मकवानपुरका सामुदायिक वनलाई थप हरियो बनाउन बजेट

मकवानपुरका सामुदायिक वनलाई थप हरियो बनाउन बजेट


मकवानपुर ।

मकवानपुरमा उजाड भएका ११ सामुदायिक वनलाई रु ५३ लाख ७० हजारको लागतमा दीर्घकालीन रुपमा हरियो बनाउनका लागि वृक्षरोपणसहित बाँसको घेरा हालिएको छ ।

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत वसन्तराज गौतमका अनुसार सामुदायिक वनलाई सदाका लागि हरियाली बनाउन उक्त कार्यक्रम लागू गरिएको हो । चालु आर्थिक वर्षमा बागमती गाउँपालिका–६ स्थित सल्लेडाँडा सामुदायिक वन उपभोक्ता समूह र नमोबुद्ध सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रलाई पुनरुत्थान गरिएको छ ।

यस्तै भैरव सामुदायिक वन उपभोक्ता समूह, वडा नं ७ को शक्तिशाली सामुदायिक वन उपभोक्ता समूह, बागमतीकै वडा नं १ को त्रिवेणी सामुदायिक वन उपभोक्ता समूह, वडा नं २ को बेलघारी सामुदायिक वन उपभोक्ता समूह, बकैया गाउँपालिका–२ को कल्याण सामुदायिक वन उपभोक्ता समूह, बकैयाँ–७ को प्रतिभा सामुदायिक वन उपभोक्ता समूह र बकैयाँ–८ को कालेश्वर सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रलाई पुनरुत्थान गरिएको सहायक वन अधिकृत गौतमले जानकारी दिए।

डिभिजन वन कार्यालयले लगानी गरेको वनमा सबै सरसफाइ गरेर घेराबारासमेत गरेर चरिचरन नियन्त्रण गर्दै वृक्षरोपण गरेर भविष्यमा आम्दानी लिन सक्ने वातावरण तयार गर्न लागिएको उहाँले बताउनुभयो । वन क्षेत्रको संरक्षणका लागि वन हेरालु राख्ने र अतिक्रमण रोक्न मद्दत पुग्ने गौतमको भनाइ छ । कार्यक्रमले मकवानपुरका विभिन्न वन समूहमा आबद्ध गरिब किसानले वन व्यवस्थापन गरी मनग्य आम्दानी लिन सक्ने छन् । वनमा विभिन्न जातका रूख, फलफूल, जमिन मलिलो गराउने विभिन्न जातका बोटबिरुवा, घाँस, डालेघाँस लगाइएको छ ।

मकवानपुरगढी गाउँपालिका–४ मा रहेको मनकामना सामुदायिक वन उपभोक्ता समूहमा उक्त कार्यक्रम सञ्चालन पछि हरियाली र सुन्दर बन्ने विश्वास रहेको उक्त सामुदायिक वन समूहका अध्यक्ष सकेलाल लोले बताए । उनका अनुसार वन क्षेत्रमा झाडीको फँडानी गर्ने काम गर्नाका साथै लहरा काटिएको छ । वन क्षेत्रमा रहेका थाकलका बुट्यानहरु नष्ट गर्दै बाँसको घेराबारा गरेर विभिन्न जातका बिरुवा रोपिएको अध्यक्ष लोले जानकारी दिनुभयो । बाँसको घेराबाराभित्र बाँस, सजीवन लगायतका तीन हजार ६ सय बिरुवा रोपिएको उनको भनाइ छ ।

यसैगरी मकवानपुरको पूर्वी गाउँपालिका वकैया–७ मा रहेको हात्तीचरण सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा पनि हैसियत बिग्रेको सामुदायिक वनलाई सबै मिलेर पुनरुत्थान गरिएको बताइएको छ । वनको तीन हेक्टर क्षेत्रफलमा कार्यक्रम सञ्चालन गरिएको वन समूहका अध्यक्ष पोसबहादुर घिमिरले बताए। यस क्षेत्रको खाली रहेको जमिनमा चाप, टाँकी, काभ्रो, सजीवन, अमला लगायतका तीन हजार बिरुवा रोपिएको उनले जानकारी दिए। वनमा आश्रित अति गरिब र सीमान्तकृत समुदायको उत्थानमा यस कार्यक्रमबाट सहयोग पुग्ने डिभिजन वन कार्यालयले जनाएको छ ।