प्रचारप्रसार नहुँदा ओझेलमा छ ‘स्वर्गकाे टुक्रा’ साल्पापाेखरी [तस्बिरहरू]

प्रचारप्रसार नहुँदा ओझेलमा छ ‘स्वर्गकाे टुक्रा’ साल्पापाेखरी [तस्बिरहरू]


भोजपुर ।

साल्पापोखरी खोटाङ, सोलुखुम्बू, भोजपुर र संखुवासभा जिल्लाको संगमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो ।

साल्पापोखरी समुद्र सतहदेखि ३ हजार ६७२ मिटर उचाइमा रहेको यो ४ जिल्लाको संगमस्थल भए पनि भोजपुर जिल्लाको साल्पासिलिच्छो गाउँपालिकामा पर्छ ।

संखुवासभाको तुम्लिङटार विमानस्थलमा ओर्लिएर भोजपुरको कात्तिके, नेपालेडाँडा, मझुवा, केदाकाउले, ताँबुटार, चौकीडाँडा, दोभाने पार गरेपछि साल्पा पोखरी पुग्न सकिन्छ भने भोजपुर सदरमुकामबाट सुन्तले, मैयुङ हुँदै पनि त्यहाँ पुग्न सकिन्छ ।

साल्पापोखरी जाने क्रममा बाटोमा पर्ने भेडेटार डाँडाले मनै फुरुंग बनाउँछ । पूर्वको एक रमणीय पर्यटकीय स्थल भेडेटारबाट पहाडका घुम्ती सडक हँुदै तमोर नदीतर्फ झरेर नदी किनारैकिनार धनकुटा जिल्लाको सदरमुकाम पुग्दा अर्को मनमोहक ठाउँ भेटिन्छ हिले ।

पाख्रिबास डाँडाबाट देखिने हरियाली दृश्यलाई नियाल्दा रमाइलो अनुभूति हुने गर्छ ।

तुम्लिङटार हुँदै जाँदा तलतिर कलकल बगिरहेको अरुण नदी देख्दा धेरैलाई जीवनको फरक अनुभव लाग्न सक्छ । नदीमा पुल नहुँदा त्यहाँ आइपुगेका यातायातका साधनहरू फेरीबाट वारपार गर्ने गरिन्छ ।

अरुण वारि र पारि भोजपुर जिल्ला नै पर्छ । खोटाङको खानीडाँडा विमानस्थलबाट दिक्तेल, तालखर्क, मैयुङ हँदै र लामीडाँडा विमानस्थलबाट नुनथला, मुढे, रूपाकोट, सुङदेल हुँदै पनि ३ दिनको पैदलयात्रा गर्दै साल्पापोखरी पुग्न सकिने पदमार्ग रहेको छ ।

पहिलो पटक सगरमाथा चढ्न जाँदा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले साल्पापोखरीकै मार्ग प्रयोग गरेका थिए । सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन गर्न पर्यटकहरूले साल्पा पोखरीनजिक शिलिचुङ डाँडाको चुचुरो चढ्ने गरेका छन् । शिलिचुङबाट सगरमाथा, मकालु, कञ्चनजंघा, कुम्भकर्ण, मेरापिकलगायत हिमशृंखला र तराईको फाँटमा लमतन्न परेका नदी, वनजंगल देख्दा जो कोहीको पनि मन प्रफुल्ल हुन्छ ।

अरुणमा रहेको झोलुंगे पुल तरेर भोजपुरको षडानन्द नगरपालिका, कात्तिके हुँदै कच्ची सडकमा जिपको यात्राको अनुभव पनि बिर्सन सकिँदैन । भोजपुर जिल्लाका गाउँका धेरै खेतबारी र पाखामा रुद्राक्षका बोट प्रशस्त देख्न सकिन्छ ।

केही वर्षयता रुद्राक्ष यहाँका धेरैको आम्दानीको स्रोत बनेको छ । यो शिवको आँसु मानिन्छ जसको जप गरिन्छ, माला लगाइन्छ र देवीदेवतालाई पनि चढाइन्छ । आबाल ब्रह्मचारी षडानन्द गुरुले नै सुरुमा ती बोट लगाएका थिए भनिन्छ ।

