काँग्रेस-एमाले बैठकमा मन्त्री हेरफेरबारे भएन छलफल

काँग्रेस-एमाले बैठकमा मन्त्री हेरफेरबारे भएन छलफल


काठमाडौँ । सत्तारुढ दुई दल नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचको छलफल सकिएको छ ।

बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघिमात्रै सकिएको हो ।

बैठकमा संसदमा विचाराधीन विधेयकहरू, कानुन संशोधनका विषयहरूबारे महान्यायाधिवक्ता रमेश बडालसँग छलफल भएको जनाइएको छ ।

स्रोतका अनुसार, आजको बैठकमा विशेष गरी कानून संशोधनकै विषयमा केन्द्रित भएर नेताहरूबीच छलफल भएको हो ।

मन्त्रिपरिषद् हेरफेरबारे भने बैठकमा छलफल नभएको स्रोतले बताएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, गृहमन्त्री रमेश लेखक, काँग्रेस उपसभापति पूर्णबहादुर खड्का र महान्यायाधिवक्ता बडाल सहभागी थिए ।