खडेरीले सुके मुहान, खानेपानीकाे हाहाकार

खडेरीले सुके मुहान, खानेपानीकाे हाहाकार


गलेश्वर । चर्को खडेरीले म्याग्दीको मालिका, मंगला र बेनी नगरपालिकालगायत दर्जन बढी गाउँमा पानीका मुहान सुक्न थालेका छन् ।

यहाँका स्थानीय हिजोआज एक गाग्री पानीका लागि एक घन्टा समय खर्चेर वा नजिकको खोलाको पानी छानेर वा उमालेर खानुपर्ने बाध्यतामा छन् ।

पहिले–पहिले पानीको छेलोखेलो हुने गाउँका टोलटोलमा अहिले खानेपानीका धारा त छन्, तर धारामा प्रायः पानी खस्दैन । लगातारको खडेरी, जलवायु परिवर्तन, वनजंगल विनाश र मानवीय क्रियाकलापका कारण गाउँका कुवा, पोखरी, इनार, खोला नदीको पानी घट्दै गएको छ । कतिपय खोला र मूलमा पानी सुकेर सुख्खा बनेका छन् ।

पानीका मुहान सुक्न थालेपछि जिल्लामा खानेपानीको समस्या बढ्दै गएको छ । खानेपानीको पर्याप्त सुविधा नभएका यहाँका विभिन्न क्षेत्रका दर्जनौँ बस्तीमा कुवा, पँधेरो र पोखरीबाट पानी उपभोग गरिन्छ ।

वर्षौँदेखि खानेपानी उपभोगका लागि समस्या नभएका स्थानीयमा अहिले पानीका मुहान सुक्न थालेपछि पानीको समस्या चर्कंदै गएको बताउँछन् ।

म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानका ७४ वर्षीय डम्मरबहादुर सिउथानी मगर दुई दशकअघिसम्म गाउँको जरुवामा रहेको कुवाबाट पानी पिएको, नुहाएको, लुगा धोएको अनि त्यही कुवाको पानीले घर बनाएको झल्झली सम्झन्छन ।

सोही गाउँपालिका वडा नं ३ रुमका ७६ वर्षीय बलबहादुर विकलाई पनि घरको सिरानमा रहेको पाखो र डहरे खोलाको छेउमा रहेका दुई वटा पोखरीमा भैँसी आहाल बसालेको, पोखरीको पानी कुलाएर रोपाइँ गरेको याद छ । उनका अनुसार आजभोलि शिरानको पाखोमा न पानीको कुवा छ न त डहरेखोलामा पोखरी नै छन् ।

वर्षातमा खानेपानीको समस्या खासै नहुने भए पनि सुक्खा मौसममा खानेपानीका मुहान सुक्न थालेकाले यहाँका स्थानीय काकाकुल बन्ने अवस्थामा पुगेका बेनी नगरपालिका–३ तोराखेतका डिलबहादुर सापकोटाले बताए । ‘लामो खडेरी र चर्को गर्मीका कारण पानीका मुहान सुक्दै गएका छन् । अबको चार महिना खानेपानीको हामीलाई निकै सकस हुन्छ,’ उनले भने ।

बेनपा–६ थाकन पोखरी, मंगला गाउँपालिका–१ कुहूँ, बेनपा–१ अर्जमलगायत दर्जनौँ गाउँमा खानेपानीका मुहान सुक्दै गएपछि स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् ।

पानीका लागि स्थानीय घन्टौँ टाढाका पानीका मुहान धाउन थालेका छन् । जिल्लाको बेनी नगरपालिकासहित पाँच वटै गाउँपालिकाका विभिन्न बस्तीमा खानेपानीको अभाव भएपछि स्थानीय समस्यामा परेका हुन् ।

केही वर्षयता वातावरणीय प्रदूषण र प्राकृतिक विपत्तिका कारण यहाँको भूगोलमा अप्राकृतिक समस्या देखिन थालेको वन तथा वातावरण क्षेत्रका जानकारहरूले बताउँदै आएका छन् । खासगरी २०७२ सालको भूकम्पयता म्याग्दीको लेकाली क्षेत्रमा समस्या देखिन थालेको वन तथा वातावरण क्षेत्रका अगुवा टीकाबहादुर पुनले बताए ।

‘भूकम्पका साथै दुई वर्ष अघिको बाढीपहिरो र खडेरीले पानीका मूल सुक्दै गएपछि यहाँ समस्या उत्पन्न भएको छ । मूलहरू पुरिँदै गएका छन्, नयाँ स्रोत देखिएका छैनन्,’ उनले भने ।

कालीगण्डकी, म्याग्दी नदी र रघुगंगाका जलाधार क्षेत्रमा मात्रै होइन, जिल्लाका अन्य ओसिला ठाउँमा रहेका सयौँ पानीका मुहान सुकिसकेका स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् ।

खानेपानीका मुहान सुक्नुमा जलवायु परिवर्तन मात्र नभइ, मानवीय क्रियाकलाप बढी जिम्मेवार देखिएको वातावरण संरक्षणकर्मीको भनाइ छ ।

उनीहरूका अनुसार वनजंगल विनाश र अनियन्त्रित विकास निर्माणले पानीका मुहानमा प्रतिकूल असर पारेको छ । डोजरले सडक काट्दा जिल्लाका कतिपय ठाउँमा पानीका मुहान हराउन थालेका वातावरण संरक्षणकर्मी बताउँछन् ।

