुल्कको ५० प्रतिशत नेपाल सरकारले र ५० प्रतिशत बैंकले दुई किस्तामा बुझाए हुने कोषद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कृषि कर्जा लिएका ऋणीको मृत्यु वा प्राकृतिक प्रकोपबाट क्षति भएमा वा अन्य कारणले कर्जा असूली हुन नसकेमा बैंकले गर्ने दाबीको ८० प्रतिशतसम्म कोषले व्यहोर्ने छ ।

