‘निजी क्षेत्र विद्युत् व्यापारका लागि तयार छ, सरकारले बाटाे खाेलिदेओस्’

‘निजी क्षेत्र विद्युत् व्यापारका लागि तयार छ, सरकारले बाटाे खाेलिदेओस्’


काठमाडौँ ।

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले निजी क्षेत्र विद्युत् व्यापारका लागि तयार भइसकेकाले सरकारले बाटो खोलिदिनुपर्ने बताएका छन् ।

इपानको आज सुरु भएको २१औँ साधारणसभाको उद्घाटन सत्रमा उनले ‘नेपालको पानी, समृद्धिको खानी’ भन्ने नारासहित नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको धेरै ठ’लो लगानी भइसकेको पनि बताए।

जुनसुकै मुलुकको आर्थिक समृद्धिको आधार ऊर्जा नै रहेको र सबै देशले प्राप्त स्रोतलाई अधिकतम उपयोग गरिरहेकाले नेपालले पनि आफ्नो स्रोतको उच्चतम उपयोग गर्नुपर्ने अध्यक्ष आचार्यको भनाइ छ ।

‘पछिल्लो समयमा कार्बन उत्सर्जन घटाउने विश्वव्यापी चासोको विषय छ । कार्बन घटाउने क्षमता भएको मुलुक नेपाल हो । नेपालमा क्लिन इनर्जीको धेरै सम्भावना छ । हाइड्रो, सौर्य सबै ऊर्जाको सम्भावना छ,’ अध्यक्ष आचार्यले भने।

नेपालको विद्युत् जडित क्षमता करिब तीन हजार मेगावाट पुग्दा, पाँच हजार मेगावाट क्षमताका आयोजना निर्माणाधीन, ११ हजार मेगावाट क्षमताका आयोजना विद्युत् खरिद सम्झौता (पिपीए) को पर्खाइमा र अध्ययनको चरणमासमेत रहेका आयोजना जोड्दा २५ हजार मेगावाटका आयोजना विभिन्न चरणमा रहेको अध्यक्ष आचार्यले तथ्यांक सुनाए ।

खपत बढाउनु भने चुनौती रहेको जानकारी दिँदै उहाँले औद्योगिक, सिँचाइ, विद्युतीय चुल्हो र विद्युतीय गाडीमा खपत बढाउनुपर्ने बताए। विद्युत् उत्पादनमा निजी क्षेत्रको प्रवेशबिना उत्पादन सफल नभएको भन्दै खपत बढाउन र निर्यात गर्नका लागि पनि अब निजी क्षेत्रलाई व्यापार गर्न दिनुपर्ने अध्यक्ष आचार्यको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै सम्पन्न भारत भ्रमण ऊर्जा केन्द्रित भएको उल्लेख गर्दै उनले भने, ‘विगतका भ्रमण राजनीतिक केन्द्रित हुन्थे । यसपटक आर्थिक मुद्दामा केन्द्ररित भएको र त्यसमा पनि अझ ऊर्जा केन्द्रित नै भयो । यो ऊर्जा उद्यमीका लागि खुसीको कुरा हो ।’

भारतमा १० हजार मेगावाट विद्युत् निर्यातको समझदारी हुनु आफँैमा महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘यतिबेला यो सफल होला र ? भन्ने पनि प्रश्न उठेको पाइन्छ । हामी सकारात्मक छौँ । हिजो ४० मेगावाट निर्यात हुँदा पनि जम्मा ४० भनेका थिए । आज चार सय मेगावाट गइरहेको छ । त्यसैले १० हजार मेगावाट विद्युत् पनि निर्यात हुनेछ ।’

उत्पादनमा निजी क्षेत्र नआउँदासम्म विद्युत् उत्पादन बढेन, त्यसैगरी व्यापारमा पनि निजी क्षेत्र नआएसम्म व्यापारको दायरा बढ्न नसक्ने उनको भनाइ छ । निजी क्षेत्र विद्युत् व्यापार गर्न योग्य रहेको स्पष्ट पार्दै उनले निर्यात गर्न पाइयो भनेर खुसी भएर मात्र नपुग्ने र देशभित्र खपत गर्ने वातावरण बनाउनु पनि उत्तिकै आवश्यक भएको बताए।