उब्जनी घट्दै जान थालेपछि चैते धान प्रवर्द्धनमा प्रदेश र स्थानीय सरकार

उब्जनी घट्दै जान थालेपछि चैते धान प्रवर्द्धनमा प्रदेश र स्थानीय सरकार


पाेखरा ।

गत वर्ष गण्डकी प्रदेशका किसानले ५ हजार ८७० हेक्टर क्षेत्रफलमा मात्रै चैते धान रोपेका छन् । जुन आर्थिक वर्ष २०७८/७९ को तुलनामा १ हजार ७३५ हेक्टरले कम हो ।

रोपाइँको क्षेत्रफलसँगै गत आवमा धान उत्पादन पनि घटेर २७ हजार ४३७ मेट्रिक टनमा सीमित बन्यो । आर्थिक वर्ष २०७८/७९ मा ३२ हजार ७७३ मेट्रिक टन धान फलेको थियो । साे वर्ष किसानले ७ हजार ६०५ हेक्टरमा चैते धान रोपेकाे प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

चैते धानको उत्पादन घटेको पाइए पनि गत वर्ष ८.४६ प्रतिशतले उत्पादकत्व वृद्धि भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा प्रतिहेक्टर ४.३१ मेट्रिक टन उत्पादन भएकामा गत वर्ष प्रतिहेक्टर ४.६७ मेट्रिक टन उत्पादन भएको थियो ।

उत्पादन राम्रो दिने भए पनि बर्सेनि रोपाइँको क्षेत्रफल खुम्चदैँ जान थालेपछि प्रदेश सरकार र स्थानीय तहले चैते धान खेतीको प्रवर्द्धन थालेका छन् ।

चैते धानमा किसानलाई आकर्षित गर्न ‘चैते धान प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताए ।

‘यस वर्ष नवलपुर, तनहुँ र गोरखामा विशेष बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत चैते धानलाई समेटेका छौँ, अरू जिल्लाका किसानलाई पनि यसतर्फ प्रोत्साहित गर्छौं,’ उनले भने, ‘किसानलाई सिँचाइ, बीउबिजन, उपकरण, प्रविधिलगायत आवश्यक सामाग्रीमा प्रदेश सरकारले सहयोग गर्छ ।’

प्रमुख रेग्मीले बर्सातका बेला भित्र्याउनुपर्ने हुँदा धान सुकाउनका लागि किसानलाई (सोलार ड्रायर) को खाँचो रहेको बताए । ठुलो मात्रामा उत्पादन गर्ने किसानको धानलाई बजारको सुनिश्चितताका लागि प्रदेश सरकारले सहजीकरण गर्ने उनको भनाइ थियो । ‘मिल सञ्चालक र व्यापारीसँग जोडेर सहज रुपमा धान बिक्री गर्न सकियो भने किसान चैते धानमा आकर्षित हुन्छन्,’ प्रमुख रेग्मीले भने ।

उब्जाउ जमिन नासिँदै जाँदा चैते मात्र नभएर समग्र धान खेतीको क्षेत्रफल बर्सेनि घटिरहेको निर्देशनालयको तथ्यांकले देखाउँछ । वर्षे धानको तुलनामा चेतै धानको क्षेत्र अझ खुम्चँदो छ ।

पोखरा महानगरको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले चैते धान खेती लगाउने किसानलाई महानगरले प्रोत्साहन रकम दिने गरेको बताए । उनका अनुसार महानगरले वडा नं १४, १५, २६ र २७ मा ‘चैते धान प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरेको छ ।

यस वर्ष वडा नं २६ मा चैते धान खेती गर्ने २९५ र वडा नं २७ का १०२ किसानलाई प्रतिरोपनी ९०० रुपैयाँका दरले प्रोत्साहन रकम प्रदान गरिएको प्रमुख कडरियाले जानकारी दिए । वडा नं १४ र १५ मा २५० रोपनीमा चैते धान लगाएका किसानले पनि प्रोत्साहन रकम बुझेको उनको भनाइ थियो ।

