Logo

व्यावसायिक बन्दै बागलुङका कृषक


बागलुङ, २६ भदौ । व्यावसायिक किसानको सङ्ख्या बढेसँगै बागलुङ माछा, मासु र दूधमा आत्मनिर्भर भएको छ । जिल्लामा पछिल्लो केही वर्ष यता व्यावसायिक पशुपालन तथा माछापालनमा किसान आकर्षित भएका छन्  ।जिल्लाभर वार्षिक एक करोड ५५ लाख ९९ हजार दुई सय तीन लिटर दूध उत्पादन हुने गरेको छ ।

विश्व खाद्य सङ्गठनको मापदण्डअनुसार एक जना व्यक्तिका लागि वार्षिक ९१ लिटर दूध आवश्यकता हुन्छ । एक लाख ६८ हजार सात सय १३ जनसङ्ख्या रहेको जिल्लामा वार्षिक एक करोड ५३ लाख ५२ हजार आठ सय ८३ लिटर दूध भए पुग्छ । आवश्यकताभन्दा प्रतिव्यक्ति वार्षिक एक दशमलव ४६ लिटर दूध बढी उत्पादन भइरहेको भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख चिकित्सक ऋषिराम सापकोटाले बताए ।

व्यावसायिक किसानलाई स्थानीय सरकारले सहयोग गर्ने र सङ्घीय तथा प्रदेश सरकारका किसान लक्षित कार्यक्रमसमेत व्यावसायिक किसानसँगै पुग्ने भएकाले माछा, मासु र दूधको उत्पादन बढेको हो । उत्पादन बढेसँगै जिल्ला कृषिजन्य तीन उत्पादनमा जिल्ला आत्मानिर्भर भएको हो ।

आवश्यकताभन्दा बढी उत्पादन भइरहेको दूध छिमेकी जिल्लामा निर्यात हुने गरेको छ । जिल्लाको दक्षिण क्षेत्रबाट छिमेकी जिल्ला पर्वत र पश्चिम क्षेत्रबाट छिमेकी गुल्मीमा दूध निर्यात हुने गरेको तथ्याङ्क भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले राखेको छ । केही साना बजारमा छिमेकी जिल्लाबाट आयातसमेत हुने गरेको छ । ‘केही वर्ष पहिलासम्म पोखराबाट दूध ल्याएर बेचिन्थ्यो तर अहिले किसानको घरबाट सिधै दूध हाम्रो डेरी पसलमा आउँछ’, मिलन दूध डेरी बागलुङका सञ्चालनक हिरादेवी शर्माले भने, ‘पहिलाजस्तो बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन् ।’

जिल्लाभर ८६ हजार नौ सय २० भैँसी र २१ हजार छ सय ६० गाईपालन भइरहेको तथ्याङ्क केन्द्रसँग छ । यीमध्ये अधिकांश दूध उत्पादन गर्न योग्य छन् । व्यावसायिक र घरायासी प्रयोजनलाई पालिएका पशुचौपायको समय तथ्याङ्क निकालेर केन्द्रले दूधको उत्पादन मूल्याङ्कन गर्ने गरेको सापकोटाले बताउए । भैँसीपालन गर्ने किसानले मासुका लागि राँगासमेत हुर्काउने गरेका र मासुको उत्पादनमा समेत सहयोग पुग्ने गरेको छ । ग्रामीण भेगसम्म सडकको सहज पहुँच, यातायातको सुविधा, उचित मूल्य, स्थानीय तहको उत्पादनमा आधारित अनुदान, घाँस परालको उपलब्धतालगायतले किसानलाई व्यावसायिक पशुपालनमा सहज बनाएको किसान बताउँछन् ।

हाल बजारमा दूधको मूल्य थोकमा रु ७० देखि ९०तथा खुद्रा एक सयदेखि एक सय २० मा बिक्री हुँदै आएको छ । दुधालु गाईभैँसीले एकै बेतमा करिब रु एक लाख मूल्य बराबरको दूध दिने भएपछि अधिकांश वैदेशिक रोजगारीबाट फर्किएका युवाको पशुपालनमा आकर्षण छ । पछिल्लो समय दाना, चोकर र पराललगायत पशुपालनका लागि आवश्यक सामग्रीमा ठूला व्यवसायीको एकाधिकार, दूधको मूल्यमा सिन्डिकेटलगायतले अझै अपेक्षित मूल्य पाउन नसकेको किसानको गुनासो छ ।

