Logo

मुलुुकको हिमाली क्षेत्रमा अनेक हिमताल


मुलुुकको हिमाली क्षेत्रमा अनेक हिमताल छन् । वेला–वेला ती फुटेर तल्लो तटीय क्षेत्रमा विध्वंश मच्चाउने गरेको र मच्चाएका खबर छापामा आइरहन्छन्। हिन्दु कुश क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्था (इसिमोड) का अनुसार सन् २०१० मा मुलुकभित्र हिमतालको संख्या ३,८०८ थियो (ICIMOD, 2011, pp. 18-19)।

यो विषय जलवायु तथा मौसम विज्ञान विभाग र जल तथा शक्ति आयोगको सचिवालयले हेर्ने गथ्र्यो । त्यसैले यस विषयमा खासै घोत्लिनु पर्दैन थियो । एक पटक दोलखास्थित रोल्वालिङ उपत्यकाको च्छोरोल्पा (Tsho-Rolpa)  हिमताल हेर्न जाने प्रसङ्ग सिँचाइ विभागका उपमहानिर्देशक (उमानी)सोमनाथ पौडेल र मौसम तथा जलवायु विज्ञान विभागका उमानी आदर्श पोखरेलले निकाले ।

कामको व्यस्तताले ४,५८० मिटर (१५,०३० फिट) उचाइमा रहेको च्छोरोल्पा हिमताल हेर्न जान सकिनँ । पौडेल र अन्य गएर फर्किएपछि वस्तुस्थितिको जानकारी दिँदै भने:

कथंकदाचित् ताल फुटेर तामाकोसी नदीमा भेल आयो भने त्यसले हजारौं व्यक्तिलाई असर पुर्‍याउँछ । साथै, खिम्ती जलविद्युत् आयोजनामा पनि ठूलो असर पर्नेछ ।

पछि खिम्ती जल विद्युत् आयोजनाको प्रवर्द्धक हिमाल पावर कम्पनीका महाप्रबन्धक पिटर हारउडको प्रस्तावमा उनका (हारउड) साथमा अवकाश प्राप्त लेफ्टिनेन्ट कर्णेल नारायण सिंह पुनद्वारा सञ्चालित कम्पनीको हेलिकोप्टरमा त्यता गएँ, चालक कर्णेल पुन नै थिए । सिमी गाउँ पुग्दा अचानक मौसम बिग्रियो । हेलिकोप्टर अघि बढ्न सकेन । पाइलट पुनले नजिकैको बारीमा ओराले । मौसम सुधार हुने आशामा बस्यौं तर सुधार हुने सङ्केत देखिएन र काठमाडौं फर्किनुपर्‍यो ।

महाप्रबन्धक हारउडले फर्किनुअघि काठमाडौंमा खबर गरौं भने । अनि, एउटा सानो बाकस हेलिकोप्टरबाट निकाले । त्यो खोलेर घामको रापतिर फर्काए। अनि ‘कुरा गर’ भने । त्यो के चिज हो थाहा थिएन । हारउड भने त्यो अनकन्टार ठाउँबाट कुरा गर भन्छन् ! पछि थाहा भयो: त्यो स्याटलाइट टेलिफोन सेट रहेछ । त्यहींबाट मैले आफ्नो सचिवालयका आलौकिक श्रेष्ठसँग कुरा गरेर वस्तुस्थिति बताएँ । मन्त्री पशुपतिशमशेर राणालाई पनि खबर गरिदिन अनुरोध गरें ।

हारउडले पनि आफ्नो कार्यालयमा कुरा गरे । उक्त सेटको बारेमा कुरा गर्दा थाहा भयो: स्याटलाइट टेलिफोनको केन्द्रीय गेटवे लण्डनमा रहेछ । त्यसैले आलौकिक श्रेष्ठसँग भएको कुरा लण्डन हुँदै काठमाडौं पुगेको रहेछ । कुरा गरेको शुल्क पाउण्डमा तिर्नुपर्ने रहेछ । मैले त्यतिवेला पहिलो पटक स्याटलाइट फोनबारे जानकारी पाएँ ।

च्छोरोल्पा फुट्न सक्ने सम्भावनाबारे नेदरल्याण्डका युवराजाधिराज अलेक्जेन्डर (हाल सो देशका राजा हुन्) र विश्वबैङ्कका तत्कालीन अध्यक्ष उल्फेनसोनका बीच लेखापढी भएछ । २०५३ साल मंसिर र पुसमा आदानप्रदान भएका लेखापढीहरु जलस्रोत मन्त्रालयमा आइपुगेकाले पढ्न पाइएको थियो । मन्त्रालयमा प्राप्त ती लेखापढीहरु पढ्दा चाख लागेर मुख्य मुख्य बुँदाहरु टिपोट गरेर राखेको थिएँ । टिपोटमा परेका बुँदाहरु पाठकका लागि पनि उत्तिकै चाखपरक हुनसक्ने अनुमान गरी तल प्रस्तुत गरिएका छन्:

