Logo

पहिलो चरणको निर्वाचनको अन्तिम दिन,शीर्ष नेताहरु व्यस्त


काठमाडौं । पहिलो चरणको निर्वाचनको अन्तिम प्रचारप्रसारका लागि राजनीतिक दलका शीर्ष नेताहरू बिहीबार दिनभर व्यस्त हुने भएका छन् । निर्वाचनकै लागि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहिबार ६ नम्बर प्रदेशका विभिन्न जिल्ला जाँदै हुनुहुन्छ ।

सभापति देउवा चुनावीसभाको सम्बोधनका लागि रुकुम, रोल्पा र कालिकोट जाने कार्यक्रम रहेको छ । प्रधामन्त्री देउवा ती जिल्लाहरुमा आयोजित चुनावीसभामा सम्बोधन गरी साँझ काठमाडौं फर्कने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

त्यस्तै वाम गठबन्धनको संयुक्त चुनावी सभाको सम्बोधन गर्न नेकपा एमालेका शीर्ष नेताहरु पनि विभिन्न जिल्ला जाँदै छन् । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेल नुवाकोट जाने बताइएको छ ।

यता नेकपा माआमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने काठमाडौंमा छोरा स्व.प्रकाश दाहालको श्रद्धाञ्जलीसभा हुने भएकाले कुनै पनि चुनावीसभामा नजाने दाहालको सचिवालयले जनाएको छ । दाहाल पुत्रशोकमा परेपछि संयुक्त चुनावीसभामा माओवादी केन्द्रबाट नेता रामबहादुर थापा सहभागी हुने बताइएको छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई भने गृहजिल्ला गोरखामा नै हुनुहुन्छ । निर्वाचन ऐनअनुसार मतदातनको ४८ घन्टाअघिबाट मौन अवधि सुरु हुने भएकाले पहिलाे चरणमा निर्वाचन हुने ३२ जिल्लामा राजनीतिक दलहरुले बिहीबार राति १२ बजे भन्दा अगाडि मात्रै प्रचारप्रसार गर्न पाउने छन् ।

निर्वाचा आयोगका अनुसार मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा भने उम्मेदवार तथा दलहरुले प्रचारप्रसार गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्