बाढीले जलविद्युत् आयोजनाको निर्माण प्रभावित

बाढीले जलविद्युत् आयोजनाको निर्माण प्रभावित


म्याग्दी ।

बाढीका कारण म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा निर्माणधीन २१.३ मेगावाट क्षमताको ठुलो खोला जलविद्युत् आयोजनाको निर्माण प्रभावित बनेको छ ।

संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधतर्फ बाढीले अत्यधिक क्षति पुर्‍याएपछि निर्माण प्रभावित बनेको हो । यी असार २१ गते राति आएको अविरल वर्षापछिको बाढीले आयोजनाको बाँधलगायत पूर्वाधारमा क्षति पुर्‍याएको आयोजनाका प्रमुख रविन्द्र हमालले जानकारी दिए ।

‘बाढीले पूर्वाधार निर्माण कार्य प्रभावित बनेको छ, केही सामाग्री पनि बगाएको छ,’ उनले  भने । आयोजनाको निर्माण स्थलतर्फको पहुँचमार्गसमेत बाढीले बगाएको छ ।

ठेक्का लिएको साकुरा पावर/त्रिपल एस कम्पनीले बाढीबाट ४५ लाख रुपैयाँ बराबरको क्षति पुर्‍याएको जनाएको छ । आयोजनाको पहुँचमार्ग रहेको रघुगंगा–७ चिमखोलादेखि आयोजना स्थलतर्फको सडकखण्डअन्तर्गत मलाङको पहिरोले सडक निरन्तर अवरुद्ध भएको छ । यसबाट निर्माण सामाग्री ढुवानी समस्या भएको छ ।

बाँध र विद्युत् गृहतर्फको पूर्वाधार निर्माणमा १३० मजदुर काम गर्दै आएका छन् । सन् २०२४ जुलाइसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढाइएकामा अब समय बढी लाग्ने आयोजना प्रमुख हमालले बताए ।

 

हालसम्ममा आयोजनाको ६० प्रतिशत भौतिक प्रगति भएको छ । फेदीखोलामा मुहान रहने उक्त आयोजनामा पानीलाई छरीस्थित रघुगंगा नदीको किनार विद्युत् गृहसम्म ल्याउन २ हजार ७१५ मिटर लामो सुरुङमार्ग खन्नुपर्नेछ । हालसम्म २ हजार मिटर सुरुङ निर्माण भइसकेको आयोजनाले जनाएको छ । आयोजनाको लागत ३ अर्ब ६० करोड रुपैयाँ अनुमान गरिएको छ ।