१ क्विन्टल सुन पास गराउन विमानस्थल भन्सारका ३ कर्मचारी संलग्न भएकाे आराेप

१ क्विन्टल सुन पास गराउन विमानस्थल भन्सारका ३ कर्मचारी संलग्न भएकाे आराेप


काठमाडौँ ।

करिब १ क्विन्टल सुन भन्सार जाँचपास भएर बाहिरिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बासहित ३ जना कर्मचारीलाई कारबाही गर्न भन्सार विभागले सिफारिस गरेको छ ।

विभागले भन्सार अधिकृत सन्तोष चन्दसहित ३ कर्मचारीलाई निलम्बन गर्न अर्थ मन्त्रालयलाई सिफारिस गरेको हो ।

सुनको भन्सार पासमा उनीहरूको संलग्नता देखिएकाले निलम्बन गर्न प्रस्ताव गरिएको बताइएकाे छ ।

भन्सार पास भइसकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर गइसकेको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बुधबार ठूलो परिमाणमा सुन बरामद गरेको थियो ।

मोटरसाइकल र स्कुटरको ब्रेक सुभित्र लुकाएर ल्याइएको सुन अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

विभागले सुन बरामदपछि यस प्रकरणमा संलग्न भरिया र ट्याक्सी चालक तथा भन्सार एजेन्ट र चिनियाँ नागरिकसहित ८ जनालाई पक्राउ गरिसकेको छ ।