Logo

सनत र अनन्तलाई दधिराज पुरस्कार


विराटनगर । दधिराज सुवेदी प्रतिष्ठान विराटनगरले यस वर्षको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०७९’ कथाकार सनत रेग्मीलाई दिने भएको छ ।

त्यसै गरी ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारीता पुरस्कार–२०७९’ मोरङका पत्रकार अनन्तराज न्यौपानेलाई दिने भएको छ ।
भाषा साहित्य पुरस्कार प्राप्त गर्ने बाँकेका कथाकार रेग्मी छ दशकदेखि नेपाली भाषा साहित्यको उन्नयनमा क्रियाशिल छन् । रेग्मीले प्राप्त गर्ने पुरस्कार ५१ हजार रुपैयाँ राशिको छ ।

त्यस्तै गरी तीन दशकदेखि विराटनगरमा क्रियाशील पत्रकार अनन्तराज न्यौपानेले प्राप्त गरेको पुरस्कारको राशि ३० हजार रुपैयाँकोछ ।
यस अघि भाषा साहित्य पुरस्कार प्रा.डा.गोविन्दराज भट्टराई, प्रा.डा.अभि सुवेदी, प्रा.डा. माधवप्रसाद पोखरेल, डा. विष्णुविभु घिमिरे, एसपी कोइराला र प्रा. चूडामणि बन्धुलाई प्रदान गरिएको थियो ।

पत्रकारिता पुरस्कार चाहिँ यसअघि हरिबहादुर थापा, शिववहादुर कार्की, हरिहर विरही, मोहन भण्डारी, किशोर नेपाल र भूषण दाहाललाई प्रदान गरिएको थियो ।

समालोचक प्राज्ञ दधिराज सुवेदीका छोराद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको १५ लाख रुपैयाँको अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष यो पुरस्कार २०७३ सालदेखि नियमित प्रदान गरिंदै आएको छ ।

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । यस वर्षका पुरस्कारहरू आगामी मंसिर महिनामा एक समारोहको आयोजना गरि समर्पण गरिने महासचिव दिङ्लाली कान्छोले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्