‘चैते धान खेती विस्तारका लागि प्रवर्द्धनको कार्यक्रम सञ्चालन गरिएको हो, गत वर्षदेखि किसानले उन्नत जातका बीउ लगाउन सुरु गरेका छन्, उत्पादन बढेपछि किसान पनि खुसी छन्,’ उनले भने, ‘नयाँ सिफारिस भएको जात चैते–५ धेरै राम्रो छ, उत्पादन बढी दिन्छ, फल भुइँमा झर्दैन, दाना पनि पहिलेको भन्दा सानो छ ।’

वर्षेको तुलनामा चेतै धान पाक्न १५/२० दिन जति ढिलो हुने हुँदा लगाउने समयलाई अगाडि सार्नुपर्ने देखिएको प्रमुख कडरियाले बताए । उनका अनुसार पोखरा महानगरमा करिब दुई हजार रोपनी क्षेत्रफलमा चैते धान खेती हुँदै आएको छ ।

‘बाह्रैमास सिँचाइ सुविधा भएका र खोला आसपास क्षेत्रका खेतमा चैते धान लगाउन सकिन्छ, एउटै खेतमा दुई पटकसम्म धान रोप्दा चामलको आयात पनि घट्छ, किसानले धान बेचेर आयआर्जन गर्न सक्छन्,’ उनले भने ।

चैते धानसहित अन्य रैथाने बालीको संरक्षणमा महानगरले सहयोग गर्दै आएको प्रमुख कडरियाको भनाइ थियो । उहाँले जथाभावी रुपमा उब्जाउ फाँट घरघडेरीमा परिणत हुँदा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दै गएको बताए ।

कृषियोग्य जग्गामाथिको अतिक्रमण रोक्नुपर्नेमा उनले जोड दिए । पोखरा–२६ को वडास्तरीय कृषि सञ्जालका अध्यक्ष केशव ढुङ्गानाले चैते धान खेतीका लागि उन्नत बीउबिजन, सिँचाइ आदिमा किसानलाई सहयोग आवश्यक देखिएको बताए ।

उनले किसानले उत्पादन गरेको धानको बिक्रीका लागि प्रदेश सरकार र महानगरले सहजीकरण गर्नुपर्नेमा जोड दिए । नयाँ उन्नत जातको चैते धानले बढी उत्पादन दिएपछि चैते धान खेतीमा किसान हौसिएको उनको भनाइ छ ।

३ मुरी वर्षे धान फल्ने खेतमा चैते धान ५ मुरीसम्म फल्ने गरेको किसान बताउँछन् । गण्डकी प्रदेशमा नवलपुरको मध्यविन्दु, त्रिवेणी, तनहुँको व्यास, भिमाद, गोरखाको दरौँदी किनारलगायत क्षेत्रमा चैते धानको बढी खेती हुने गरेको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

अन्य जिल्लामा पनि केही मात्रामा खेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जिल्लामा १० हेक्टर क्षेत्रफलमा मात्रै चैते धान खेती हुने गरेको बताए । पछिल्लो समय चैते धानप्रति किसानको आकर्षण घट्दै गएको उनको भनाइ थियो ।

‘चैते धान भित्र्याउने बेला वर्षातको याम पर्ने भएकाले पनि किसानलाई मर्का पर्ने गरेको छ । पानीमा भिजेको धान बेच्न समस्या हुन्छ, पराल पनि बिग्रन्छ,’ प्रमुख भट्टराईले भने, ‘किसानले पछिल्लो समय चैते धानको सट्टा तरकारीलगायत नगदे बाली लगाउन थालेका छन् ।’

सिँचाइको असुविधा, गुणस्तीय बीउ तथा मलको अभाव, धानको उचित मूल्य नपाउनु, हावापानीमा परिवर्तन जस्ता समस्या किसानले बेहोर्दै आएका उनले बताए । चैते धानमा ‘सिएच’ ४५, चैते २, चैते ५, चैते ६ लगायतका जातको खेती हुँदै आएको छ । तराईदेखि उच्चपहाडसम्म चैते धान फल्छ । किसानले चैतमा रोपेपछि असारमा धान भित्र्याउँछन् ।