विकासका नाममा प्रकृति र सम्पदाकाे सत्यानाश

विकासका नाममा प्रकृति र सम्पदाकाे सत्यानाश


बुटवल ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपीपलका चौतारा तथा यात्रु प्रतीक्षालय मासिएका छन् । पूर्वपश्चिम राजमार्ग निर्माणको बेला बाटोको दुवैतर्फ किनारमा रहेका चार सयभन्दा बढी वरपीपलका रुख, चौतारा तथा यात्रु प्रतीक्षालय अहिले चार लेन सडक विस्तार सुरु भएसँगै मासिएका हुन् ।

नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर धीरज ढकालले पूर्वी खण्डको ६५ किलोमिटर क्षेत्रमा चार सय दुईवटा वरपीपलका रुख काटिएको जानकारी दिए ।

‘चार लेनको सडक विस्तारको काम सुरु भएसँगै हामीले सडक किनारका रुखबिरुवा तथा भौतिक संरचना हटाउन सुरु गरेका थियौँ’, उनले भने, ‘पूर्वी खण्डमा मात्रै दुई सय ५७ वटा पीपल र एक सय ४५ वटा बरका रुख काटिएका छन्, भत्किएका प्रतीक्षालयको तथ्याङ्क राखिएको छैन ।’ यस सडकखण्डमा हरेक चोक तथा चौराहामा वरपीपलका रुखमा चौतारा तथा प्रतीक्षालय निर्माण भएका थिए ।

यस सडक भएर यात्रा गर्ने यात्रुहरूले प्रतीक्षालय तथा चौतारीका कारण कुन ठाउँ पुग्यौँ भनेर सहजै थाहा पाउने गरेको भए पनि अहिले ठाउँ ठम्याउनै मुस्किल पर्ने गरेको कावासोती–१६ डण्डाका ७० वर्षीय सूर्यनाथ बरालले बताए ।

‘हामी पहिले नाराणगढ–बुटवलको बाटो धेरै यात्रा गर्‍यौँ’, उनले भने, ‘सडक किनारमा रहेका वरपीपलका चौतारा तथा चोकमा निर्माण गरिएका प्रतीक्षालय देखेर कहाँ पुग्यौँ भनेर सहजै थाहा पाउँथ्यौँ ।’ सडक विस्तारका क्रममा वरपीपलका चौतारा मासिँदा यस सडक भएर यात्रा गरे पनि कुन ठाउँ पुगियो भनेर अलमलमा पर्ने गरेको बरालको भनाइ छ ।

‘चोक तथा सडक किनारमा रहेका चौतारा र प्रतीक्षालयमा सवारीसाधन कुरेर बस्न पाइन्थ्यो’, उनले भने, ‘सडक विस्तारसँगै ती संरचना मासिएपछि अहिले चर्को घाममा बसेर सवारीसाधन कुर्नुपर्ने बाध्यता छ ।’ पहिले धार्मिक आस्थाका कारण सडक किनारमा रोपेर हुर्काइएका वरपीपलका चौतारी लामो बाटो हिँडेर आएका बटुवालाई थकाइ मार्न सहज हुने गरेको उनको भनाइ छ ।

‘ती चौतारा गाउँ–समाजमा भएका विवाद, झैँ–झगडा तथा समस्या मिलाउन भेला हुने थलोका रूपमा प्रयोग हुन्थ्यो । तर अहिले बाटो विस्तारसँगै सबै मासिएर गए, यसको संरक्षणमा कसैको पनि ध्यान पुगेन’, उनले भने ।

सडक किनारमा रहेका वरपीपलका चौतारी तथा प्रतीक्षालय मासिँदा अबका पुस्ताले चौतारी नै देख्ने नपाउने हुन् कि भन्ने चिन्ता गैँडाकोट–८ का शालिकराम सापकोटालाई लागेको छ ।

सडक विस्तारका कारण चौतारी धमाधम मासिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै व्यवसायी सापकोटाले चौतारी तथा प्रतीक्षालयलाई पायक पर्ने स्थानमा पुनःनिर्माण गर्नुपर्ने बताए ।

विकासको नाममा हुने यस प्रकारको विनाशको तत्काल विकल्प खोजिनुपर्ने र धार्मिक आस्थासँग जोडिएको वरपीपलको चौतारीलाई पुनः अन्य सार्वजनिक स्थानमा स्थानान्तरणसँगै संरक्षण गर्नुपर्ने सापकोटाको भनाइ छ ।

बढ्दो मानव बस्ती र फैलिँदो सडक सञ्जालको चेपुवामा पुराना चौतारा परेका सापकोटाको भनाइ छ । स्थानीय तहका प्राथमिकताका विषयमा ग्रामीण क्षेत्रको मौलिकता र पहिचान बचाउने काम समेटिनुपर्ने भए पनि उनीहरूको चासो कम देखिएको सापकोटाले बताए । धार्मिक आस्थासँगै अक्सिजन र औषधिका लागि महत्त्वपूर्ण मानिने वर–पीपलका रूख सडक विस्तारका क्रममा संरक्षण नहुँदा गाउँघरबाटै लोप हुने अवस्थामा पुगेका उनको भनाइ छ ।

अन्य ५० रुखबाट प्राप्त हुने अक्सिजनको मात्रा पीपलको एउटै रूखले दिने र जरादेखि पातसम्मको भाग ४२ प्रकारका औषधिमा प्रयोग हुने आयुर्वेद चिकित्सकहरू बताउँछन् । वरपीपलको जरा धेरै टाढासम्म फैलने भएकाले बाढीपहिरो नियन्त्रणमा यस्ता ठुला रुखहरूले महत्त्वपूर्ण सहयोग पुर्याउने भूगर्वविद्हरूको भनाइ छ । पहिले गाउँमा मानिसहरूले धर्म कमाउन पोखरी खन्ने तथा वरपीपलका बिरुवा रोप्ने गरेका धार्मिक अभियान्ता आचार्य लक्ष्मण भण्डारीले बताए ।

‘अघिल्लो पुस्ताले पुण्य हुने भन्दै सार्वजनिक स्थानमा वरपीपल रोपेर चौतारी बनाउने चलन थियो’, उनले भने, ‘विकासका गतिविधिसँगै बैदिक धर्म मासिन थाल्यो, गाउँका पोखरी र वरपीपल पनि हराउँदै गए ।’ रोप्ने र संरक्षण गर्ने पाका पुस्ताको अभावमै वरपीपल सङ्कटमा पर्न थालेको आचार्य भण्डारीले बताए ।

‘सहरीकरणका कारण ठुला–ठुला र घनावृक्ष रोप्न नसकिए पनि गाउँघरमा समेत वरपीपलका रुख नरोपिनु, नहुर्काइनु राम्रो होइन’, उनले भने, ‘चौतारी भत्काइनु, पोखरी पुरिने ढुंगेधारा कुवाजस्ता जलस्रोतको संरक्षण नगरिनु बडो चिन्ताको विषय हो ।’

हाम्रो पुरातन चौतारी, पोखरी तथा देउरालीको संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा भण्डारीले जोड दिए । परिवर्तनको संघारमा उभिएको वर्तमान समाजले परिवर्तनको नाममा युगौँदेखि चलिआएका सनातन चालचलन र पद्धतिलाई बिगार्न नहुने उनको भनाइ छ ।