पानी कुर्दै बित्छ दिन

पानी कुर्दै बित्छ दिन


रामेछाप ।

झिसमिसेमा गाग्री बोकेर घरबाट निस्किन्छिन्– अञ्जली अछामी । आँखा मिच्दै भुमेथान गैरामा पुग्ने अञ्जलीको भुमेथान गैरामा पानीको पालो कुर्दै बित्छ दिन ।

एसइईको परीक्षा दिएर बसेकी अञ्जलीको दिनचर्या पानीमै बित्ने गरेको छ । पानीकै कारणले धेरै दिन पढ्न जानसमेत नपाएको गुनासो छ– अञ्जलीको । भुमेथान गैराको धारामा राति ३ बजेदेखि लाइनमा पालो कुर्दै बस्छन् मन्थली नगरपालिका–१२, गेलुका नागरिक ।

गेलु सिक्राल स्थित भुमेथान गैरामा पानीको अभावले स्थानीय व्याकुल छन् । ‘नभए पानी, छैन जिन्दगानी’ । त्यसैले त गेलुका नागरिक पानीकै लागि आफ्नो अमूल्य समय खर्चिन्छन् । भविष्यका कर्णधार लालाबालाको पढाइसमेत बिगार्न पछि पर्दैनन्- त्यही पिउने पानीको जोहो गर्नका लागि ।

पानीको मुहान गाउँभरि कतै नहुँदा स्थानीय सिमलबोटे कालिकादेवी ढुंगेधारासम्म पुग्छन् । बस्तीबाट त्यहाँ पुग्न आधा घन्टा हिँड्नुपर्ने अञ्जली बताउँछिन् । ‘एसइईको रिजल्ट आएपछि म पढ्न जानुपर्ने । यो धारामा पानी थाप्न लाइन पनि बस्नुपर्ने । पानी थाप्न बस्ने कि पढ्न जाने दोधारमा छु,’ अञ्जली भन्छिन्, ‘रातिदेखि कुरेर थापेको पानी डोकोमा बोकेर के–केलाई पु¥याउनु ?’

बोकेको पानीले नुहाउन, कपडा धुन, गाईबस्तुलाई खुवाउन पर्याप्त हुँदैन । पानीकै कारणले पढ्न, होमवर्क गर्न पनि नपाइने उनको गुनासो छ । ‘स्थानीय सरकारले पानीको सहजता बनाइदिए हामीजस्ता स्कुले केटाकेटीलाई आनन्दले पढ्ने वातावरण बन्ने थियो,’ उनले भनिन् ।

घरमा पानी नहुनु, पानी लिनलाई आएपछि एक बिहान, दिनै बित्नु नौलो कुरा होइन । अञ्जली त प्रतिनिधि पात्र मात्र हुन् । अञ्जलीजस्ता धेरै किशोर–किशोरीको साझा समस्या हो यो । कुरेर बसेको धारामा समेत कहिले पानी आउँदैन । पानीकै कारणले धेरैको पढाइसमेत बिग्रेको छ ।

१–२ घर होइन, गेलुका करिब ८० घरधुरीले गाग्रोमा पानी बोकेरै जीवन निर्वाह गर्दै आएका छन् । वडाले पुरानो ढुंगे धारालाई पुनर्निर्माण गरेर नयाँ बनाएको छ ।

मन्थली नगरपालिका–१२ का वडाध्यक्ष खिलेन्द्र खत्री भन्छन्, ‘पानीको मुहान नै छैन । अहिलेलाई जल्केनी र काउलेबाट पानी ल्याएर थोरै भए पनि राहत भएको छ । यो वैशाख र जेठमा त हाहाकार नै हुन्छ पानीको । मुहान भए जसरी पनि पानी खुवाउने चाहना त छ, तर भएको मुहानसमेत सुकिसक्यो ।’

