डिजिटाइज्ड हुँदै वालिङ : सामाजिक सुरक्षा भत्ता सीधै खातामा जम्मा

डिजिटाइज्ड हुँदै वालिङ : सामाजिक सुरक्षा भत्ता सीधै खातामा जम्मा


स्याङ्जा ।

जिल्लामा पहिलो पटक विद्युतीय भुक्तानी प्रणाली ‘इएफटी’ मार्फत् सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको छ ।

स्याङ्जाको वालिङ नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० को अन्तिम त्रैमासिक सामाजिक सुरक्षा भत्ता ‘इएफटी’ मार्फत् सीधै लाभग्राहीको खातामा पठाउने व्यवस्था मिलाएको हो ।

यसअघि चालु आर्थिक वर्षको पहिलो, दोस्रो, तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता चेकमार्फत् वितरण गरिँदै आएको थियो ।

वालिङ नगरपालिकाका सूचना अधिकारी ज्ञानप्रसाद अर्यालका अनुसार सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको खातामा सीधै रकम पठाउने प्रक्रिया यो पहिलो पटक भएको बताए । ‘विगतमा बैंकको नाममा चेक पठाउने र बैंकले लाभग्राहीको खातामा रकम जम्मा गर्ने काम हुने गथ्र्यो,’ सूचना अधिकारी अर्यालले भने, ‘अहिले लाभग्राहीको खातामा कोलेनिकाले सीधै रकम पठाउने व्यवस्था मिलाएको छ । नगरपालिकाले अब लाभग्राहीको सूची अद्यावधिक मात्रै राख्छ ।’

जिल्लाका ११ पालिकामध्ये वालिङ ‘इएफटी’ मार्फत् सामाजिक सुरक्षा भत्ता पठाउने पहिलो पालिका बनेको अर्यालले बताए ।

वालिङ नगरपालिकाले यो आर्थिक वर्षमा ७ हजार २८ जना लाभाग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । जसमा अन्य जेष्ठ नागरिक भत्ता प्राप्त गर्ने ४ हजार १७८ जना, दलित जेष्ठ नागरिक भत्ता प्राप्त गर्ने ३४६ जना, जेष्ठ नागरिक एकल महिला ६०२, विधवा ८१७, पूर्ण अपांगता १३१, अतिअशक्त अपांगता २९५ र दलित बालबालिका ६५९ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् ।

यसरी चालु आर्थिक वर्षको चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता लाभग्राही ७ हजार २८ जनाले ‘इएफटी’ प्रणाली (इलेक्ट्रोनिक फन्ड ट्रान्सफर) बाट प्राप्त गरेका छन् ।

वालिङ नगरपालिकाबाट आर्थिक वर्ष २०७९/०८० मा २७ करोड १९ हजार ७७ रुपैयाँ सामाजिक सुरक्षा भत्ता लाभग्राहीले बुझेका छन् ।

अन्य जेष्ठ नागरिक भत्ता ४ करोड ९९ लाख २५ हजार ३७, दलित जेष्ठ नागरिकका लागि २७ लाख ४६ हजार ३२२, जेष्ठ एकल महिला ४७ लाख ९८ हजार २९७, विधवा ६५ लाख १९ हजार ६६०, पुर्ण अपांगता भत्ता १५ लाख ६८ हजार ७०, अति असक्त अपांगता भत्ता १८ लाख ८३ हजार २८० र दलित बालबालिका १० लाख २६ हजार ९ रुपैयाँ चालु आर्थिक वर्षमा लाभग्राहीले प्राप्त गरेको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले बताए ।

‘इएफटी’ प्रणाली देशका ७५३ स्थानीय तहमध्ये वालिङसहित ५० पालिकामा लागू भएको बताइएको छ । गण्डकी प्रदेशका पालिकामध्ये वालिङसहित कास्कीको पोखरा महानगरपालिका, नवलपरासीको गैँडाकोट नगरपालिका र तनहुँको व्यास नगरपालिकामा ‘इएफटी’ प्रणाली लागू भएको छ ।

राष्ट्रिय परिचयपत्र पञ्जीकरण विभाग र वालिङ नगरपालिकाको व्यवस्थापनमा यो प्रणाली चालु आर्थिक वर्षको अन्त्यतिर लागू गर्न सफल भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।

नगरपालिकाले सूची अद्यावधिक गरेर भुक्तानी आदेश दिएपछि कोष तथा लेखा नियन्त्रकको कार्यालयले नै खातामा पैसा पठाइदिने छ । जसले गर्दा सामाजिक सुरक्षा भत्ता चुहावट हुनबाट बच्ने र पारदर्शी हुने विश्वास गरिएको छ ।