१.    युवराज अलेक्जेण्डरले विश्व बैङ्कका अध्यक्ष उल्फेनसोनलाई एक पत्र लेखेछन्, त्यसमा च्छो–रोल्पा ताल फुटेको खण्डमा ५ हजार शेर्पाको जनजीवन खतरामा पर्नेछ । यसको रोकथाम गर्न वाभिन भन्ने कम्पनीले एक योजना (पानी तर्काउने संयन्त्र) बनाएको रहेछ । त्यसका लागि १० लाख अमेरिकी डलर चाहिन्छ । त्यो रकम हाम्रो (नेदरल्याण्ड) सरकारले विकास सहायता मन्त्रालयमार्फत नेपाललाई दिन खोजिरहेको भए पनि त्यो काम हुन सकिरहेको रहेनछ । यस सम्बन्धमा विश्व बैङ्कले बुझिदिनु पर्‍यो ।

२.    प्राप्त पत्रका आधारमा बैङ्कका अध्यक्ष उल्फेनसोनले नेपालस्थित विश्व बैङ्कको कार्यालय प्रमुख डा. जो मानिकभाषगमलाई वास्तविकता बुझ्न लगाएछन् । डा. भाषगमले पनि आफ्नो कार्यालयका इञ्जिनियर सुरेन्द्र जोशीलाई वास्तविकता बुझ्न लगाएछन् ।

३.    इञ्जिनियर जोशीले जलवायु तथा मौसम विज्ञान विभागका सम्बन्धित उप महानिर्देशकसँग भेटेर च्छोरोल्पा तालको अवस्था र फुट्नबाट जोगाउन चालिएका कदमबारे कुराकानी गरेछन् । कुराकानीका आधारमा एउटा प्रतिवेदन बनाएछन् ।

प्रतिवेदन पढ्दा २०५४ सालको असार महिनाको दोस्रो हप्तादेखि साउन १६ (जुलाई १९९७) गतेसम्म तल्लो तटीय क्षेत्रमा आकस्मिक जानकारी दिने यन्त्र जडान गर्ने तयारी सरकारले गरिरहेको उल्लेख गरेको पाएँ । साथै त्यसका लागि आवश्यक प्राविधिक सहायता नेदरल्याण्ड सरकारसँग माग्नेबारेमा राष्ट्रिय योजना आयोगसँग कुराकानी भई सहमति प्राप्त भइसकेकाले निकट भविष्यमै सम्झौता हुने अपेक्षा गरिएको कुरा पनि उल्लेख थियो ।

यस्तै जोशीले आफ्नो प्रतिवेदनमा सरकारले हिमाल पावर कम्पनी लिमिटेडलाई बृटिश कोलम्बिया हाइड्रो कम्पनीसँग समन्वय गरी यन्त्र जडानसम्बन्धी विषयको सम्भाव्यता अध्ययन गराउने सोच बनाएको र यस कार्यका लागि आवश्यक रकम विश्व बैङ्कले उपलब्ध गराउन सक्दछ कि भनेर जलवायु तथा मौसम विज्ञान विभागले जिज्ञासा राखेको कुरा पनि समावेश गरेको पाएथें ।

४.    इञ्जिनियर जोशीले जलवायु तथा मौसम विज्ञान विभागसँग गरेको कुराकानीका आधारमा च्छो रोल्पाको वास्तविकता दर्शाउने गरी एक प्रतिवेदन तयार गरी आफ्ना कार्यालय प्रमुख डा. मानिकभाषगमलाई बुझाएछन् ।

५.    इञ्जिनियर जोशीले उपलब्ध गराएको प्रतिवेदनलाई डा. मानिकभाषगमले आफ्ना केही भनाइसमेत खामेर वासिङ्टन पठाइदिएछन् । आफ्नो भनाइमा डा. मानिकभाषगमले तालको संवेदनशीलता र शेर्पाहरूको जीवनप्रति नेपाल सरकार गम्भीर छैन भन्नेमा सत्यता छैन, विषय जसरी उठाइएको छ, त्यसमा कुनै ठेकेदार वा गैरसरकारी निकायको स्वार्थ लुकेको हुन सक्छ भन्ने उल्लेख गरेछन् ।

६.    इञ्जिनियर जोशीले तयार गरेको प्रतिवेदन र त्यसमा खामिएको मानिकभाषगमको मन्तव्यको आधारमा अध्यक्ष उल्फेनसोनले पत्र लेखेर युवराज अलेक्जेन्डरलाई तालको वस्तुस्थितिबारे लिखित जानकारी गराएछन् ।

समग्रमा च्छोरोल्पा त पुग्न पाइएन । तथापि विदेशीहरूले कमाउनका लागि जातीयता जस्तो सम्वेदनशील विषयलाई जोडेर गलत खबर कसरी सम्प्रेषण गर्दा रहेछन् भन्ने कुरा विश्व बैङ्कका वरिष्ठतम पदाधिकारी र नेदरल्याण्डका तत्कालीन युवराजबीच आदानप्रदान भएको दस्तावेज पढेर जान्न पाइयो । अहिले पनि यस्ता कुरा नभएका होलान् भन्न सकिन्न ।

(लेखक ढुङ्गेलद्वारा लेखिएको पुस्तक चक्रब्यूहमा नेपालको जलस्रोतबाट लिइएको एक अंश)

प्रतिक्रिया दिनुहोस्