त्यस्तै जिल्लाभर वार्षिक २५ लाख ५० हजार नौ सय ४० किलो माछामासु उत्पादन हुने गरेको छ । विश्व खाद्य सङ्गठनको मापदण्डअनुसार एक जना व्यक्तिका लागि वार्षिक १४ किलो माछामासु आवश्यकता हुन्छ । एक लाख ६८ हजार सात सय १३ जनसङ्ख्या रहेको जिल्लामा वार्षिक २३ लाख ६१ हजार नौ सय ८२ किलो माछामासु भए पुग्छ । आवश्यकताभन्दा प्रतिव्यक्ति वार्षिक एक दशमलव १२ किलो माछा मासु बढी उत्पादन भइरहेको विज्ञ केन्द्रका प्रमुख चिकित्सक सापकोटा बताउँछन् ।

‘किसानले उत्पादन बढाउनु खुसीको कुरा हो, उपलब्धताका हिसाबले हामी माछामासु र दूधमा आत्मनिर्भर भएका छौँ’, सापकोटाले भने, ‘किसानको आयस्तर बढाउनमा समेत यसले सहयोग गरेको छ ।’ बागलुङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बाख्रा जोन कार्यक्रम सञ्चालनमा ल्याएको छ । चरण क्षेत्र राम्रो रहेका जैमिनी नगरपालिका, बागलुङ नगरपालिकाको बलेवा क्षेत्र र बरेङ गाउँपालिका समेटेर तय गरिएको बाख्रा जोन कार्यक्रमले पनि मासुको उत्पादनमा सहयोग गरेको हो । त्यस्तै जिल्लाको ढोरपाटन नगरपालिका, गलकोट नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा केही किसानले व्यावसायिकरुपमा भेडापालन समेत गर्ने गरेका छन् ।

व्यावसायिकरुपमा कालिज पाल्ने, स्थानीय जातका कुखुरा पाल्ने र उन्नतजातका खुकुरा पाल्नेको सङ्ख्यासमेत धेरै रहेको विज्ञ केन्द्रका प्राविधिक अधिकृत केशव शर्माले बताए । मासुकै उत्पादनका लागि, बोका, साढे, राँगा, कुखुरा बङ्गुर र सुँगुर उत्पादन बढाउँदा जिल्ला मासुमा आत्मनिर्भर भएको किसानको बुझाइ छ । जिल्लाभर एक लाख २७ हजार चार सय बाख्रा, आठ हजार तीन सय भेडा, १५ हजार तीन सय २१ सुँगुररबङ्गुर, पाँच लाख ८९ हजार आठ सय ८० कुखुरा, तीन हजार छ सय ४० हाँस र तीन सय ४५ वटा खरायो पालिएको तथ्याङ्क छ ।

गत असार मसान्तसम्मको तथ्याङ्कलाई हेर्दा ८५ वटा पोखरीमा विभिन्न जातका माछापालन किसानले गरिरहेका छन् । ‘जिल्लालाई पुग्ने गरी माछामासुको उत्पादन छ, बढी भएको माछामासु बाहिर निर्यात हुन्छ’, शर्माले भने, ‘यहाँबाट भेडा, बाख्रा र राँगाको मासुको लागि बढी निर्यात हुने गरेका छन् ।’ किसानले करोडौँ लगानी गरेर फार्म सञ्चालन गर्नेदेखि परम्परागत पशुपालन तथा माछापालनलाई स्तरोन्नति गरेर उत्पादन बढाएका हुन् । कृषि तथा पशुजन्य उत्पादन वृद्धिका लागि यहाँका हरेक स्थानीय तहले एक करोडदेखि तीन करोडसम्म हरेक वर्ष लगानी गर्ने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्