‘जी फाउन्डेसन’ नामक संस्थाले यस क्षेत्रमा सामुदायिक पूर्वाधार विकासका लागि जीविकोपार्जन कार्यक्रममार्फत् पर्यापर्यटनको विकास र जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि गरेको छ ।

कार्यक्रममार्फत् कृषि, करेसाबारी, उद्यमशीलताका कार्यक्रम सञ्चालन गरिएको र यसबाट स्थानीयबासीको जीवनस्तरमा सुधार आएको कार्यक्रमका सीताराम थापा मगरले जानकारी दिए ।

केन्द्रीय प्रसारण लाइन विस्तार नभएकाले गाउँपालिकाका प्रत्येक घरका धुरीमा सोलार प्यानल राखी सौर्य उज्यालो प्राप्त गरिएको छ ।

फेदी गाउँका कतिपय महिला उद्यमीले लोक्ताको कपडा, राडी बुनेर आयआर्जन गरेका छन् । उनीहरूले उत्पादन गरेका सामग्रीको बजारीकरणमा समस्या रहेको उपाध्यक्ष अस्मिता राईले बताइन् ।

साल्पापोखरी पुग्न फेदी गाउँबाट ठाडो उकालो हिँड्नुपर्छ । ढुंगाको सिँढी हुँदै ठाउँठाउँमा रहेका थुम्कामा पुग्दा मनै फूलकाे थुँगाजस्ताे हलुका भएजस्तो लाग्छ ।

३ हजार ४३४ मिटर उचाइमा पुग्नु थियो । फेदी गाउँबाट हिँडेको साढे २ घन्टापछि जौबारीबाट वरिपरिका गाउँबस्तीको रमणीय दृश्य देख्न सकिन्छ । जौबारीमा जौ र आलु राम्रो खेती हुने गर्छ ।

झन् जति माथि गयो, थकाइलाई वरपरको रोमाञ्चक दृश्यले फुर्तिलो बनाउँछ । वनमा फुलेका लालीगुराँसले मनलाई आनन्दित गराइरहेका थिए, थकाइको अनुभूति नै हुँदैन । उकालो जाँदै गर्दा बाटोमा भेटिने चाँैरीखर्क र लालीगुराँसको दृश्यलाई कैद गर्न क्यामरा र मोबाइल फोनलाई फुर्सदै हुँदैन ।

भोजपुरको मनोरम दृश्यको स्वाद लिँदै हिँडिरहँदा माबु भेटिन्छ, जहाँ ‘मुन्धुम पदमार्ग’ जोडिन आइपुग्छ । गाउँपालिकाले जी फाउन्डेसनसँगको सहकार्यमा चखेवाबाट मैयुङडाँडा, सातदोबाटो, बगरेभञ्ज्याङ, जुगेडाँडा, लौरेडाँडा, निकास हुँदै साल्पापोखरी पुग्ने मुन्धुम ट्रेल जोड्ने सहायक पदमार्ग निर्माण गर्ने, मुन्धुम ट्रेल स्तरोन्नति गर्ने, मुन्धुम ट्रेलको आसपासमा होमस्टे (घरबास) लगायत संरचना निर्माण गर्ने योजना बनाएको छ ।

स्विस सरकार, कोसी प्रदेश सरकार तथा स्थानीय तहमध्ये भोजपुरको टेम्केमैयुङ र साल्पासिलिछो गाउँपालिका तथा भोजपुर र षडानन्द नगरपालिकाले लागत साझेदारी गरेको सो पदमार्ग अंग्रेजी अक्षर ‘वाई’ आकारमा निर्माण भइरहेको छ ।

भोजपुर र खोटाङको सिमाना तावाभञ्ज्याङ–चखेवा भञ्ज्याङ–धोद्रे–हाँस पोखरी–तारा खसको–बलौटे भञ्ज्याङ–लौरी भञ्ज्याङ–निकास माने हुँदै भोजपुरको सबैभन्दा अग्लो चुचुरो सिलिचुङ डाँडामा पुगेर एकराते–पखुवा भञ्ज्याङ–बाघखोर–सुन्तले–बाघखोर हुँदै भोजपुर नगरपालिका– १० भैँसीपंखाको साम्पाङ चोकमा आएर टुंगिन्छ । मुन्धुम पदमार्ग करिब ८० किलोमिटर छ ।

