हरिनास गाउँपालिकाको गाउँसभामा विवाद

हरिनास गाउँपालिकाको गाउँसभामा विवाद

एकलौटी बजेट बिनियोजन गरेको आरोप


स्याङ्जा ।

हरिनास गाउँपालिकाको गाउँसभाको १३ औं अधिवेसनमा विवादमा परेको छ । गाउँसभामा अध्यक्ष खिमनारायण मानन्धरले एकलौटी बजेट बिनियोजन गरेको आरोप लागेपछि विवादमा परेको हो । वडा अध्यक्षहरुले सिफारीस गरेका योजनाहरु समेत बजेटमा नसमेटि मनोमानी ढंगले सभामा बजेट पेश भएको भन्दै वडा अध्यक्ष र सदस्यहरुले सभा बहिस्कार समेत गरेको जानकारी दिएका छन् ।

आर्थिक बर्ष २०८०/०८१ को बजेट पेश गर्ने गाउँसभामा स्थानीय सरकार संचालन ऐन २०७४ बिपरीत अपनाउनु पर्ने प्रक्रिया समेत नअपनाएर बहुमतको दम्भ देखाउदै एकलौटी ढंगले बजेट पेस गरिएको आरोप उनीहरुको छ ।

वडा नम्बर १, २ र ५ का वडा अध्यक्ष सहित १३ जनाले सदस्यले हस्ताक्षर गरेर बजेट पुन शंसोधन गर्न माग गरेका छन् । स्थानीय सरकार संचालन ऐनको दफा ७१ को व्यवस्थालाई कार्यन्वयन गरी बजेट शंसोधन गरेर मात्रै गाउँसभा सम्पन्न गर्न उनीहरुले अनुरोध गरेका छन् । शंसोधन नगरी यही सभाले बजेट पास गरेर कार्यन्वयनमा गएमा अन्य प्रक्रियामा जाने चेतावनी सहित उनीहरुले अध्यक्ष मानन्धरलाई ज्ञापनपत्र बुझाएका छन् ।

गाउँपालिकामा प्रतिपक्षको रुपमा रहेको गठबन्धनका जनप्रतिनिधिले वडाबाट सिफारीस गरेका कुनैपनि योजनालाई बजेटमा नसमेटिएको आरोप छ । वडाका जनताको चाहाना विपरीत गाउँपालिका अध्यक्षले राजनीतिक आवरण देखाएर मनोमानी ढंगले प्रतिपक्षको कुनै सुनुवाई नगर्नु दुखद भएको वडा अध्यक्ष निर्मल लम्सालले बताए । उनका अनुसार आज पेश भएको बजेट शंसोधन नगरेमा पालिकालाई दिइने योजनाको सिफारीसमा समेत रोक लगाइने जानकारी दिए । बेला—बेलामा विवादित बन्दै आएका गाउँपालिका अध्यक्ष मानन्धरले गत आर्थिक बर्षमा पनि बजेट बिनियोजनमा बिभेद गरेका थिए ।

गाउँपालिकाको १३ औं अधिवेसनले झण्डै ४३ करोडको बजेट पशे भएको छ । गाउँपालिका उपाध्यक्ष इन्द्रकुमारी थापा रानाले १३ औं अधिवेसनमा उक्त बजेट पेश गरेकी थिइन् । बजेटको पुर्णपाठ सुनाएपछि प्रतिपक्षदल नेपाली काँग्रेस र नेकपा माओवादीका सदस्यहरुले सभा बहिष्कार गरी बाहिरीएका थिए ।

नेकपा एमाले पार्टीबाट पुन दोस्रो पटक निर्वाचित भएका गाउँपालिका अध्यक्ष मानन्धरले आफ्ना पार्टीका कार्यकर्ताले माग गरेको आधारमा बजेट छुट्टाउदै आएको आरोप लाग्दै आएको छ । हरेक बिकास बजेटमा मनपरी खर्च गर्दै सदुपयोगिता भन्दा पनि कमाउ धन्दामा लिप्त रहेको आरोप स्थानीयले लगाउदै आएका छन् । उनी हरेक पटक अख्तियारको नजरमा पर्दै आएका छन् ।