Logo

भाजपा नेताको दृष्टिमा परेका राप्रपाका उम्मेदवार


काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का प्रभावशाली नेताका रुपमा सुव्रमन्यम् स्वामी चिनिन्छन् । स्वामीले बिहीबार सामाजिक सञ्जाल ट्वीटमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चितवन–२ का उम्मेदवार रविन अधिकारीबारे ट्वीट गरेका छन् । उनले ट्वीटमा लेखेका छन् – ‘फ्युचर नेपाल एमपीः श्री रविन अधिकारी ।’

राप्रपाका उम्मेदवारलाई नेपालको आगामी सांसदका रुपमा देख्न चाहने स्वामी वर्तमान भाजपा सरकारमा प्रभाव राख्ने भाजपाका नेताका रुपमा परिचित छन् । सन १९९० देखि ९१ सम्म भारतका उद्योग वाणिज्य र कानुन तथा न्याय मन्त्री भएका स्वामी अहिले भारतीय संसदको माथिल्लो सदन राज्य सभा सदस्य छन् ।

२०१३ देखि भारतीय जनता पार्टीमा आवद्ध रहेका सुव्रमन्यम् हिन्दु धर्म प्रबद्र्धन गर्ने विभिन्न संघ संस्थामा पनि आवद्ध छन् । एक राजनीतिज्ञ तथा एक अर्थशास्त्रीका रुपमा पनि स्वामीको परिचय छ ।

नेपालमा हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापनाको उद्देश्य राखेको राप्रपाबाट रविन अधिकारीले चितवन २ बाट उम्मेदवारी दिएका छन् ।
राप्रपाका अन्य धेरै उम्मेदवारहरुबारे भारतीय नेता कसैले पनि यसखाले टिप्पणी गरेको देखिन्न । तर भाजपा नेता स्वामीले अधिकारीलाई आगामी संसद सदस्यका रुपमा हेर्न चाहेको उनको ट्वीटबाट पनि पुष्टि हुन्छ ।

चितवन २ बाट सत्ता गठबन्धनले शिक्षाका व्यापारी उमेश श्रेष्ठ, नेकपा (एमाले)ले कृष्णभक्त पोख्रेल र राप्रपाले रविन अधिकारीलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले पनि यहि क्षेत्रबाट प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्