निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ना खुल्ला
विकास टाइम्स
प्रकाशित मिति : 11 September, 2022


काठमाडाैं,२६ भदाै । आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सरकारले एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुला गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको हो।
मानव श्रोत विकास विभाग, भर्ना छनौट शाखाका अनुसार म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न लागेको हो। नेपाली नागरिकले जिल्ला प्रहरी कार्यालयमा भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त बुझाउन सक्ने जनाइएको छ। म्यादी प्रहरी छनोटमा छनोट गर्दा स्थानीय तह वा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७४ वा स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ।
यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत रही निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मीहरू तथा पूर्व वन रक्षकहरू, सुरक्षा निकाय ९नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल० मा विभिन्न पदमा २०७९ साल भदौ महिनासम्म भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेश पत्रको प्रतिलिपि पेश गर्ने व्यक्तिहरू र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायहरूमा काम गरी सेवा निवृत्त नेपाली नागरिकलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ। म्यादी प्रहरीमा भर्ना हुन आवेदक दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने मानव श्रोत विकास विभाग, भर्ना छनौट शाखाले जनाएको छ।

