स्थापनाकाे २६ वर्षसम्म पनि ३ वटा सरकारी कार्यालय भाडाकै घरमा

स्थापनाकाे २६ वर्षसम्म पनि ३ वटा सरकारी कार्यालय भाडाकै घरमा


बागलुङ ।

जिल्ला सदरमुकाम बागलुङबाट पश्चिममा रहेका नागरिकलाई सहज रूपमा प्रशासनिक सेवा दिने बुर्तिबाङ बजारमा २०५४ सालमा इलाका प्रशासन, मालपाेत र नापी कार्यालय स्थापना भए ।

कार्यालय स्थापनापछि उक्त क्षेत्रका नागरिकले नजिकैबाट सेवा लिन पाए । त्यसअघि सामान्य सरकारी कामकाजका लागि बागलुङ बजार धाउनुपर्ने बाध्यता थियो । तर २०५८ सालपछि सशस्त्र द्वन्द्वका कारण ३ वटै कार्यालय विस्थापित भए । कार्यालय विस्थापित भएर बागलुङ बजारमा आएपछि पश्चिम बागलुङवासीले निकै सास्ती पाए ।

इकाला प्रशासन कार्यालय २०६३ सालमा पुनःस्थापना भयो । र सेवा प्रवाह गर्न थाल्यो । सुरुमा सरकारले प्रशासन कार्यालयलाई एकीकृत सेवा केन्द्रको नाम दियो । एकीकृत सेवा केन्द्र २०६९ सालदेखि २०७५ सम्म कायम  थियो भने पुनः २०७५ सालमा इलाका प्रशासन कार्यालयमै रूपान्तरित भयो ।

इलाका प्रशासन २०६३ सालमै पुनःस्थापना भए पनि मालपोत र नापी कार्यालय २०७१ चैतमा मात्र पुनःस्थापना भए । तर अहिलेसम्म ३ वटै कार्यालयको आफ्नो भवन भने छैन । भाडाकै घरबाट सेवा सञ्चालनमा छ ।

कार्यालयको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । सेवा प्रवाहलाई प्रभावकारी बनाउन समस्या भएको इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोकबहादुर कुँवरले बताए ।

‘साँघुरा कोठामा बसेर काम गर्दा गाह्रो भएको छ’, उनले भने । यसअघि बुर्तिबाङको उपल्लो बजार र फाँट बजारमा कार्यालय सञ्चालनमा थियो । मासिक ३३ हजार रुपैयाँ भाडा तिर्दै आएकाे कुँवरले बताए ।

यस्तै मालपोत कार्यालय बुर्तिबाङका प्रमुख सूर्यप्रसाद शर्माले मासिक ५० हजार तिरेर कार्यालयले सेवा प्रवाह गर्दै आएको बताए । ‘सेवाग्राहीमैत्री भवन नहुँदा समस्या भएको छ’, उनले भने ।

यस्तै नापी कार्यालय बुर्तिबाङकी प्रमुख पायल श्रेष्ठले भाडाको घरबाट चाहेअनुसारको सेवा प्रवाह गर्न नसकेको बताइन् । उक्त कार्यालयले पनि मासिक ३० हजार रुपैयाँ भाडा तिर्दै आएको छ ।

२६ वर्षअघि स्थापना भएर विभिन्न समयमा विस्थापित भए पनि अहिले भने ३ वटै कार्यालय निरन्तर सञ्चालनमा छन् । यी कार्यालयबाट पश्चिम बागलुङको निसीखाला गाउँपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका ३२ वडाका नागरिकले सेवा लिएका छन् ।