न किसानले धान रोप्न पाए, न जाेखिमरहित यात्रा गर्न

न किसानले धान रोप्न पाए, न जाेखिमरहित यात्रा गर्न


काठमाडौँ ।

मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको तम्घास–सिमलटारी सडकखण्डको काम समयमा नहुँदा स्थानीय बासिन्दा र सो सडकका उपभोक्ता मारमा परेका छन् ।

सो सडकखण्डमा पर्ने अरादी खोलामा पक्की पुल बनाउने भनेर काम थालेको ७ महिना बित्यो । तर, अहिलेसम्म पुलका लागि खाल्डो खनेर धराप बनाउनेबाहेक कुनै काम भएको छैन ।

सो पुल निर्माणको ठेक्का सुनिल समीर निर्माण सेवा प्रालिले पाएको छ । पुलको पिलर हाल्ने ठाउँमा सिँचाइ कुलोको बाँध छ । घम्मु–राहाले–छिन्ना सिँचाइ कुलोबाट ६०० रोपनी खेतमा सिँचाइ हुँदै आएको थियो । तर, अहिले सो कुलोमा पानी बग्दैन ।

घम्मु फाँट, राहाले फाँट र छिन्ना फाँटमा २ बाली धान र १ बाली गहुँ, मकै, फापर, आलुलगायत उब्जनी हुने गरे पनि कुलोको बाँध भत्काएका कारण सो क्षेत्रको जग्गा अहिले बाँझै छ ।

पुल निर्माण गर्दा कुलोमा असर नपुगोस् भनेर स्थानीयले खबरदारी पनि गरेका थिए । त्यतिबेला ठेकेदार कम्पनीका नारायण पोख्रेलले चैते धान रोप्ने बेलासम्म जसरी पनि सिँचाइ हुने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए ।

तर, कम्पनीले बाँध भत्काएर काम सुरु गर्‍यो । न पिलरको काम सकेर कुलो फर्काइदियो, न त वैकल्पिक व्यवस्थामा चासो दियो ।

ठेकेदारको बद्मासी यतिमै सीमित छैन । पुलको काम सुरु गर्दा बनाइएको डाइभर्सनमा परेका जग्गाधनीले लगाएको अन्नबालीको मुआब्जा दिने बताएको थियो । आफैँ हिँड्ने पुल बन्छ भने किन केही समयका लागि डाइभर्सन बनाउन नदिने भनेर किसानले आफूले लगाएको बाली मासेर दिए पनि त्यसबापत दिने भनेको रकम नपाएको स्थानीय खिमानन्द भण्डारीले बताए ।

निर्माण स्थलको अर्कातर्फ रहेको हुलाके बजारतर्फ पनि खाडल खनिएको छ । तर, पिलर हाल्नु त परको कुरा खाडल पनि पूरा भएको छैन ।

‘बर्खा लागिसक्यो, बजार पूरै जोखिममा छ,’ स्थानीय एक व्यापारीले भने, ‘पोहोर पनि यो खोलाले कटान गरेर क्षति पुर्‍यायो । यसपालि काम त सुरु भयो, तर कहिले सकिने हो, थाहा छैन ।’

सोही निर्वाचन क्षेत्रबाट पटक–पटक सांसदमा निर्वाचित भएका गोकर्ण विष्टले निर्वाचनका बेला असारसम्ममा पक्की पुल निर्माण भइसक्ने आश्वासन दिएको स्थानीय बताउँछन् ।

तर, चुनाव जितेपछि बोलेको कुरा उनले पनि बिर्सिएको स्थानीय र यातायात मजदुर बताउँछन् । एक गाडी चालकले गुनासो गरे, ‘यस्तै अवस्था रहे बर्खामा त गाडी कुदाउन सकिएला जस्तो छैन ।’

चैते धान रोप्न नपाएका किसान बर्खे धानको ब्याड राख्ने बेलासम्म पनि कुलो नबनेपछि सिँचाइको व्यवस्था गरिदिन भन्दै परियोजना कार्यालयमा धाइरहेका छन् ।

स्थानीय खिमानन्द भण्डारीका अनुसार कुलो सञ्चालन गरिपाउँ भनी मदन भण्डारी राजमार्ग परियोजनामा जेठ ७ गते किसानहरूले निवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालय र सिँचाइ डिभिजन कार्यलयलाई बोधार्थसहित दिइएको निवेदनबारे सुनुवाइ नभए आफूहरू विद्रोहमा उत्रिने किसानहरू बताउँछन् ।

‘हामी किसानहरूलाई यो अवस्थामा पुर्‍याउने ठेकेदार कम्पनीका नारायण पोख्रेललाई फोन गर्दा नउठाउने, उठाइहाले मिटिङमा छु भन्ने गरिरहेका छन्,’ अगुवा किसान सुमन्त भण्डारीले भने । म धुर्कोटको हुनेवाला मेयर हुँ भनेर राजनीतिक धाक देखाउँदै काम नगर्ने गरेको स्थानीय मित्रलाल भण्डारीको आरोप छ । पोख्रेल नेकपा एमाले निकट निर्माण व्यवसायी हुन् ।

अधिकांश कुमाल जातिको बसोबास रहेको यस स्थानमा धेरैजसोले अधियाँ गरेर गर्जो टार्ने गरेका छन् । यस पटक सिँचाइको अभावमा खेती गर्न नपाउँदा परिवार पाल्न मुस्किल परेको र वर्षे धान पनि रोप्न नपाए अनिकाल लाग्ने अधियाँ खेती गरेर परिवार पालिरहेका एक किसान बताउँछन् ।

यता, हुलाके बजारका व्यापारी र बासिन्दा आकाशमा कालो बादल हेर्दै त्रासमा बस्नुपर्ने अवस्था छ ।

सोही निर्माण कम्पनीले २ किलोमिटर अगाडि रोदी खोलामा पनि पुल निर्माण गरिरहेको छ । त्यहाँको काम पनि अत्यन्तै सुस्त गतिमा रहेको स्थानीय बताउँछन् ।