सम्झौता गर्दै बेपत्ता हुन्छन् ठेकेदार, ५ पटक म्याद थप्दा पनि सकिएन काम

सम्झौता गर्दै बेपत्ता हुन्छन् ठेकेदार, ५ पटक म्याद थप्दा पनि सकिएन काम


काठमाडौँ ।

साढे २ दशकअघि ट्र्याक खुलेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे खण्ड अहिलेसम्म कालोपत्र हुन सकेको छैन ।

२०७३ सालमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भई हालसम्म ५ पटक म्याद थप्दा पनि उक्त सडक कालोपत्र हुन नसकेको हो ।

निर्माण कम्पनीले पटक–पटक म्याद थप्दै काम नगर्दा यहाँका स्थानीय मर्कामा परेका छन् । यस खण्डअन्तर्गत पर्ने २५ किलोमिटरमध्ये हालसम्म १४ किलोमिटर मात्रै कालोपत्र भएको छ ।

वर्षौँदेखि सडक कालोपत्र नहुँदा सडक वरपरका स्थानीय र यात्रुले हिउँदमा धुलो र बर्खामा हिलोका कारण सास्ती भोग्दै आएका छन् । सडकका कारण काठेखोला गाउँपालिका–५ र ६ का दर्जनौँ स्थानीय विस्थापितसमेत भएका छन् ।

२०७३ सालमा सम्झौता गरेर कालोपत्रका लागि २ निर्माण कम्पनीलाई जिम्मा दिइएको लोकमार्ग कार्यालयले जनाएको छ । कार्यालयका अनुसार माथिल्लो बिहुँ खण्डमा कालोपत्र गर्न एपिएस सिएफ इसिसी जेभी र तल्लो खण्डको भरत सिद्धिशाही जेभीले जिम्मा लिएको थियो ।

माथिल्लो खण्डमा काम गर्ने म्याद असार ५ गते र तल्लो अक्षते खण्डको असार २० गतेसम्म छ । बिहुँ खण्डमा निर्माण कम्पनी बेला–बेला सम्पर्कविहीन हुँदा काम हुन सकेको छैन ।

सडकमा काम गर्ने मजदुर र उपकरण निकै न्यून हुँदा असार अन्तिमसम्म काम सक्ने सम्भावना नरहेको मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका इन्जिनियर पवन सुवेदीले बताए ।

उनका अनुसार तल्लो खण्डअन्तर्गत बागलुङ बजारदेखि अक्षतेसम्म कालोपत्र गर्ने र सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने काम भएको छ ।

‘घोडाबाँधेदेखि गलकोट हटियासम्मको सडक भने १ दशकपहिले नै कालोपत्र भएको थियो । बाढी–पहिरोका कारण उक्त खण्डमा अहिले मर्मत सम्भार हुँदै छ । मर्मतको काम तीव्र रूपमा भइरहेको छ,’ उनले भने ।

समयमै काम गर्न निर्माण व्यवसायीलाई ताकेता गरे पनि अटेरी गरिरहेको इन्जिनियर सुवेदीले बताए । निर्माण व्यवसायीले काम नगर्दा यात्रुले दुःख पाउनुका साथै आफूहरूलाई पनि समय–समयमा दबाब आइराख्ने उनको भनाइ थियो ।

हालसम्म निर्माण कम्पनीले पाँचौँ पटक म्याद थपेको इन्जिनियर सुवेदीले बताए । गत पुसमा निर्माण कम्पनी सम्पर्कविहीन भएको र कार्यालयले ठेक्का किन नतोड्ने भनी सूचना प्रकाशन गरेपछि सम्पर्कमा आएर काम गर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिए ।

त्यसबेला काम सुरु गर्ने भने पनि अहिलेसम्म कामलाई निरन्तरता दिन नसकेको भन्दै असार २० गतेसम्म काम सम्पन्न नभए ठेक्का सम्झौता रोक्ने र विकल्प खोजिने सुवेदीले बताए ।

‘निर्माण कम्पनीका कारण सबैलाई समस्या भएको छ । यतिका समय भयो ठेक्का सम्झौता भएको, तर काम हुँदैन । कार्यालयबाट हुने जति सबै सहयोग गरेका छौँ, काम गरे जतिको भुक्तानी पनि भएको छ, तर काम हुँदैन,’ उनले भने ।

इन्जिनियर सुवेदीका अनुसार हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको छ । तल्लो खण्ड ८ किलोमिटर र माथिल्लो ६ किलोमिटर सडकमा काम भएको इन्जिनियर सुवेदीले बताए ।

‘म्याद हुँदाहुँदै ठेक्का तोड्न लागियो भने निर्माण कम्पनीले अदातलमा मुद्दा हाल्ने सम्भावना भएकाले म्यादसम्म पर्खनुपर्नेछ । म्याद सकियो भने बोलपत्रबाट नयाँ प्रक्रिया अगाडि बढ्छ, असारको २० गतेसम्म काम सक्ने सम्भावना कम छ,’ उनले जानकारी दिए ।

स्थानीय कृष्णप्रसाद कँडेलले सम्बन्धित निकायले चासो नदिँदा ठेकेदार कम्पनीले काम गर्न आलटाल गरिरहेको बताए । उनले २५औँ वर्षदेखि सडक छेउमा घर भएका नागरिकले सडकको हिलो र धुलो पन्छाएर दिन बिताउने गरेको गुनासो पोखे ।

‘जब बर्खा लाग्छ, तब मेसिन लिएर काम गरे जस्तो गर्ने, १० दिनपछि कामदार र ठेकेदार नै हराउने गर्छन्,’ उनले भने ।

सुरुमा सडक आउँदा निकै खुसी लागेको स्थानीय कँडेलको भनाइ थियो । उनले सडकले सुविधा दिने, जनजीवन फेरिने, व्यापार व्यवसाय गर्न सहज हुने स्थानीयको आशा निराशामा बदलिएको भन्दै हिलो र धुलोका कारण स्वास्थ्यमा समेत समस्या आउन थालेको बताए ।

‘सडक छेउका कतिपय स्थानीय वर्षौँसम्म सडक कालापत्र हुन नसक्दा विस्थापित हुन बाध्य भएका छन् । ‘कतिपय ठाउँमा सडक कालोपत्र भएर भत्कियो, फेरि कालोपत्र गर्ने बेला हुन लाग्यो, यहाँको अवस्था यस्तो बिजोग छ,’ कँडेलले भने ।

लोकमार्गको कुल १ हजार ७७६ किलोमिटरमध्ये बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ । हालसम्म १३१ किलोमिटर सडक कालोपत्र भइसकेको छ ।

सडकको दुरवस्था हुँदा दुर्घटनाको जोखिम बढेको चालक रेमबहादुर विकले बताए । ठाउँठाउँमा ठुल्ठुला खाल्डाखुल्डी हुँदा गाडी बिग्रिरहने र यात्रा गर्नै कठिन हुने उनले गुनासो पोखे ।

विकले भने, ‘यो बाटोमा गाडी चलाउन थालेको १०÷१२ वर्ष भइसक्यो, यो अवधिमा सयौँ पटक सडकका कारण गाडी बिग्रियो, गाडी बिग्रिँदा लाखौँ रुपैयाँ खर्च भयो । धेरै पटक दुर्घटनाबाट बचियो, हरेक वर्ष बाटो राम्रो बनाउला जस्तो गर्छ, तर अलिअलि काम गरेर छोड्छ, हामी त हैरान भइसक्यौँ, के गर्ने जसरी पनि गाडी चलाउनैपर्‍यो ।’