संसद पूनस्थापनाका पक्षमा उभिएका एमालेका यी नेतालाई टिकट पाउनै मुस्कील
जीवन शर्मा
प्रकाशित मिति : 14 September, 2022


काठमाडाैं, २९ भदाै । नेकपा एमाले भित्र संसद पूनस्थापनाका पक्षमा उभिएका दश नेतालाई टिकट पाउनै मुस्कील पर्ने देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटको समयमा माधव नेपाल समूहमा लागेर आफूलाई असहयोग गरेका १० नेतालाई सहज रुपमा टिकट नदिने संकेत गरेका हुन् ।
दुई–दुईपटक प्रतिनिधिसभा विघटन गरेर विवादमा आएका ओलीले आफ्नो कदमप्रति विरोध गर्दै संसद् पुनःस्थापनाका लागि सर्वोच्च अदालत गएका र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मतदान गरेका १० भाइलाई ओलीले चुनावी मैदानमा समेत हेर्ने नजर फरक भएको एमालेका एक नेताले बताए । ती नेताले भने– ‘कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाउन र माधव नेपाललाई साथ दिएर पार्टी विभाजनमा ‘अप्रत्यक्ष भूमिका निर्वाह गरेका’ नेतालाई ओलीले टिकट वितरणमा सर्त तेस्र्याउने तयारीमा हुनुहुन्छ ।’ पार्टीका पदाधिकारी रहेका भए पनि पार्टी हितविपरीत गुटबन्दी गरेर आफ्नै सरकार ढाल्न भूमिका खेलेका नेताहरुलाई सहजै टिकट दिन हुन्न भन्ने पक्षमा अध्यक्ष रहनुभएको उनको भनाइ छ ।
पार्टीको आन्तरिक विवादमा माधवकुमार नेपाल समूहमा रहेर पार्टी विभाजनका सहयोग पु¥याएको भन्दै उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिवद्वय योगेश भट्टराई, गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यद्वय घनश्याम भुसाल, रघुजी पन्त, केन्द्रीय सदस्य भीम आचार्य, भीम रावल र यज्ञराज सुनुवारप्रति अध्यक्ष ओली सन्तुष्ट छैनन्। यी नेताहरुले आत्मालोचना गर्नुपर्ने ओलीले जनाउ दिइसकेका छन् । तर एक जना उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संसदीय राजनीतिबाट पछि हटेको जनाए पनि अरु नेताहरु प्रत्यक्ष चुनाव लड्न चाहन्छन् ।
माधव नेपालले पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी बनाएपछि मूल पार्टीमै रहेका १० भाइ नेतालाई पार्टीका कार्यकर्ताले समेत हेर्ने दृष्टिकोण फरक रहेको नेताहरुको भनाइ छ । पार्टीको नेतृत्वप्रति असन्तुष्टि राखे पनि आफ्नो घरै भत्काउने काम गरेका नेताहरुले आगामी मंसिरमा हुने निर्वाचनमा टिकट प्राप्त गर्नका लागि गल्ती कुरालाई आत्मालोचनासहित आगामी दिनमा यस्तो नगर्ने प्रतिबद्धता पेस गर्नुपर्ने सम्मको अवस्था आउनेछ । धनश्याम भुसालले त पछिल्लोपटक समेत पार्टीको हितविपरीत विभिन्न सञ्चारमाध्यममा अन्तरवार्ता दिएर र लेखहरु लेख्दै हिँडेको आरोपमा ओलीले स्पष्टिकरण सोधिसकेका छन् ।