‘सडक खन्ने नाममा प्राविधिक रिपोट र वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी सडक खन्दा पानीका मुहान हराउन थालेका हुन्,’ थानीय डिलबहादुर सापकोटाले भने ।

यही गतिमा विकासका नाममा अनियन्त्रित रुपमा सडक खन्दा केही वर्षमा भूक्षयको समेत जोखिम बढ्ने उनले बताए । उनका अनुसार विकासका नाममा मेसिनले सडक खन्दा पानीका मुहान सुक्नुका साथै मजदुरी गरेर गुजारा गर्दै आएका सर्वसाधारण मर्कामा परेका छन् ।

चिन्तामा जेठो पुस्ता

टन्टलापुर घामको उखुम गर्मीमा झरना र कुवाको चिसो पानी पिउँदा बेग्लै आनन्द आउँथ्यो । आँतै हरर्र हुने गरेका ती दिनलाई सम्झँदै जेठो पुस्ता अहिलेको अवस्थाप्रति चिन्तित छन् ।

पहाडका कन्दराबाट रसाएर बग्ने पानीका झरना र कुवा अहिले सुक्दै गएपछि गर्मी सुरु हुनेबित्तिकै खानेपानीको अभाव भएको छ ।

वनजंगल, डाँडाकाँडामा जथाभावी डोजरले सडक खन्दा बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोप बढेका छन् भने गाउँ, बस्तीमा खानेपानीको अभाव हुन थालेको छ ।

वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी चलेका डोजरले सडक निर्माण भएर यातायातको सुविधा विस्तार भए पनि पानीका मुहान सुकेपछि खानेपानी बोक्न सास्ती हुन थालेको बेनी नगरपालिका–२ का ८९ वर्षीय वेदप्रसाद उपाध्यायले बताए ।

उनका अनुसार डोजरले वनजंगल, डाँडाकाँडा भत्काउँदै सडक खन्न थालेपछि थुप्रिएको माटोले म्याग्दीका विभिन्न स्थानीय तहमा रहेका खानेपानीका मुहान, झरना र कुवासमेत नासिएका छन् ।

‘डोजरले जथाभावी सडक खन्दा पानीका प्राकृतिक मुहान संकटमा परेको छन् । कुवा, झरना र जलुकेनी केही रहेनन्, डोजरले सबै सक्यो, यस्तै अवस्था भइरहने हो भने अबका केही वर्षमा नै खानेपानीको हाहाकार उत्पन्न हुन्छ,’ उपाध्यायले भने, ‘बरु सडक घुमाउरो भए पनि केही हुँदैन तर पानीका मुहान भने बचाउन आवश्यक छ ।’

गाउँको सिरानमा रहेका पानीका मुहान सुकेपछि म्याग्दीका विभिन्न ठाउँका पुछारमा रहेका खोलाबाट लिफ्ट प्रविधिका खानेपानी योजना निर्माण गरिएका छन् । लिफ्ट प्रविधिबाट अहिले म्याग्दीका बेनी नगरपालिका, मालिका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडामा १८ वटा लिफ्ट प्रविधिका खानेपानी योजना निर्माण भइरहेको खानेपानी तथा सररफाइ डिभिजन कार्यालय म्याग्दीले जनाएको छ ।

डोजरको रजगजले नासियो जल

डोजरका कारणले मालिका गाउँपालिका–५ देवीस्थानमा खानेपानीका मुहान सुकेका छन् । माईथान मन्दिर नजिकै रहेका ४ वटा धारा र कुवामा पानी नहुँदा अहिले गाउँमा खानेपानीको समस्या भएको स्थानीय इन्द्रमती फगामीले बताइन् ।

गाउँमा रहेका पानीका मुहान सुक्न थालेपछि खोलाको पानी पिउनुका साथै टाढा रहेका पानीका मुहानमा पानी लिन जानुपर्ने बाध्य रहेको उनको भनाइ थियो ।

‘३–४ वर्षअघिसम्म कलकल बग्ने ढोडेनी खोलाको पानी अहिले सुकेको छ । माछा, भ्यागुता र चेपागाँडा कहिल्यै नटुट्ने यो खोला अहिले सुख्खा बगरमा परिणत भएको छ । खोलामा कमिला हिँड्न थालेका छन्,’ बेनी नगरपालिका–१ अर्जमका तीलाबहादुर थापाले भने ।

जथाभावी डोजर चलाएर सडक खन्दा जमिन हल्लिएको र सडकको माटोले खोला पुरिएको उनको भनाइ छ । गाउँमा खानेपानीको हाहाकार भएपछि खोलाबाट लिफ्ट गरेर पानी तान्ने योजना निर्माण गर्नुपरेको मालिका गाउँपालिका–७ विमका बासिन्दाले बताएका छन् ।

‘डोजरे विकासका कारण बेनी नगरपालिकाका पुलाचौर, रत्नेचौर, ज्यामरुककोट, सिंगा, छाप, घतान, पात्लेखेतलगायतका गाउँमा पनि खानेपानीमा मुहान सुकेका छन्,’ वास्बोटकी यमुना आचार्यले भनिन् ।

पानीको हाहाकार भएपछि गाउँबाट निकै टाढाको खोलाबाट गाग्रीमा पानी बोकेर गुजारा चलाउनुपरेको उनको भनाइ थियो । डोजरका कारण मालिका, धवलागिरि र मंगला गाउँपालिकाका हराभरा वन मासिन थालेपछि पानीका मुहान संकटमा परेका स्थानीयले बताएका छन् ।