‘मेरो असल साथी डोको र म एक डोको व्यापारी’

‘मेरो असल साथी डोको र म एक डोको व्यापारी’


सुर्खेत।

चाउरी परेका अनुहारसँगै सात दशक पूरा गरेकी बिरमा ढकालका दिन वीरेन्द्रनगरका गल्लीगल्लीमा फलफूल तथा तरकारी बिक्री गर्दैमा बित्छ । कम्मरमा नीलो पटुकी, टाउको बाँधिएको मैलो टाटेपाटे कपडा, नाकमा फुलीबुलाखी अनि शरीरमा गुनियोचोलीको पहिरनमा डोको नाम्लो बोकेर हिँड्नु उनको दिनचर्या हो ।

समयअनुसारका फलफूल र तरकारी बिक्री गरेर आफ्नो परिवार चलाउने ध्याउन्नाबाहेक ढकालमा अरू केही देखिँदैन । झन्डै तीन दशक बढी डोको बोकेरै उनको जीवन गुज्रिसकेको छ । ढकालको नम्र स्वभाव र मीठो वचनले गर्दा लगेको तरकारी वा फलफूल सबै बिक्री हुने गर्दछ ।

आजभन्दा झन्डै ३४ वर्ष अगाडि सुर्खेत झरेकी उनको जीवन अहिलेसम्म डोको व्यापारले नै धानेको छ । दैलेखको चामुन्डामा २०१० जन्मिनुभएकी ढकालले भविष्यमा सुखको अनुभूत हुने आशमा बाल्यकालमा निकै दुःख कष्ट झेल्नुपरेकोे अनुभव सुनाइन् ।

बाल्यकालमा आफ्नो थातथलोमा डोको नाम्लो गरेका ती दिन सम्झिदैँ आफ्नो असलमित्र भनेकै यही डोको र नाम्लो नै भएको उहाँले बताउनुभयो । विसं २०२५मा विवाह गरेर श्रीमान् धनीराम जैंसीसँग सुर्खेत झेरपछि पनि डोको र नाम्लोले छोडेन । श्रीमान्लाई २०७५ सालदेखि क्यान्सर रोगले च्यापेपछि उपचार र घर खर्च चलाउन हम्मेहम्मे हुनथाल्यो । दुःखारीलाई दुःखले कहिले छोड्दो रहेनछ भन्दै गहभरी आँसु लिएर उनी भक्कानिन्। आँसु पुच्छदै बाल्यकालदेखिको साथी यही डोको र नाम्लोले साथ दिएको छ । ढकालका श्रीमान्लाई महिना–महिनामा क्यान्सरको किमोथेरापी गर्नुपर्ने हुन्छ ।

“यतिका वर्षसम्मको मेरो असल साथी भनेको ढोको मात्र रहेछ । जसको साहारा म अहिले पनि लिइरहेको छु”, भनिन्छ कोही नहुनेको भगवान् हुन्छन् त्यसैले होला मेरा लागि सबै भएर पनि मेरो साथी डोको नै भएको छ । अहिले म एक डोकेव्यापारीको रूपमा चिनिएकी छु ।

“दैलेखमा जेनतेन चालिरहेको मेरो जीवन सुर्खेत आएपछि फेरियो”, ‘ढकालले भनिन्, मेरा आफ्ना भन्नका लागि त चार छोराछोरी र सात नातिनातिनाहरु छन् तर आफ्नो साथमा भने बिरामी बुढामात्र छन् ।”

“दुःखसुख गरी जीवन कटाइरहेको थिए । दुःख देखेर बुढा पैसा कमाउनका लागि भारत गए तर फर्किनलाई भने १७ वर्ष लगाए”, “अन्जान सहरमा म एक्लो भए । तीन छोरी र एक छोरा लिएर अरू केही काम गर्न नसके पनि डोको बोक्न सकिन्छ भनेर ससाना छोराछोरीलाई घरमा राखी वि.सं २०४५ देखि नै डोको बोक्न थालेँ । जसका कारण अहिले मेरो असल साथी डोको र एक डोकेव्यापारी भएर चिनिएकी छु।”

‘जेनतेन चलिरहेको मेरो जीवनमा फेरि अर्को दुःखको बज्रपात भयो । मेरा बुढालाई फोक्सोमा क्यान्सर भएकाले महिनाको एकचोटि अस्पताल आउनुपर्छ । आफ्नो आम्दानी केही नभएकाले डोको नबोकी खानालाई केही पनि पाईदैन । साथै बुढालाई पनि हेर्नुपर्छ तर जेनतेन दैनिक कहिले रु पाँच सय त कहिले रु एक हजार कमाईबाटै गुजारा चलाउनुपर्छ ।

दीनदुःखी भएर जीवन जिउनुभन्दा आफ्ना हातपाखुरा रहुन्जेलसम्म अरूको भर नपरी जीवन धान्न सक्ने क्षमता बनाई रहेकी छु । अरूसँग मागेर खानुभन्दा सकुन्जेल दुःख गरेर खाने उनको भनाइ छ ।

छन्लाई त छोराछोरी सबै छन्, सबैले आफ्नो आफ्नो गरेर खाएका छन् । म पनि आफूले गरेर खानुपर्छ भनेर नै बिरामी बुढालाई घरमा छोडेर आफू काम गर्छु । जीवन जिउनका लागि हामी आफैँ कमजोर भयौँ भने, अरूले हेप्न सक्छन् भनेर नै अन्य विकल्प नभए पनि यस पेसामा संलग्न भए ।

अहिले मेरो उमेर तीन बीस र दस भयो, बिरामी बुढाको हेरचाहा गर्नका लागि र खानका लागि भए पनि मैले यो डोको बोक्नै पर्छ । आफूले काम नगरी खान पुग्दैन । बेसहारा भएर जीवन कटाउनुभन्दा त डोको बोकेरै जीवन कटाउँछु भनी लागिपरेको छु । त्यसैले ‘मेरो असल साथी डोको र म, एक डोको व्यापारी’ हुँ।