कुल ८८ किमीमध्ये हाल ६२ किमी पूरा भइसकेको नेपालको घुम्नैपर्ने सो पदमार्गले खोटाङका केपिलासगढी र साकेला गाउँपालिका छुन्छ, जुन किराँती सभ्यता झल्काउने एक भौतिक संरचना रहेको भोजपुर नगरपालिका प्रमुख कैलाश आलेले जानकारी दिए ।

बिहान उठेर माथितिर हेर्दा झुल्के घामसँगै सिलिचुङ चुचुरामा परेको हिउँ देख्दा निकै रमाइलो लाग्छ । सिलिचुङ डाँडाबाट सगरमाथासँगै तराईका सुन्दर फाँटसँगै अन्य हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

नेपाल सरकारले निर्धारण गरेको घुम्नैपर्ने १०० पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्धुम पदमार्ग यो क्षेत्रसम्म विस्तार भएको छ ।

यस स्थानलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न लागेको साल्पासिलिछो गाउँपालिका अध्यक्ष दौलत कुलुङले जानकारी दिए । साल्पापोखरी र सिलिचुङ डाँडा धार्मिक तथा पर्यटकीय क्षेत्र रहेकाले यसको बृहत्तर रूपमा विकास गर्ने उनको योजना छ ।

प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल साल्पा सिलिचुङ पोखरी पर्यटकको पर्खाइमा छ । धार्मिक महत्व बोकेको यो पर्यटकीय स्थल प्रचारप्रसारको अभावले ओझेलमा परेको छ ।

समुद्री सतहबाट ४ हजार १५३ मिटर उचाइमा रहेको सिचिलुङ डाँडाबाट सगरमाथा हिमाल पनि आँखैअगाडि देख्न सकिन्छ भने मकालु हिमाल, विश्वको सर्वोच्च शिखर सगरमाथा हिमाल सामुन्ने देख्दा आफैँले आफूलाई बिर्सेको आभास हुन्छ ।

सिलिचुङ चुचुरो भोजपुर र संखुवासभा जिल्लाको सिमानामा अवस्थित छ । यो क्षेत्रमा रेड पान्डालगायत जीवजन्तु, विभिन्न बहुमूल्य जडीबुटी पाइने बताइन्छ ।

चुचुरोको काखैमा रहेको पोखरीमा आन्तरिक पर्यटकहरू आफ्नो मनोकामना पूरा हुने धार्मिक विश्वासले पूजाआजा गर्न पुग्ने गरेका छन् । साल्पापोखरीसँग आफूले मागेको कुरा दिने अद्भूत शक्ति रहेको जनविश्वास छ ।

साल्पापोखरीको दर्शनले ज्ञान आर्जन हुने विश्वास गरिन्छ । बोली नफुट्ने बालबालिकालाई बोली दिने, निःसन्तानलाई सन्तान दिनेलगायत मनकामना पूरा गरिदिने साल्पापोखरी मन्दिरमा स्थानीय लामा, झाँक्रीहरूका गुरु पनि छन् ।

यहाँ वैशाख, भदौ, कात्तिक र फागुनका पूर्णिमामा विशेष मेला लाग्छ । तिर्थालुहरू आफ्नो मनोकामना पूरा गर्न आउने गर्छन् ।

पोखरीमा तिर्थालुहरू नुहाउने गर्छन्, यहाँ भोजपुर, खोटाङ, संखुवासभा, धनकुटा, सोलुखुम्बूलगायत ठाउँबाट भक्तजनहरू पुग्ने गरेका छन् । साल्पापोखरीमा आफ्नो भाकल पूरा गर्न विशेष गरी परेवा उडाउने चलन छ ।

पोखरी पुग्दा मन रमायो, अघिल्लो दिन हिँडेको थकाइ पनि हराउँछ । साल्पा–सिलिचुङ क्षेत्र प्राकृतिक रूपमा जति सुन्दर छ, त्योभन्दा कैयौँ गुणा सांस्कृतिक रूपमा महत्वपूर्ण छ । यस क्षेत्रमा किराँतीको सृष्टिदेखि, सभ्यता, बसाइँसराइ गर्दाका समस्या र जन्मदेखि मृत्युसम्मका संस्कार र परम्पराको वर्णन पाइन्छ । साल्पापोखरीलाई किराँत, हिन्दु, बौद्धमार्गीहरूले साझा तीर्थस्थल मान्छन् ।