संस्थागत विद्यालयलाई नगर प्रमुखको निर्देशन : कुनै प्रकारकाे शुल्क वृद्धि नगर्नू

संस्थागत विद्यालयलाई नगर प्रमुखको निर्देशन : कुनै प्रकारकाे शुल्क वृद्धि नगर्नू


बुटवल । 

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संस्थागत विद्यालयलाई कुनै प्रकारका शुल्कमा वृद्धि नगर्न निर्देशन दिएका छन् ।

बुधबार बुटवलभित्रका संस्थागत विद्यालयका प्रधानाध्यापकहरूसँगको छलफलका क्रममा प्रमुख पाण्डेयले विद्यालय शिक्षा सुधार गर्दै बुटवललाई शिक्षामा अगुवा सहर बनाउन संस्थागत विद्यालयहरूले गुणस्तर र सीपमूलक शिक्षामा जोड दिनुपर्ने बताए ।

कक्षा ११ को भर्ना सुरु हुनुअघि संस्थागत विद्यालयहरूसँग आयोजित छलफलका क्रममा उनले विद्यार्थीहरूलाई पोशाक र पुस्तक खरिदमा निश्चित पसलमा जान बाध्यकारी नियम लागू नगर्न र स्वेच्छिक हिसाबले खरिद गर्न दिनका लागि निर्देशन दिए ।

’विद्यालयले किताब, कापी र पोसाक बेच्ने र आफूअनुकूलका पसलबाट खरिद गर्न सिफारिस गर्ने र बाध्यकारी बनाउने काम नगर्नुहोला,’ उनले छलफलका क्रममा भने, ‘विद्यालय सुधार गर्न पहिले विद्यालयको प्रशासनिक कुरामा सुधार ल्याउनुस्, विद्यालयभित्रैबाट बाध्यकारी हुने अवस्था सिर्जना नगर्नुहोस् ।’

उनले विद्यालयहरूले गुणस्तर वृद्धि र प्राविधिक शिक्षालाई जोड दिनुपर्ने बताउँदै प्रतिस्पर्धाका नाममा विद्यार्थीमाथि अन्याय नगर्न आग्रह गरे । उनले विद्यालयको क्षमता, भौतिक पूर्वाधार, ल्याब, शिक्षकको जनशक्तिलाई ध्यानमा राखेर मात्रै विद्यार्थी भर्ना गर्न आग्रह गरे ।

उनले संस्थागत विद्यालयहरूले मनपरी शुल्क लिँदै आएको गुनासो आएको भन्दै नगरले तय गरेभन्दा बढी शुल्क नलिन आग्रह गरे । उनले मनपरी शुल्क लिनेलाई कानुनी दायरामा ल्याएर आवश्यक कारबाही अगाडि बढाउने बताए ।

आगामी दिनमा समय र आवश्यकताअनुसार नगरको शिक्षा ऐन परिमार्जन गर्दै विद्यालय शिक्षालाई अझ बढी स्तरीय बनाउदै लैजाने प्रतिबद्धता उनले जनाए ।

उनले विद्यालयहरूको सुधारका लागि नगरले शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउँदै यसले विद्यालयहरूको शिक्षामा सुधार आउने विश्वास व्यक्त गरे ।

बुटवल उपमहानगरपालिकाले यस वर्षदेखि विद्यालय स्तरबाट खेलाडी उत्पादनमा जोड दिँदै  विद्यालय स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागेकाले त्यसको तयारी गर्न आग्रह गरे ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले संस्थागत विद्यालयहरूको गुणस्तरका साथै सीपमूलक शिक्षामा जोड दिनुपर्ने बताइन्।  उनले बुटवललाई शिक्षामा अग्रणी बनाउन संस्थागत विद्यालयहरूले भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले विद्यालयस्तरको शिक्षामा सुधारका लागि सबै विद्यालयलाई एउटै नियम र पद्धतिमा चल्न आग्रह गरे ।

कार्यक्रममा उपस्थित संस्थागत विद्यालयका प्रधानाध्यापकहरूले विद्यालय सुधारका लागि प्रतिबद्ध रहेको बताए। उनीहरूले विद्यालय शिक्षा सुधारमा नगरले थप लगानी गर्न आवश्यक रहेको पनि बताए ।