यांग्री र लार्केको पानी ल्याउन पूर्वतयारी धमाधम, अर्को वर्ष ठेक्का

यांग्री र लार्केको पानी ल्याउन पूर्वतयारी धमाधम, अर्को वर्ष ठेक्का


काठमाडौँ ।

मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणमा यांग्री र लार्केबाट पानी ल्याउन पूर्वतयारीको काम धमाधम अघि बढाइएको छ ।

आयोजनाका अनुसार मेलम्चीको १७ करोड लिटर पानी काठमाडौँबासीका धारामा झारिएलगत्तै दोस्रो चरणमा यांग्री र लार्के खोलाको १७/१७ करोड लिटर पानी फर्काउन आवश्यक तयारीको काम अघि बढेको हो ।

दोस्रो चरणमा यांग्री र लार्के खोलाको पानी फर्काउन सडक र पुल निर्माणको काम धमाधम अघि बढेको छ । कुल २४ किलोमिटर सडकमध्ये हालसम्म १३ किलोमिटर सडक निर्माणको काम सकिएको छ ।

‘मेलम्चीको दास्रो खण्डमा सडक र पुल निर्माणको काम हुँदै छ । ५० प्रतिशत सडक निर्माणको काम सकिएको छ,’ मेलम्ची आयोजना विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले विकास टाइम्ससँग भने, ‘जग्गाको मुआब्जा वितरणको काम भइरहेको छ ।’

सडक निर्माणको काम ३ चरणमा भइरहेको छ । ४ किलोमिटर सडक विभागबाट टेन्डर भई निर्माण सुरु भइसकेको छ भने १० किलोमिटर सडक निर्माणको काम सडक डिभिजन कार्यालय, दोलखाबाट भइरहेको छ । र, अन्तिम १० किलोमिटर सडक निर्माणको काम मेलम्ची आयोजना विकास समितिले नै गरिरहेको छ ।

हालसम्म जग्गाको मुआब्जाबापत १६ करोड रुपैयाँभन्दा बढी वितरण भइसकेको पन्तले बताए । कुल २० करोड मुआब्जामध्ये बाँकी मुआब्जा वितरणको काम अघि बढिरहेको उनको भनाइ छ ।

१ वर्षभित्र सडक, पुल र मुआब्जालगायत काम सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । सडक र मुआब्जा वितरणको काम सकिएपछि अर्को वर्ष ठेक्का आह्वान गर्ने तयारी गरिएको पन्तले बताए ।

‘सडक, पुल र मुआब्जालगायत काम अहिले भइरहेका छन् । १ वर्षभित्र ती काम सकेर अर्को वर्ष ठेक्का लगाउने तयारी छ,’ उनले बताए । यांग्री र लार्के खोलाबाट क्रमशः ९ र २ किलोमिटर गरी ११ किलोमिटर सुरुङ निर्माण गरिनेछ ।

दुवै खोलाको पानी मेलम्चीमा फर्काइनेछ । दोस्रो चरणमा यांग्री र लार्केको पानी मेलम्चीमा फर्काउन कुल २० अर्ब रुपैयाँ लाग्ने लाग्ने अनुमान गरिएको थियो । तर, पहिले बनाइएको डिजाइन ‘रिभ्यु’ गर्नुपर्ने हुँदा घटबढ हुन सक्ने जनाइएको छ ।

त्यस क्षेत्रमा अघिल्लो वर्ष बाढी र पहिरोका कारण मेलम्ची नदीको मुहानमा क्षति पुगेको थियो । जसका कारण केही समय काठमाडौँमा मेलम्चीको पानी आउनसमेत रोकिएको थियो । बाढी, पहिरोलगायतले आयोजनामा पारेको क्षतिका कारण लागत बढ्न सक्ने देखिन्छ ।

दोस्रो चरणमा हेडवक्र्स निर्माणका लागि आवश्यक पर्ने पुँजी आन्तरिक नै जुटाउने कि वैदेशिक स्रोत लिने भन्ने विषय टुंगिन बाँकी रहेको पन्तले बताए ।