स्याङ्जा ।
कालीगण्डकी नदीमाथि गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने मोटरेबल पुल निर्माणको काम धमाधम भइरहेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बेल्टारी र पाल्पाको बगनासकाली गाउँपालिका–६ दर्पुक जोड्न नयाँ मोटरेवल पुल बन्न लागेको हो ।
सडक विभाग पुल महाशाखाअन्तर्गत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पुल सेक्टर पोखरा र गौरी पार्वती न्यू टेक्निकल जेभी कुपण्डोल ललितपुरबीच पुल निर्माणका लागि २०७९ भदौमा सम्झौता भएको हो ।
निर्माण कम्पनीका इन्जिनियर मनिष भण्डारीका अनुसार उक्त पुल १५ करोड ४९ लाख रुपैयाँ लागतमा ३३ महिनामा सक्ने गरी बन्न लागेको हो ।
उक्त पुल १२० दशमलव ८० मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ । पैदलयात्रुका लागि दायाँबायाँ फुटपाथ निर्माण गरिने छ ।
कालीगण्डकी लोकमार्ग र कालीगण्डकी कोरिडोरसमेत जोड्ने पुलले पाल्पाको मिसन अस्पताल, पर्यटकीय स्थल रानीघाट, तराईका जिल्लामा आवगमन गर्न सहज हुने इन्जिनियर भण्डारीले बताए । पुल निर्माणका लागि गाउँपालिकाले लामो समयदेखि पहल गर्दैआएको थियो ।
कालीगण्डकी गाउँपालिका–५ बेल्टारीका अनिष न्यौपानेले स्याङ्जाबाट मिसन अस्पताल जाने छोटो बाटो नहुँदा बिरामीले अकालमै ज्यान गुमाउनुपरेका थुप्रै घटना बेहोर्नुपरेको बताए ।
‘पुल निर्माण गर्ने वर्षौंको हाम्रो सपना पूरा भएको छ,’ उनले भने, ‘मिसन अस्पताल जान-आउन पुलले बाटो छोट्याउने भएपछि हामी खुसी छौँ ।’
मोटरेबल पुल निर्माण भएपछि मालसमान ढुवानी गर्न, धार्मिक तथा पर्यटकीय यात्रा गर्न सहज हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया