‘फार्मदेखि किचनसम्म’ अवधारणामा चितवनमा शनिबारे मेला

‘फार्मदेखि किचनसम्म’ अवधारणामा चितवनमा शनिबारे मेला


चितवन ।

उद्योग संघले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरी शनिबारे मेला सञ्चालनको तयारी गरेको छ । स्थानीय कृषिजन्य, रैथाने, मौलिक र बजारीकरण गर्न आवश्यक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला गर्न लागिएको हो ।

चितवन प्रदर्शनी केन्द्र परिसरमा मेला गर्न लागिएको संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । आगामी साउन ६ गतेदेखि प्रत्येक शनिबार बिहान ६ देखि ११ बजेसम्म प्रदर्शनी केन्द्र भरतपुरमा शनिबारे मेला आयोजना गर्ने गरी तयारी थालिएको उनले बताए ।

उनले भने, ‘मेलाको तयारीस्वरुप टोल सुधार संस्थाहरू, उत्पादनसँग जोडिएका सहकारीहरू, स्थानीय पालिकाहरू, कृषि ज्ञानकेन्द्र र सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेको छ ।’

मेलामा स्थानीय तहहरूको समन्वयमा स्थानीय, रैथाने कृषिसँग सम्बन्धित उत्पादनका कक्ष रहने उनले बताए । पहिलो दिन ५० सम्म कक्ष रहने छन् ।

प्रदर्शनीमा ताजा फलफूल तथा तरकारी, घरेलु अचार, मह तथा भान्साका लागि चाहिने आवश्यक परिकार, हस्तकलाका सामग्री, अण्डा, माछा तथा गेडागुडी, चिया, कफी, जुस, दुना टपरी जस्ता सामग्री र विभिन्न स्वदेशी परिकारका खानाका कक्ष रहनेछन् ।

व्यापारीक कक्षबापत एक दिनको रु एक हजार लाग्ने उनले बताए । मेला स्थल आसपासमा निजी तथा सरकारी संस्थामा कार्यरत कर्मचारी, स्थानीय टोल तथा छिमेकी पालिकाका जनता मेलाका लक्षित समुदाय रहेको उनको भनाइ छ । मेलामा राखिने विशेष परिकार तथा उत्पादन जिल्ला बाहिर पठाउनका लागिसमेत बिक्री गरिने लक्ष्य लिइएको छ ।

उत्पादक र उपभोक्तालाई एउटै छानामुनि प्रत्यक्ष भेटघाट गराउने गरी आयोजना गर्न लागिएको यस मेलामा प्रत्येक दिन पाँच हजार हाराहारीले खरिद गर्ने लक्ष्य लिएको संघले जनाएको छ ।

मेलालाई ‘फार्मदेखि किचनसम्म’ अवधारणाअनुसार उत्पादक र उपभोक्ताको मागबमोजिम आवश्यकताअनुसार परिस्कृत गर्दै लगिने कँडेलले बताए ।