निर्वाचन क्षेत्रमा खटाएकोले चार जना खटिने काठमाडौँका चोकमा एक ट्राफिक मात्रै
विकास टाइम्स
प्रकाशित मिति : 16 November, 2022


काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका करिब एक हजार चार सय ट्राफिक प्रहरी आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरीलाई उपत्यका बाहिरका निर्वाचन क्षेत्रमा खटाएको हो । ट्राफिक प्रवक्ता राजेन्द्र प्रसाद भट्टका अनुसार चार जना खटिने चोकमा एकजना ट्राफिक मात्रै खटाइएको छ । “उपत्यकाको सवारी चाप ठूलो मात्रामा घटबढ भएको छैन । करिब चौध सय ट्राफिक निर्वाचनमा खटाइएको छ । उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न विभिन्न निकायबाट स्वमंसेवक लिएका छौँ,” उनले भने । हाल काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाका नगरप्रहरीलाई पनि ट्राफिक व्यवस्थापनमा खटाइएको छ । जनपथ प्रहरी, रेडक्रस र स्कुलका स्वयंसेवकले पनि ट्राफिकलाई सहजीकरण गरेका छन् ।
नगरप्रहरी बलका प्रमुख नगरप्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार सवारी साधनको चाप धेरै भएको समय बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म मुख्य चोकमा ट्राफिक प्रहरीसँगै दुईजना नगरप्रहरी खटाउन थालिएको छ । बुधबार कोटेश्वर, बानेश्वर, गौशाला, जमल, रत्नपार्क, महाराजगञ्ज, कालिमाटी, कलंकीलगायत क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि महानगरबाट नगरप्रहरी खटाइएको एसपी पाण्डेले बताए । मंगलबारदेखि सवारी रिजर्भ गरेर दैनिक ८ हजारको दरले यात्रु बाहिरिने गरेको प्रवक्ता भट्टले बताए । उनका अनुसार निर्वाचन सकिएपछि जिल्लाबाहिर खटिएका ट्राफिक पुनः कार्यालयमै फर्किनेछन् ।