आसन्न प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका रूपमा जिल्ला र प्रदेश तहबाट सिफारिस भइसकेका नेताहरु युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाल, रघुजी पन्त, केन्द्रीय सदस्य भीम आचार्य, भीम रावल, यज्ञराज सुनुवारलाई केन्द्रबाट उम्मेदवारको औपचारिक निर्णय हुनुपूर्व ओलीले आत्मालोचना गराउन खोजेको एक नेताले बताए । विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रूपमा आफूले गरेका कामको विरोधलाई ओलीले पार्टीभित्रको अनुशासन उल्लंघनका रुपमा लिएका छन् ।
पार्टीमा अनुशासनहीनता र अराजकतालाई बढावा दिन नसकिने ओलीले सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएको छ । संसद् पुनस्र्थापनाको पक्षमा उभिएका नेताहरुलाई इङ्गित गर्दै ओलीले भन्नुभएको छ– ‘हरेक चीज लयमा चलेको छ, हिजो चलिएन होला, हिजोका गल्ती सच्याएर फेरि लयम चल्ने प्रतिबद्धता हुनुपर्छ ।’ अब लयमा चल्ने प्रतिबद्धता हुन्छ भनेर भन्न उहाँहरू किन डराउनुभएको भनेर ओलीले प्रश्नसमेत गरेका छन्।
फेरि आफ्नै सरकार ढाल्न नै संसद्मा आउन खोज्नुभएको हो भने एमालेभित्र ठाउँ नभएको समेत अध्यक्ष ओलीले सोमबारको एक सार्वजनिक कार्यक्रममा बोल्नुभएको छ । तर नेतृत्वबाट यस्तो हुन गएमा पार्टीलाई ठूलो क्षति हुने नेकपा एमालेका केन्द्रीय सदस्य भीम रावलले बताए। ‘आधिकारिक रुपमा नेतृत्वबाट त्यस्तो कुरा आएको छैन्’, उनले भने– ‘अध्यक्ष भनेको सिंगो पार्टीको अभिभावक भएकाले सबैलाई समान व्यवहार गर्ने कुरामा विश्वस्त छु, यदि त्यस्तो भयो भने पार्टीमा गम्भीर क्षति निम्तन्छ ।’
आत्मालोचना नगरे टिकटै नदिनेसम्मको रणनीतिमा रहेका ओलीसँग दश नेताहरुको असन्तुष्टि रहेको बताइएको छ । प्रत्यक्षतर्फ चुनाव लड्ने चाहना राखेका अध्यक्ष ओली र उहाँ निकट मानिएका केही नेता सर्वसम्मत सिफारिस भए पनि १० नेतामध्ये भीम रावल मात्रै एकल सिफारिसमा परेका छन् । रावल अछाम १ बाट सर्वसम्मत सिफारिस भएका हुन भने अन्य नेताहरु सर्वसम्मत हुन सकेका छैनन् । उनीहरुलाई ओली निकटका जिल्ला तहका नेताहरुले सर्वसम्मत हुन नदिएको बताइएको छ ।
त्यस्तै युवराज ज्ञवाली दाङ–३, सुरेन्द्र पाण्डे चितवन–१, गोकर्ण विष्ट गुल्मी–२, योगेश भट्टराई ताप्लेजुङ, घनश्याम भुसाल रूपन्देही–३, रघुजी पन्त काठमाडौं–९, भीम आचार्य सुनसरी–२ र यज्ञराज सुनुवार ओखलढुंगा बाट सिफारिस भएका छन् । । ती क्षेत्रमा अरू पनि नेताहरु सिफारिसमा परेका छन् ।
टिकटका लागि जिल्ला र प्रदेशबाट सिफारिस भएका संसद् पुनस्र्थापना पक्षधर नेताहरु चुनावी प्रचार अभियानमा लागिसकेका भए पनि पार्टी नेतृत्वको अभिव्यक्तिले उनीहरुको टिकटमै तगारो लाग्ने हो कि भन्ने चिन्ता उत्तिकै छ । कतिपय केन्द्रीय सदस्य भने अध्यक्षको आत्मालोचनाको लिस्टमा नपर्ने बताउँछन् । पार्टीका पदाधिकारीहरुका हकमा यस्तो संकेत देखिए पनि आफ्नो नाम त्यहाँ नमुछिएको दश भाइमध्येका एक केन्द्रीय सदस्य यज्ञराज सुनुवारले बताए ।उनले भने– ‘मेरो नाम त्यस लिस्टमा छैन, पदाधिकारीहरुको हकमा होला, तर चुनावमा त्यस्तो भयो भने पार्टीले क्षति बेहोर्नुपर्छ ।’

