कडा चट्टान भेटिएपछि मुख्य टनेलको काम सुस्त

कडा चट्टान भेटिएपछि मुख्य टनेलको काम सुस्त

साउनभित्र टनेल खनिसकिने, असोजदेखि गुड्नेछन् गाडी


काठमाडौँ ।

आगामी साउन मसान्तभित्र नागढुंगा सुरुङ मार्ग आयोजनाको मुख्य टनेल खन्ने काम सकिने भएको छ । सडक विभागका अनुसार सुरुङ खन्ने क्रममा अहिले कडा चट्टान क्षेत्र परेकाले टनेल खन्ने काम केही सुस्त छ ।

कुल २ हजार ६८८ मिटर लामो सुरुङमध्ये हालसम्म २ हजार १६ मिटर टनेल खनिसकिएको आयोजनाले जनाएको छ । त्यस्तै, समानान्तर रूपमा जाने आकस्मिक (इमरजेन्सी) टनेल २ हजार ५५७ मिटरमध्ये २ हजार ५२ मिटर खनिसकिएको छ ।

बाँकी ६ सय मिटर मुख्य टनेल खन्ने काम भइरहेको विभागका प्रवक्ता रामहरि पोख्रेलले विकास टाइम्सलाई जानकारी दिए । आगामी असारसम्म सम्पन्न गर्ने लक्ष्य लिइए पनि टनेलमा कडा चट्टानसहितको माटो आएकाले काम केही सुस्त रहेको उनले बताए ।

उनका अनुसार साउन मसान्तभित्र मुख्य टनेल खन्ने काम सकिने बताए । ‘अब ६ सय मिटर मुख्य टनेल खन्ने काम बाँकी छ । बीचमा केही कडा माटो र चट्टान आइरहेकाले टनेल खन्ने काम सुस्त छ,’ उनले भने, ‘यही गतिले काम भइरहेमा असार होइन, साउनभित्र मुख्य टनेलको काम सकिन्छ ।’

परियोजनाले पाएको ३ महिना म्याद थपको अवधि आउँदो असार मसान्तमा सकिँदै छ । मुख्य टनेलको काम साउनभित्र सम्पन्न गर्ने र असोज मसान्तसम्म आयोजनाको सम्पूर्ण काम सकेर यातायात सञ्चालन गर्ने योजना छ । यद्यपि, असारपछि आयोजनाले ३ महिना म्याद थपका लागि प्रस्ताव गरिसकेको छ ।

४२ महिनाभित्र निर्माण सक्ने गरी २०७६ साल कात्तिक २६ गतेदेखि सुरुङमार्गको औपचारिक निर्माण सुरु भएको थियो ।

सुरु सम्झौताअनुसार सन् २०२३ अप्रिल अर्थात् यही चैतसम्म परियोजना सम्पन्न गर्नुपर्ने थियो । तर, कोरोना महामारीलगायत कारण परियोजनाको काम अघि बढ्न पाएन । कोभिड–१९ ले परियोजनालाई थप ६ महिना पछि धकेल्यो । तथापि, तोकिएको समयभित्र नसकिने भएपछि थप ३ महिना म्याद थप गरिएको थियो ।

स्थानीयको अवरोध, कोरोना महामारीलगायत कारणले परियोजना केही पछि धकेलिन पुगेको उनी बताउँछन् ।

सुरुङमार्गमा जापानिज कम्पनी हाज्माहान्दो जेभीले काम गरिरहेको छ । जापान सहयोग नियोग (जाइका) को १६ अर्ब रुपैयाँ ऋण सहयोग र नेपाल सरकारको ६ अर्ब रुपैयाँ गरी परियोजनाको कुल लागत २२ अर्ब रुपैयाँ अनुमान गरिएको थियो ।