‘टेन्सनमुक्त’ रोपाइँ : न ब्याड राख्ने झन्झट, न रोपाहारको खाँचो [तस्बिरहरू]

‘टेन्सनमुक्त’ रोपाइँ : न ब्याड राख्ने झन्झट, न रोपाहारको खाँचो [तस्बिरहरू]

९० प्रतिशत जनशक्ति घट्यो, उत्पादन पनि बढ्यो


सुनसरी ।

सुनसरीको इनरुवा–९ का किसान सुखपाल मेहताले कृषिमा केही नयाँ विधि प्रयोग गर्न थालेपछि ‘टेन्सनमुक्त’ भएको अनुभव गर्न थालेका छन् ।

१ वर्ष अघिदेखि परम्परागत प्रणालीभन्दा केही फरक तरिकाले खेती गर्दा तनाव कम हुनुका साथै उब्जाउ पनि बढी भएको उनको अनुभव छ ।

उनले अघिल्लो वर्ष ब्याडमा बिउ राख्नु नपर्ने, हिलो खेतमा सीधै धानको बिउ छर्ने प्रविधिको बारेमा युटुब हेरेर चाल पाए । तुरुन्तै त्यसलाई पछ्याएर, फोन नम्बर पत्ता लगाएर काठमाडौँको कम्पनीमा सम्पर्क गरे ।

त्यसको केही दिनमै उनको घरमा आइपुग्यो– धानको बिउ छर्ने ड्रमसिडर मेसिन । झन्डै १८ हजार रुपैयाँमा उनको घरमै मेसिन झर्‍यो ।

मेसिन त आइपुग्यो, तर कसरी प्रयोग गर्ने ? इन्टरनेट र प्रविधिमैत्री उनलाई त्यसको पनि खासै चिन्ता थिएन । मेसिन मगाउनुअघि नै उनले त्यसबारे जानकारी लिएका थिए, युट्युबबाटै । नबुझेका कुरा उनले फेरि युट्युब कोट्याए र ‘सर्च’ गर्न थाले ।

उनले अघिल्लै वर्ष ८ बिघा खेतमा यो प्रविधिको प्रयोग गरेर ‘राम’ धान लगाए । उनकै सिको गरेर पोहोरै उनका केही छिमेकीले पनि यसै गरे । मुस्किलले कठ्ठाको ४ मन धान उब्जाउँदै आएका उनले कठ्ठाको साढे ५ मनका दरले धान भित्र्याए ।
कृषिमा यान्त्रिकीकरणले किसानको लागत, समय, जनशक्ति त बचाएकै छ, उब्जनी पनि बढी हुनाले किसानको आकर्षण बढ्दो क्रममा छ ।

इनरुवा–९ तथा २ नम्बर वडाका किसानले झन्डै सय बिघा जमिनमा यसपालि ड्रमसिडर मेसिनको प्रयोग गरी धान छरेका छन् ।

यो मेसिनमा भएको प्लास्टिकका ४ वटा बट्टाबाट एकनासले धान छरिने हुँदा धान झुल्ने बेलामा एक लाइनले फलेको धानको बोट हेर्दा पनि राम्रो देखिने उनी बताउँछन् ।

यो विधिले खेती गर्दा खेतको आली लगाउन र बिउ छर्न मेसिन तान्ने मान्छेबाहेक अरू जनशक्तिको प्रयोग हुँदैन । जोत्न ट्रयाक्टर र काट्न पनि हार्भेस्टर मेसिनको प्रयोग गरिने हुँदा मानव जनशक्तिमा हुने खर्च ९० प्रतिशतले कम हुने उनको अनुभव छ ।

राम धानको बिउ प्रतिबिघा १० देखि १२ किलो लाग्ने सुखपाल बताउँछन् । धान छर्ने खेत जोतेसँगै धानको बिउ २४ घन्टा भिजाउनुपर्छ । खेत हिलो हुँदै गर्दा भिजेको बिउलाई पानी तारेर जुटको बोरामा २४ देखि ३६ घन्टासम्म बाँधेर राख्नुपर्छ । यति गरेपछि धानको बिउमा टुसा उम्रिन्छ र बिउ छर्नलाई योग्य हुन्छ । हिलो खेतमा घाँस मार्ने औषधि पनि छर्नुपर्छ ।

टुसा उम्रेको बिउ ड्रमसिडरको ४ वटा साना बट्टामा हालेर, चक्कासहितको मेसिन खेतमा गुडाएर धान छरिन्छ । धान छर्ने बेलासम्म खेतको पानी सुकाएर छिपछिप मात्रै पार्नुपर्छ ।

किशोरकिशोरीदेखि वृद्ध उमेरसम्मका मानिसले यो मेसिन सजिलै तान्न सक्छन् । एक जना जनशक्तिले एक दिनमा ३–४ बिघा जमिनमा धान छर्न सकिन्छ ।

यो विधिले छरेको धानमा किरा पनि कम लाग्ने गरेको बताउँदै मेहता भन्छन्, ‘किराको प्रकोप नहुँदा उत्पादन पनि बढ्ने नै भयो ।’

‘ट्रयाक्टरले खेत जोत्यो, काट्न नि हार्भेस्टर ! आली लगाउन र धान छर्ने मेसिन तान्नमात्र मान्छे लाग्यो, त्यत्ति नै हो,’ मेहता भन्छन्, ‘टेन्सनमुक्त हुनका लागि त यसो पो गर्नुपर्ने रहेछ ।’