असारभित्र प्रसारण लाइन नबने ३०० मेगावाट बिजुली जानेछ खेर

असारभित्र प्रसारण लाइन नबने ३०० मेगावाट बिजुली जानेछ खेर

विकास टाइम्स
54
Shares

काठमाडौँ ।

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको निर्माण अगामी असारभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको १२७ किलोमिटर डबल सर्किट प्रसारण लाइन आयोजना २ खण्डमा विभाजन गरी निर्माण भइरहेको छ ।

पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको ३९ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । पहिलो खण्डमा नै खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् ।

दोस्रो खण्डअन्तर्गत कुश्माबाट नयाँ बुटवल सबस्टेसनसम्मको ८८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । यस खण्डको निर्माण गरी आगामी असारभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।
यस खण्डमा पर्ने २३५ वटा टावरमध्ये पर्वतमा ३ वटा, पाल्पामा १ वटा, रुपन्देहीमा ५ वटा निर्माणाधीन छन् । निर्माण सम्पन्न भएका टावरमा तार तानिसकिएको छ ।

नवलपरासीको सुनवल नगरपालिका–१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको ४ सर्किट (मल्टिसर्किट) लाइनमा पर्ने १७ वटा टावर निर्माण सम्पन्न भइसकेको छ । ५.६ किलोमिटर मल्टिसर्किट लाइनमध्ये २.९ किलोमिटरमा तार तान्न बाँकी छ ।

बडेरा सामुदायिक वन उपभोक्ता समितिले व्यवस्थापन गरेको वन क्षेत्रमा पर्ने लाइन तान्नका लागि १ हजार १५० रूख कटान गर्नुपर्ने छ । मन्त्रिपरिषद्बाट वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रूख कटानका लागि स्वीकृति भइसकेको छ । वन तथा भू–संरक्षण विभागसँग सम्झौता गरी रूख कटान आदेश लिने प्रक्रियामा छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रुपन्देही, पाल्पा, देवदह र नवलपरासीमा निर्माणाधीन प्रसारण लाइन निर्माण स्थलको अनुगमन भ्रमण गरी असारभित्र सम्पन्न गर्ने गरी काम गर्नुपर्ने बताए ।

कार्यकारी निर्देशक घिसिङले नवलपरासीका प्रमुख जिल्ला अधिकारी, लुम्बिनी प्रदेश, वन निर्देशनालयका निर्देशकलाई छुट्टाछुट्टै भेटी राष्ट्रिय प्राथमिकता प्राप्त तथा अत्यन्तै महत्वपूर्ण लाइनको निर्माण सम्पन्न गर्न आवश्यक सहयोग र सहजीकरण गरिदिन अनुरोध गरे ।

‘यो लाइन असारभित्रमा निर्माण सम्पन्न भएन भने जलविद्युत् आयोजनाहरूबाट उत्पादित करिब ३०० मेगावाट विद्युत् प्रवाह गर्न नसकी खेर फाल्नुपर्ने अवस्था छ । यस्तो अवस्था आउनु प्राधिकरणका लागि मात्र नभई देशकै लागि घाटा हो,’ उनले भने, ‘निर्माण अन्तिम चरणमा पुगेको यस लाइनलाई सम्पन्न गर्न आवश्यक सहयोग र सहजीकरण गरिदिनुप‍र्‍यो ।’

आयोजना प्रमुख चन्दन घोषले निर्माणमा रहेका अधिकांश समस्या समाधान हुँदै गएकाले असारभित्रमा जसरी पनि सम्पन्न गर्ने लक्ष्यका साथ बाँकी काम भइरहेको बताए ।

कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब १ हजार २०० मेगावाट विद्युत् प्रवाह गर्न सकिन्छ ।