दिवंगत सुनिल थापाको अन्तिम झल्को ? ‘राम नाम सत्य’ को टिजर सार्वजनिक

दिवंगत सुनिल थापाको अन्तिम झल्को ? ‘राम नाम सत्य’ को टिजर सार्वजनिक


काठमाडौं । बहुप्रतिक्षित नेपाली फिल्म ‘राम नाम सत्य’ पर्दा भित्रको पर्दाको टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजर एक्सन, सस्पेन्स, प्रेम र थ्रिलले भरिएको देखिन्छ।   टिजरमा मुख्य अभिनेता विराज भट्ट लाई शक्तिशाली एक्सन अवतारमा प्रस्तुत गरिएको छ। फिल्ममा उनीसँगै अभिनेता सुशील श्रेष्ठ पनि आक्रामक र एक्सन लुकमै देखिएका छन्। दुवै कलाकारको दमदार उपस्थितिले फिल्मप्रति दर्शकको उत्सुकता झन् बढ्ने अपेक्षा गरिएको छ।

टिजरमा दिवंगत अभिनेता सुनिल थापा लाई पनि देख्न सकिन्छ। उनी फिल्ममा खतरनाक भिलेनको भूमिकामा प्रस्तुत भएका छन्। सम्भवत: यो उनको अन्तिम फिल्मसमेत हुन सक्ने बताइएको छ। किनकि, निधन हुनुअघि उनी यही फिल्मको सुटिङमा व्यस्त थिए। अन्तिम दृश्यको छायांकन बाँकी रहँदै घर फर्किएका थापाको सोही रात निधन भएको थियो।  फिल्ममा विराज, सुशील र सुनिलसँगै दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकारखुशी कार्की लगायत कलाकारको अभिनय रहेको छ। टिजरमा यी सबै कलाकारको झलक देख्न सकिन्छ।

फिल्मलाई निर्देशक माइकल चन्द ले निर्देशन गरेका हुन्। माइकल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस फिल्ममा उपेन्द्र शाहीस्वेता बिमली को लगानी रहेको छ। फिल्मको कथा तथा पटकथा पनि निर्देशक माइकल चन्दकै रहेको छ भने अभिमन्यू निरवी र समय थपलिया स्क्रिप्ट सल्लाहकारका रूपमा रहेका छन्। टिजर र ट्रेलर तयार पार्ने काम साहिल खानले गरेका हुन्। फिल्ममा समावेश ‘धागोले बाटेको’ बोलको गीत यसअघि नै दर्शकमाझ लोकप्रिय भइसकेको छ। यसैबीच, सार्वजनिक टिजरले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउने निर्माण पक्षको विश्वास छ।