मन्थली नगरपालिकाको ‘एक घर, एक धारो’ अवधारणाअनुसार घरघरमा धारो बनेको छ । तर, घरमा धारो हेरेर बस्न बाध्य छन् सिक्रालका नागरिक । स्थानीय मैया अछामी भन्छिन्, ‘एक घर एक धारो पनि पानीको अभावमा प्रयोगविहीन छ । हामीलाई घरघरमा धाराधारामा पानी व्यवस्था गर्छौँ भन्नेको कार्यकाल सकियो । नयाँ वडाध्यक्ष, मेयर आए । तर हाम्रो समस्या ‘ज्यूँका त्यूँ’ भयो ।’

मैयाले थपिन्, ‘पानीकै कारण समुदायमा झगडासमेत पर्छ । झगडा गरे पनि घरमा पानी नभएको बेला छिमेकीकोबाट सापटी मागेर काम चलाउनुपर्छ । पानी मागेर भोलि ल्याइदिन्छु भनेर कति खाइयो, खाइयो । हिसाब नै छैन ।’

पाहुना आँउदा खाना दिन सकिन्छ तर पानी हुँदैन । पिउन पानी, पकाउन पानी, गाई, भैँसीलाई पानी, चर्पीमा पानी ! पानीमै सकिने भयो जिन्दगानी । केटा–केटीलाई स्कुलमा पनि पानी पठाउनैप¥यो । एक दिनमा ९÷१० गाग्रो पानी अनिवार्य चाहिन्छ । धित मर्ने गरी पानीको प्यास मेटाउन समेत पाइँदैन । यस्तै पीडामा छन् स्थानीय ।

‘पहिले–पहिले त आकाशे पानी पथ्र्यो । अब त पानी पर्न पनि छाड्यो । बोकेर लगेको पानीले के–के पो गर्नु र ?,’ उनले दुखेसो पोखिन्, ‘हिउँदेयाम सुरु भएलगत्तै खानेपानीकै चिन्ता हुन्छ । हाम्रो बस्तीमा वर्षा नहुँदासम्म खानेपानीको समस्या हुन्छ । वर्षातमा बलेसीको पानीले जोहो गर्दै आएका छौँ ।’

हिउँदमा नजिकको कुवामा पनि पानी सुक्ने भएकाले टाढाको मुहानबाट ठुलो ग्यालेन र गाग्रोमा पानी बोक्नुपर्ने बाध्यता छ । गाउँमा खानेपानीको सुविधा नहुँदा घरको एक जनाले खानेपानीका लागि खटिनुपर्ने बाध्यता छ ।

‘पानी बोक्दा–बोक्दा टाउको खुइलिसक्यो । तर, हाम्रो समस्या कसैले हेरेनन् । हामीले खानेपानीका लागि बर्सेनि भौँतारिनु परेको छ,’ मैया भन्छिन्, ‘गाउँमा खानेपानीको अभाव हुँदा यहाँका महिलाले बढी समस्या भोग्नुपरेको छ ।’

अधिकांश परिवारको पानीको जोहो गर्ने जिम्मा महिलाको भएकाले खानेपानीको अभाव हुँदा अरूलाई भन्दा महिलालाई बढी समस्या हुने गरेको छ ।

सो ठाउँका नागरिकलाई पिउने पानी व्यवस्थापनका लागि लिफ्ट खानेपानी योजना सञ्चालनमै रहेको वडाध्यक्ष खत्रीले बताए ।

खत्री भन्छन्, ‘यो योजना क्रमागत योजना हो । पानी घरघरसम्म पुग्न समय त लाग्छ ।’

मुहान पहिचान भए लिफ्ट खानेपानी योजना आउनुअघि त्यहाँका नागरिकलाई पानी खुवाउने जिम्मेवारी आफ्नो रहेको मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठ बताउँछन् ।

श्रेष्ठ भन्छन्, ‘स्थानीय सरकार भएको हैसियतले नागरिकलाई परेको समस्या सुल्झाउने जिम्मा हाम्रो हो । वडाले मुहान पहिचान गरी योजना माग गरेमा नगरपालिकाले बजेट व्यवस्थापन गर्छ ।’